भुटान पुरै आफ्नो ऐतिहासिक कालखण्ड विश्वबाट छुट्टै रहेर विताएको देश हो । भारतमा अंग्रेजहरुको औपनिवेषिक आधिपत्य दरो बन्दै गएपछि भारत भित्रका स्वतन्त्र राष्ट्रहरु सिख, वंगाल, अवध, मैसुर, मराठा लगायत धेरैको स्वतन्त्र अस्तित्व समाप्त भयो । तर केही राष्ट्रहरुलाई अग्रेजले नखाइकन आफुले परराष्ट्र र रक्षा हेर्ने गरी स्वतन्त्र रहन दियो । जसमा हैदरावाद र भुटान पर्दथ्यो ।

सन् १९१० मा भारतमा रहेको अंग्रेज शासनले भुटानसंग एक सन्धि गर्यो जसानुसार भुटान अंग्रेजको संरक्षित क्षेत्र ९एचयतभअतयचबतभ० बन्न पुग्यो । जसानुरुप अंग्रेजले भुटानको परराष्ट्र मामला र रक्षामा आफ्नो हातमा लियो । चीनमा भएको साम्यवादी क्रान्तीको कारण भुटान ज्यादै त्रसित भएको हुँदा जव १९४७ मा भारत स्वतन्त्र भयो त्यसलाई मान्यता दिने राष्ट्रमा भुटान सबैभन्दा पहिलो हुन पुग्यो । यसको मतलव अंग्रेजले भारत छोडेर जाने वित्तिकै भुटानले आफुलाई टुहुरो संझ्यो र कतै चीनले पो खाने हो कि भन्दै अगष्ट ८ १९४९ मा भुटानले स्वतन्त्र भारतसंग सन्धी गर्यो जसानुरुप अंग्रेजले हेरेको भुटानको परराष्ट्र, रक्षा मात्र नभै भारतसंग स्वतन्त्र ब्यपार र सुपुर्दगी गर्ने कार्य पनि भारतले आफ्नो जिम्मामा लियो ।

सन् १९५० मा तिब्बतमा चीनको सैनिक उपस्थिती वलियो भएपछि नेपाल र भुटानसंगको सम्वन्धलाई आफ्नो सुरक्षाको कारण चीनले महत्व दिने जनाए पछि तर्सेको भारतका प्रधानमंत्रीले १९५८ मा भुटानको भ्रमण गरी भुटानको स्वतन्त्र अस्तित्वमा कसैले धावा वोलेमा त्यसलाई भारतमाथिको धावा ठान्ने कुरा वताए र सोही कुरा उन्ले भ्रमण पश्चात् भारत फर्के पछि भारतीय संसद लोकसभामा वोले । यो नेहरुले चीनलाई दिएको घुमाउरो धम्की थियो ।  भुटानको उत्तरी सीमा भनेको भारतकै उतरी सीमा भएको हँुदा त्यसको सुरक्षा गर्नु भारतको प्रथम कर्तब्य हो भन्दै मुखमा राम राम भन्दै भुटान स्वतन्त्र राष्ट्र भन्ने तर वगलीमा छुरा भने जस्तै भुटानको प्रादेशिक अखण्डता नभएको नेहरुले प्रष्ट पारे ।

भारतमा अंग्रेज होउञ्जेल अंग्रेजको संरक्षित क्षेत्र वनेर वस्ने वानी परेको भुटानले चीनको त्रासले गर्दा आफुलाई भारतको दाश बनाउदै भारतको पोल्टामा आफुलाई हाल्यो । जवकी चीनको भुटान खाने कुनै रहर थिएन । माओ जे दुंगको परराष्ट्र नीतिमा तिब्बत भनेको हत्केला र यसका पाच औंला भनेको लदाख, नेपाल सिक्किम भुटान र बर्मा हुन तसर्थ यी देशहरुमा चीनले राम्रो सम्वन्धको विकाश गर्नु पर्छ भन्ने थियो । अन्यथा तिब्बतको सुरक्षा भन्दै त्यही वेला चिनिया लालसेनाले नेपाल, सिक्किम भुटान र वर्मालाई आफुमा गाभ्थ्यो होला । नेपालले जस्तै चीनसंगको सवन्धलाई भुटानले १९४७ पछि महत्व दिन्थ्यो भने भुटान भारतको दाश हुनु पर्ने थिएन ।

हाल भुटानको ६०५ किलोमिटर सिमा भारतसंग जोडिएको छ । भुटानले निर्यात गर्ने वस्तुको ९८ प्रतिशत भारत जान्छ भने ९० प्रतिशत आयात भारतबाट हुन्छ ।  भुटानमा शाही सेनालाइ तालिम दिने नाममा १००० भारतीय सैनिक बल स्थायीरुपबाट पश्चिम भुटानमै रहने गरेको छ । भुटान र भारत बीच कुनै वैधानिक सीमा रेखा छैन र जब जव भुटान सीमा वैज्ञानिक बनाउ भन्छ भारत सुनेको नसुन्यै गर्छ । वेलामा वुद्धि नपुराएपछि लाचार भुटानले भारत विरुद्ध गर्नै के सक्छ र ? यद्यपि संयुक्त राष्ट्रसंघको सदस्यता लिने कुरामा भारतले छेका नहालेको कारण परराष्ट्र, रक्षा, अन्तराष्ट्रिय ब्यपार, उर्जा सबै भारतको अधिनमा हुँदा हुँदै पनि भुटान स्वतन्त्र राष्ट्रमा गनिन्छ र सार्कमा भुटानले त्यही हैसियत पाएको छ । 

जव जिग्मे थिन्ले भुटानका प्रथम निर्वाचित प्रधानमंत्री वने उनी अन्तराष्ट्रिय कुटनीतिका ज्ञाता पनि थिए । तव उन्ले चीनसंगको भुटानको सीमा जाकारलुंग, पासमलुंग र दोक्लाम भएको कारण चीनसंगको संवन्धलाई नकार्न  नसकिने र क्रमस चीनसंग द्धिपक्षिय सवन्धको विकाश गर्ने पर्ने जिकिर गर्न थाले । सन २०१२ मा थिन्लेले रिओ दे जेनारियोमा चीनका प्रधानमंत्री वेन चि वाओ भेट गरी चीनसंग २० वटा वस किन्ने प्रतिवध्दता जाहेर गरे जस्ले भारतको सातो लियो । उता तिब्बती सीमासंग नजिकै भएको कारण दोक्लाममा चीनको वलियो उपस्थिति हुन सक्ने डरले भारत त्रसित पनि थियो । दोक्लाममा चीन बलियो भएमा त्यसको प्रभाव सिलगुढी करिडर जस्लाई चिकेन नेक भनिन्छ ।

 त्यहासम्म पुग्ने र भारतको शाशन अरुणांचल प्रदेशमा कमजोर हुन गै भारतको आम विखण्डन हुन सक्ने देखी भारत थिन्लेसंग नराम्ररी तस्र्यो । जस्को फलस्वरुप २०१३ को चुनाव ताका भारतले भुटानमाथि अघोषित आर्थिक नाकावन्दी लगायो । थिन्लेको दलले चुनाव जिती फेरी प्रधानमन्त्री वनेमा चीनको दुतावास थिम्पुमा खुल्ने अनि भुटानलाई सदाको लागि दाश वनाइ राख्न नपाउने देखेर भारतले आर्थिक नाकावन्दी गरी मनोवैज्ञानिक दवाव दिएको थियो । यसैको कारण चुनावमा थिन्लेको राष्ट्रवादी दल नराम्ररी पछारियो ।

भारत पक्षिए छिरिंग तोग्वे चुनाव जिति प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री वन्नसाथ भारतीय सुरक्षा सल्लाहकार शिव शंकर मेनन भुटान गई चीनसंगको सम्बन्ध वारे नसोच्नु भनी सचेत गराए । मोदी प्रधानमन्त्री वन्ने वित्तिकै सबैभन्दा पहिलो भ्रमण भुटानकै गरे । भुटानलाई फकाउन उन्ले ऋण र सहयोगमा ५० प्रतिशतले वृध्दि गर्ने, १० हजार मेगावाट विजुली उत्पादन गर्न भुटानलाई सहयोग गर्ने वचन दिए । सहयोगको वचनबाट फुरुक्क परेका प्रधानमन्त्री तोग्वेले आफुले कुनै हालतमा थिम्पुमा चीनको दुतावास खोल्न नदिने प्रतिवध्दता जनाउदै भुटान सधै भारतकै दाश भइराख्ने हवाला दिएका छन ।