प्रभातराज पाण्डे,

गत बिहीबारदेखि मेडिकल व्यवसायीसमेत रहेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ नेपालका संयोजक दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । उनको आन्दोलनलाई केही राजावादीहरूको साथ रहेको भनिए पनि राजावादी पार्टी राप्रपाले भने संस्थागत रूपमा साथ दिएको छैन । यस्तै स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंको आन्दोलनप्रति मौन छन् । 

आन्दोलनको पहिलो दिन बिहीबार करिब ९ हजार समर्थकलाई काठमाडौँमा उतारेर आन्दोलन थालेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुको ऋण मिनाहाका साथै राजतन्त्र पुनर्स्थापनाको एजेण्डा पनि अघि सारेका थिए । जसअनुसार बिहीबार बल्खुमा भएको आन्दोलनमा राजतन्त्रको पक्षमा नारा मात्र घन्किएन शुक्रबारसम्म आइपुग्दा तीनकुनेमा आन्दोलनका लागि तयारी गरेका कैयन राजावादी संगठनका कार्यकर्ता गिरफ्तारीमा परे । 

प्रसाईंको आन्दोलनमा राजवादीहरू नै पक्राउ पर्दासम्म पूर्वराजा चुइँक्क नबोल्नुले उनको आन्दोलनप्रति पूर्वराजाको दृष्टिकोणबारे चासो राख्न थालिएको छ । आफूले राजतन्त्र पुनर्स्थापनाको एजेण्डासमेत उठाएकाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष समर्थन गरिदिनुपर्ने प्रसाईंले सार्वजनिक रूपमा बताउँदै आएका छन् । बिहीबारकै प्रदर्शनपछि साँझ आयोजित पत्रकार सम्मेलनका क्रममा प्रसाईंले सके पूर्वराजा आन्दोलनमा समर्थन जनाउन आउनुपर्ने र त्यो पनि नसके समर्थनमा पत्रमात्रै भए पनि दिनुपर्ने धारणा राखेका थिए । तर, आन्दोलनको तेस्रो दिनसम्म आइपुग्दा प्रसाईंको मागअनुसार पूर्वराजाले न आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् न त पत्र पठाएर कुनै समर्थन नै  । बरु शाह काठमाडौँमा प्रसाईंले आन्दोलन गरिरहेकै बेला झापा पुगेर अर्को कार्यक्रममा सहभागी भएका छन् । 

आन्दोलनमा होमिएका दुर्गा प्रसाईंसँग किन ‘कन्भिन्स्ड’ छैन राप्रपा ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सहयोगमा भएको भनिएको झापाको कार्यक्रममा पूर्वराजा सहभागी भएका हुन् । बिर्तामोडको उक्त कार्यक्रममा पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका थिए भने राप्रपाका अन्य केन्द्रीय नेताका साथै हजारौँ राजावादीहरूको उपस्थिति रहेको थियो । सो क्रममा पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी भए भने सर्वसाधारणसँग भलाकुसारी पनि गरेका थिए । पूर्वराजा बिर्तामोडको कार्यक्रममा सहभागी हुने भए पनि थापासहित कोशी प्रदेशका विभिन्न गाउँबाट राजावादीहरूलाई उतारिएको थियो । सो क्रममा राजावादीहरूले विभिन्न ठाउँबाट र्याली निकाल्दै राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्नुका साथै काठमाडौँमा दुर्गा प्रसाईंले गर्दै आएको आन्दोलन भन्दा भव्य देखाउने प्रयास गरेका थिए । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यक्रमलाई भव्य बनाउनका लागि अध्यक्ष लिङ्देन डेढ साता अघिदेखि पूर्वी नेपालमा सक्रिय रहेका थिए ।लिङ्देनको गृहजिल्लासमेत रहेको झापामा योजनाअनुरूप भव्य कार्यक्रम भएको श्रेष्ठको भनाइ छ ।  पूर्वराजालाई स्वागत सडकमा स्वागत गर्दादेखि कार्यक्रमसम्मको अवधिमा राजावादीले ‘राजा आउ देश बचाऊ, राजतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दावाद’लगायतका नारा लगाउँदै वर्तमान व्यवस्थाको विरोध गरेका थिए । राजावादीहरू पूर्वराजाले वर्तमान व्यवस्था र जारी आन्दोलनबारे झापामा केही बोल्ने अपेक्षा गरेपनि त्यहाँ समेत उनी मौन बसिदिए । कार्यक्रमको आतिथ्य र सालिक अनावरण गर्नुबाहेक उनी प्रतिक्रियाविहीन भएका हुन् । 

बिर्तामोडमा पूर्वराजालाई भव्य स्वागत 

आफ्नो प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा पूर्वराजा सहभागी भएको विषयलाई लिएर राप्रपा उत्साहित देखिएको छ । राजावादी पार्टी र समूहभित्र कोचाहिँ पूर्वराजाको नजिक बन्ने भन्नेमा होडबाजी देखिन्छ । यस्तो अवस्थामा पूर्वराजाले आफ्नो पार्टीलाई विश्वास गर्दै झापा आएको बुझाइ राप्रपाको छ । उसो त लिङ्देनलाई दुई वर्षअघि भएको राप्रपाको महाधिवेशन नै पनि पूर्वराजा र निर्मल निवासबाट प्रत्यक्ष सहयोग रहेको आरोप लागेको थियो । सोही विषयमा असन्तुष्टि जनाउँदै लिङ्देनसँग महाधिवेशनमा पराजित बनेका कमल थापाले सार्वजनिक आक्रोश पोख्दै पार्टी छाडेका थिए । राजतन्त्रको समेत एजेण्डा बोकेर दुर्गा प्रसाई आन्दोलनमा होमिएको बेला राप्रपाले घोषित रूपमा साथ नदिने बरु झापामा अर्को कार्यक्रम गरेर पूर्वराजालाई उपस्थित गराउनु आफैमा रोचक भएको कतिपयको भनाइ छ । 

झापामा ज्ञानेन्द्र शाहको उपस्थितिसँगै राप्रपाले आफूलाई असली राजावादी पार्टीजस्तो देखाएर दुर्गा प्रसाईंलाई पूर्वराजाको विश्वास नरहेको सन्देश दिन सफल भएको छ । सन्देश यसअर्थमा कि दुर्गा प्रसाईंले व्यवस्था बदल्ने भन्दा अन्य स्वार्थमा गाउँगाउँबाट सर्वसाधारण उतारेको उसको बुझाइ छ । अनौपचारिक कुराकानीमा राप्रपाका नेताहरु राजतन्त्रका प्रमुख संवाहक आफ्नो पार्टीसँग राजतन्त्र फर्काउने एजेण्डामा प्रसाईले कुनै छलफल नगरेको बताउँछन् । यस्तै पछिल्लो समय राजतन्त्रको पक्षमा माहौल बढे पनि व्यवस्था नै बदल्ने गरी आधार तय नभएको समेत राप्रपाको बुझाइ छ । 

यता दुर्गा प्रसाईंको आन्दोलनबारे सुरुमा देशभर तीव्र चासो रहेपनि शनिबारसम्म आइपुग्दा सामान्य अवस्थामा आइपुगेको छ । आन्दोलनलाई सही गति दिन असफल प्रसाईंका लागि आफ्नै बोली महँगो बन्न पुग्यो । जस्तो कि, राजनीतिक दलका नेताविरुद्ध आगो ओकलेका उनले नेतालाई जहाँ भेट्यो त्यही ठीक पार्नेसम्मको अभिव्यक्ति दिए । प्रसाईंको बेलगाम अभिव्यक्तिपछि शुक्रबार तीनकुनेमा आयोजित प्रदर्शन प्रशासनले बिथोल्यो भने सुरक्षाका कारण देखाउँदै उनी भक्तपुरको ठिमीस्थित घरबाट समेत बाहिर निस्कन पाएनन् । 

प्रशासनसँगको छलफलपछि शनिबार भने उनको प्रदर्शन त भयो नै तर उपस्थितिको सङ्ख्या न्यून थियो । उनी आफैँले पनि त्यसको स्वीकार गरेका छन् भने उपत्यकावासीले नै आन्दोलनमा साथ नदिएको गुनासो पोखेका छन् । सिफलमा आयोजित प्रदर्शनमा बोल्दै उनले युवाहरू बिदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे । ‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गर्छु । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन,’ उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।

उनले काठमाडौँ ललितपुर र भक्तपुरवासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।