जर्मन वस्ती तर देश चाहि फ्रान्स भएको एल्सासको स्ट्रास्सवुर्ग शहर र त्यहाको जर्मन क्याथेड्रल हेरेपछि हामी एल्सासको अर्को जर्मन शहर कोलमार तर्फ लाग्यौ । यी दुवै शहर हाम्रो काठमाण्डौ भक्तपुर भनेजस्तै यूनेस्कोको विश्व सम्पदा सूचीमा रहेका छन । सिंगै शहर नै म्यूजियम मानिदो रहेछ । कोलमार विश्वप्रख्यात हुनुको पछाडि यहाको कलापूर्ण पुरानो शहर हो । यसलाई एल्सासियन अंगुरको रक्सी (वाइन) को राजधानी पनि भन्दा रहेछन् । कोलामार शहरको स्थापना क्रिश्चियन धर्मगुरु नोट्क वाल्वु्लुसले सन ८२३ मा गरेका रहेछन् । यो शहरलाई जर्मन सम्राट फ्रेडेरिक दोश्रोले सन् १२२६ साम्राज्यको स्वतन्त्र शहर (फ्री इम्पेरियल सिटी) दर्जा दिएका रहेछन् ।
सन् १५७५ मा यो शहरले प्रोटेस्टेन्ट धर्म अगालेको रहेछ र सन् १६३२ मा शुरु भएको ३० वर्षे धर्मयुद्ध ताका यो शहरलाई स्वेडिसहरुले आएर कब्जा गरेका रहेछन् । सन् १६७३ का फ्रेन्च सम्राट लुइ १४ औं ले यो शहर जितेर फ्रान्समा गाभेका रहेछन । तर सन् १८७१ को फ्रान्को प्रशियन यद्धमा जर्मनको जित भएपछि यो शहर जर्मनको अधिनमा गएको रहेछ तर पहिलो विश्व युद्ध पछि भएको सन् १९१९ को भर्साइको सन्धी पछि फेरी यो शहर फ्रान्सकै अधिनमा गएको रहेछ जसलाई हिटलरको नाजी फौजले जितेर सन १९४० मा फेरि जर्मनीमै फिर्ता ल्याएका रहेछन् तर दोश्रो विश्व युद्धमा फेरी जर्मनको हार भइ हिटलरको पतन भएपछि कोलमार फेरि फ्रान्सको अधिनमा गएको रहेछ ।
फ्रान्सको राज्यक्रान्ती अनि सन १८७०/७१, १९१४।१८ र १९३९।४५ का विश्वयुद्धहरुबाट जोगिएको यो शहर विश्व पर्यटकीयस्थल मानिन्छ । यसलाई सानो भेनिस भनेर पनि चिन्दछन् । यहाको दर्शनियस्थलमा माइसन फिस्टर नामक कलात्मक घर, सेन्ट मार्टिन चर्च, मार्टिन सोनगावरको रोज गार्डेन पेन्टिंग, बार्टहोल्डीको म्यूजियम र वाटर टावर आदि पर्दछन् । भोस्जेस पर्वतबाट ल्याएको पहेलो गुलाफी रंगको चुन ढुंगा र त्यहाको जगंलको काठको फ्रेम जोडेर बनाइएका घरहरुले कोलामारलाई संसारकै कलापूर्ण सुन्दर शहर वनाएको रहेछ ।
त्यसैगरी सन १३६५ मा नै वनीसकेको सेन्ट मार्टिन चर्च र यसका झयालको शिशामा गरिएका कलाकारिता, यहाभित्रका पुनरजागरण कालका मूर्तिहरु गोथिक शैलीका गजुरहरु पर्यटकहरुलाई लोभ्याउने सम्पदाको रुपमा स्थापित रहेछन् । त्यसै गरी बार्टहोल्डीले वनाएको मूर्ति सहितका पानीका फोहराहरुले कोलमार शहरलाई झनै सुन्दर वनाएको रहेछ । त्यसै गरी बार्टहोल्डी म्यूजियम, उन्टरलिण्डेन म्यूजियम कोलामार शहरका प्रख्यात म्यूजियमहरुमा गनिदा रहेछन् ।
0 comment