गोविन्द विक,

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को वडाको काम कतव्र्य र अधिकारभित्रको (ग) ३० मा वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला बालबालिका दलित अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सिमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

त्यसैगरी (ग) ३२ मा जातिय छुवाछुतको अन्त्य गर्ने गराउने व्यवस्था उल्लेख गरिएको छ । सवाल कानुनमा छुवाछुत हटाउने व्यवस्थाको हैन सवाल हो दलित प्रतिनिधि पाएका पालिका तथा वडाहरुले के जातका आधारमा गरिने विभेदको अन्त्य गरे त भन्ने हो ? तर व्यवहारिक रुपमा हेर्दा दलित समुदायबाट कार्यकारी पदमा निर्वाचित भएका पालिका तथा वडाहरुमा पनि जातिय विभेद अन्त्य भएनन किनभने कार्यान्वयनमा जात व्यवस्थाको हस्तक्षेप भएका थुप्रै नजिरहरु बाहिर आए । नजिकिदै गरेको स्थानीय तहको चुनावमा प्रमुख तथा कार्यकारी पदमा दलितले कति अवसर पाउछन भन्ने कुरा त जात व्यवस्थालाई शिरोधार गर्नेहरुको तजविजिमा भर पर्छ त्यसैले स्थानीय तहमा प्रतिनिधि भएर मात्र दलित सुमदायले भोग्दै आएको जातिय विभेदको अन्त्य हुन्छ भन्ने सोच दिवा सपना मात्रै हो । स्थानीय तहमा दलित समुदायको अर्थपूर्ण सहभागितामा वृद्धिसँगै व्यक्तीतहदेखिको जात व्यवस्थामा आधारित सोँच र चिन्तन परिवर्तनका लागि व्यापक रुपमा सामाजिक अभियानको जरुरत रहेको कुरालाई सरोकारवाला सबैले प्रमुखतासाथ वहसमा ल्याउन आवश्यक छ । 

दलित समुदायमाथी हुने गरेका जातिय विभेदका घटनाहरुले आम दलित समुदायलाई त्रसित मात्र बनाएको छैन पलपलमा उनीहरुको आत्मसम्मान पनि गुम्दै गइरहेको छ । चेतनसिल कहलिएको समाज भित्र मान्छेले मान्छेमाथी जातका आधार गर्ने हिसां दरिद्र र संकुचन चेनताको परिणाम हो भन्दा फरक पर्दैन । राज्यतहमा दलित समुदायको उपस्थिती चुलीदै गर्दा दलित समुदायमाथी हुने गरेका हिंस्रक अपराधहरु नहोलान भन्ने धेरैका बुझाइ थियो र छ । शिक्षाले ज्ञान दिने हुनाले शिक्षित वर्गले विभेद गर्दैन भन्नेहरु समाजमा निकै थिए र छन पनि । विभेद गाउमा मात्र हुन्छ सहरमा त छैन भन्नेहरुको जमात पनि ठूलै छ समाजमा । राजनैतिक आर्थिक र शैक्षिक रुपमा दलित समुदायहरुको पहुँच वृद्धि हुँदै गर्दा जातिय विभेदका मुद्धाहरु सम्बन्धित निकायमा पुग्छन र जात व्यवस्थामा आधार सामाजिक संरचनाहरु पनि सबलीकरण भएर विभेदजन्य हिंसा कम हुन्छन भन्ने सोचाइ दलितमाथी श्रृङखलावद्ध रुपमा हुनेगरेका हिंसाका घटनाले गलत सावित गरिरहेको कसैबाट छिपेको छैन । 

दलित समुदायका सामान्यदेखि उच्च तहमा हुने दलितहरुले जातिय विभेदको सिकार किन भोगिरहनु परेको छ ? यो गम्भीर विषयलाई आगामी चुनावमा स्थानीय तहको नेतृत्व गर्नेहरुले वहसमा ल्याउने की नल्याउने ? व्यवहारिक रुपमा आफ्नो भोगाइ र समाजको मान्यता व्यक्तीको चाहना र सोचलाई नजिकबाट नियाल्दा विभेद अन्त्यका लागि वैयक्तिक सोचमै शुद्धिकरण गर्ने दिसामा वहसको आवश्यकतालाई दलित समुदायका जनप्रतिनिधिहरुलाई ध्यान दिन जरुरी छ । २०६८ सालको जनगणना अनुसार नेपालको आधा जनसंख्या २५ वर्ष भन्दा मुनीका छन भनिन्छ । यहा भन्न खोजीएको जातपात भन्ने कुरा अहिलेका मान्छेहरुले मान्दैनन बुढाबुढीहरुले मात्र मान्ने हो उनीहरुको पुस्ता सकिएपछि विस्तारै जातिय विभेद छुवाछुतजन्य अभ्यासहरु हटनेछन भनिन्छ तर यो कुरा आज समाजमा घटिरहेका घटनाहरुले फेल गराइरहेको छ । आज विभेद गर्नेहरु बुढाबुढीमात्र नभएर युवाहरु नै अगाडी पर्दैछन । तत्कालिन अवस्थामा भएको सशस्त्र द्धन्द्धको समयमा जातिय विभेदका विरुद्धमा कयौ गितहरु घन्कीए हजारौ दलितका छोराछोरी उपल्लो जातीहरुको पूजा कोठामा गए । कतिपय गाउहरुमा जातका आधारमा विभेद अपमान गर्नेहरुलाई भौतिक कारवाही नै गरियो यस्तो अभियानले समाजमा समानता कायम गरी पिछडिएको जातिलाई राज्यको मूलधारमा ल्याउने भन्नेहरु नै आज जातिय विभेदका पक्षपोषक बनिरहेका छन । तर जात व्यवस्थामा आधारित सामाजिक संरचनाभित्र गाडिएको वैयक्तिक सोचले सामाजिक व्यवहारलाई निर्देशित गर्ने हुनाले जातिय विभेदको अन्त्य हुन सकिरहेको छैन । 

दलितले मन्दिर प्रवेस गरेमा अपवित्र हुने र दलितको प्रवेस उपल्लोहरुको घरमा भएमा कुल पित्री विग्रिने सामाजिक भ्रम फैलाउने जमात समाजमा बढुनन्जेल जातिय विभेदको अन्त्य निकै कठिन हुने पक्का नै छ । दलित समुदायको व्यक्ति बाहुनको परिचयमा मन्दिरभित्र पुजा आरधना गर्दा केही हुदैन तर त्यही व्यक्ति दलित हु भनेर परिचय दियो भने ऊ ढोकाबाट एक्कोस टाढा जानु पर्ने बाध्यता अझै जिवितै ।  यो सबै गलत अदृष्य डर सिर्जना गर्ने अल्पज्ञानी, दरिद्र मानसिकताको परिणाम भएकोले व्यक्तितहको सोचमा शुद्धीकरण नगरी समृद्ध र विकसित समाज भएपनि दलित समुदायमाथी हुने गरेका विभेदजन्य हिंसाहरु रोकिने अवस्था देखिदैन । जात व्यवस्थाभित्रको विभेदजन्य अभ्यासलाई आत्मसाथ गर्नेहरु जुनसुकै विकसित र छुवाछुत नगर्ने समाजमा पुग्दा पनि विभेदजन्य पुरातनवादी चिन्तनको परित्याग गर्न नसकी रहेको थुप्रै दृष्टान्तहरु छरपष्ट छदैछन । दलितहरुमाथी हुने गरेका जातिय विभेदका अभ्यासहरु बाहिर पनि निर्यात भैरहेको छ । ठूलो संख्यामा नेपालीहरुको बसोबास रहेको विदेशी भूमी अमेरिका, लन्डन जस्ता सहरहरुमा नेपालीले नेपालीलाई दलित भएकै कारण कोठा नदिने गरेका घटनाहरु सञ्चार जगतबाट बाहिरिरहेका छन । 

जातिय विभेदको सवाल दलितको मात्र सवाल होइन राज्य, सरकार, नागारिक समाज, राजनैतिक दल, समाजका अगुवा धार्मिक अभियान्ता सबैको सवाल हो र सबैले व्यक्तिगत रुपमा आफूलाई समयसापेक्षतामा ढाल्न सक्दैन भने उबाट विभेद नगर्ने कल्पना गर्न सकिन्न । नीति र कानुनलाई सामाजिक मुल्य र व्यक्तीको सोचले ओझेलमा पार्दै लगेको हुनाले पनि दलित समुदायमाथी हुने गरेका जातिय छुवाछुतका घटनाहरुले निरन्तरता पाइरहेका छन ।  जहा नेपाली पुगेको छ त्यहा विभेदको अभ्यास गरिहाल्ने प्रवृत्ति उच्च छ ।

मान्छेले बसालेको थिती मान्छेबाट नै अन्त्य गर्न सक्नु पर्दछ । कामका आधारमा जाति विभाजन गरिएता पनि सम्मानजनक कामलाई व्यक्तिको दरिद्र र संकुचन सोचले अपमानजनक स्तरमा व्यवहार गर्ने अवस्था बन्दैगयो र शक्तीको अभ्यास गर्दैगर्दा आफू अनुकूलका नीति र ऐनहरु बन्दै गए र सधै आफू माथी हुने परिबन्द मिलेपछि तलपरेको वर्ग जात व्यवस्थाको सामाजिक जातोमा पिसिदै गयो र आज मान्छेको दर्जाबाट तल झर्नुपर्ने अवस्था पुग्यो र पुरयाइए । यही गलत अभ्यासको परिणाम करिब ६० लाख दलितहरुले आज भोगिरहेका छन । कार्ल माक्स भन्छन सचेतनाले गर्दा नै मानिसहरु पशुभन्दा फरक हुन । यसबाट के बुझन सकिन्छ भने यदि हामी सचेत छैनौ हाम्रो सोच धारणामा समयसापेक्ष परिवर्तन ल्याउन सकिएन भने हामी र पशुमा के फरक यो कुरालाई गहन रुपमा मनन गर्नुपर्ने हुन्छ ।

कार्ल माक्सको विचार यहा सान्दार्भिक हुन्छ । कार्ल माक्सले समाज शास्त्रको माक्सवादी दृष्टिकोण पुस्तकको सचेतना शीर्षकमा उनको भनाइ छ सामाजिक सचेतना भन्नाले सम्पूर्ण विचार दृष्टिकोण धारणा परम्पराहरु आदिको सम्पूर्णता हो । यो जीवनको भौतिक अवस्थाबाट निर्देशित भएर समाजमा प्रतिविम्वित हुन्छ । यस भनाइबाट पनि अनुमान गर्न सकिन्छ की मानिसको सोच र धारणाले नै सामाजिक व्यवहारहरु चलायमान हुन्छन । समाजमा दलित जातिमाथी हुने गरेका जातिय विभेदजन्य घटनाहरुमा पनि व्यक्तीको सोच र चेतना नै प्रतिविम्वित भैरहेको छ । व्यक्तितहबाट गडिएर रहेको विभेदजन्य सोच धारणा शुद्धीकरणका लागि राज्यले सामाजिक वहसको आधीहुरी ल्याउनु आजको आवश्कयता हो । दलितका सवालमा काम गर्ने दलितका मुद्धाहरु बोकेर राजनीति गर्ने नेतृत्व वर्ग र मानव अधिकार कर्मी सामाजिक अभियान्ता नागारिक आन्दोलनका अगुवाले अव व्यक्तितहदेखि विभेदजन्य सोचाइलाई पखाल्नका निम्ती व्यक्तिस्तरका शुद्धीकरणमा केन्द्रीत वहसहरु व्यापक रुपमा स्थापित गर्न जरुरी छ ।

आज अशिक्षित भन्दा पनि शिक्षित वर्ग जातिय विभेदको अभ्यासलाई आत्मसाथ गर्न उद्यत किन हुँदैछ ? आजको युवा पुस्ता घरमा बुढा बा छन बुढी आमा छन त्यसैले सरी है के गर्ने मलाई त जातभात केही फरक पर्दैन भन्दै आर्टिफिसियल उत्तरमा किन रमाइरहेको छ ? जातका कुरा विभेदका कुरा दलित हिंसाका कुरा राज्यतहबाट बेवास्ता हुनु कुनै नौलो विषय हैन । जातका आधारमा गरिने विभेदलाई कानुनी प्रक्रियाबाट निरुपण गरिन्छ भन्ने राज्यको मूल मन्त्र नै हो तर किन आज दलितमाथी हिंस्रकजन्य अत्यास लाग्दा घटनाहरु घटदैछन ? यसता विषयको नालीवेली खोतल्ने सोच र विचारको विकास व्यत्तिगत तहबाट जागृत गर्नु आवश्यक देखिन्छ । हरेक तह र तप्काबाट व्यक्तिको पुरातन सोच र धारणलाई शुद्धीकरण गर्ने दिसामा सञ्चालित सामाजिक जागरणले दलित समुदायमाथी हुने गरेका पासविक घटनाहरुको अन्त्य गर्न सकिने कोणबाट वहसहरु गर्न निकै ढिला भैसकेको छ ।