पुष्पराज भट्टराई,

काठमाडौं – धार्मिक, साँस्कृतिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । गौरीशंकर हिमालको दृश्यले वर्षेनी हजारौं पर्यटक लोभ्याउने यस जिल्लाको चीनको सिमानामा रहेको शिव र पार्वतीको प्रतीक मानिने गौरीशंकर हिमाल भने धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिबन्ध छ । यसै भर्जिन हिमाललाई आधार मानेर नेपालको प्रमाणिक समयसमेत निर्धारण गरिएको छ । 

च्छो रोल्पा हिमतालको अवलोकनका क्रममा पैदल यात्रीहरूले छुटाउनै नहुने पर्यटकीय गन्तव्य हो, रोल्वालिङ वेदिङ गाउँ । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा पर्ने रोल्वालिङ वेदिङ ना गाउँलाई ‘सगरमाथाको हिमआरोहीको गाउँ अर्थात् हिम मजदुरहरुको गाउँ भनेर समेत चिनिन्छ । यस ठाउँबाट ७५ जनाभन्दा बढी पर्वतारोहीले सगरमाथाको शिखर चुमिसकेका छन् । वेदिङ  ५ पटकदेखि अठारौं पटकसम्म सगरमाथा चढिसकेका सफल पर्वतारोहीहरुको गाउँ पनि हो । माउन्ट केटु विन्टर विश्वको रेकर्ड तोड्ने पर्वतारोहीहरु पनि यसै गाउँका बासिन्दा हुन् । 

यहीँ गाउँमा च्छो रोल्पा  हिमतालको काखमा चिसोसँगै लुकामारी खेल्दै, कहिले डुबुल्की मार्दै, लेकाली घाँस र चरनमा याक र चौरी गोठालो भएर पर्वतारोही फिन्जोको बाल्यकाल बित्यो ।  फिन्जोसँग वेदिङ गाउँमा हिउँसँगै खेलेर ६६ वसन्त बिताएको ताजा अनुभव छ । 

रोल्वालिङ वेदिङका समाजसेवी ङाङ्दे लामा र छोक्की शेर्पाको माइलो छोराका रुपमा वि.सं. २०१५ सालमा जन्मिएका फिन्जोको बाल्यकाल रोल्वालिङ हिमालको काखमा  अवस्थित वेदिङ गाउँमा च्छो रोल्पा हिमताल वरपरको लेकमा याक र चौंरीको गोठालो बनेर बितेको थियो । 

फिन्जोका बुवा ङाङ्दे लामा वेदिङस्थित साङ्गाछोयालिङ  गुम्बाका प्रमुख लामा थिए । उनलाई  राजा महेन्द्रको पालामा लामा देश दर्शनका लागि पटकपटक सहभागिता जनाउने  अवसर मिलेको थियो । त्यसबखत उनले राजा महेन्द्रबाट पदक समेत पाएका थिए । ७५ जिल्लाबाट देश दशर्नका लागि भेला भएका विद्धान् लामाहरुलाई राजा महेन्द्रले दुई ढुंङ्गा बीचको तरुल भनेको के हो ? भन्ने प्रश्नको जवाफमा (चीन, नेपाल, भारत) नेपाल हो भन्ने उत्तर दिन सफल भए बापत्  ङाङ्दे लामा राजाबाट  विभूषित  भएका थिए । उनकै पालामा साङ्गाछोयालिङ गुम्बा बनाउने  कामको थालनी भएको थियो । 

ङाङ्दे लामाका जेठा छोरा ङवाङ्सेटु तेम्बी ग्याल्जेन लामा पनि औतारी लामा थिए । उनी ४ वर्षकै उमेरमा वेदिङबाट थामे गई  थामे गुम्बा  स्थापना गरी बसेका थिए । किड्नीको समस्याका कारण ५२ वर्षको उमेरमा अल्पायुमा नै उनको निधन भयो । थामेस्थित देन्जेन छोयालिङ गुम्बामा अहिले पासाङ ल्याहामु शेर्पा गाउँपालिका जोर सल्लेका १२ वर्षे औतारी लामा ङवाङ् पल्वर लामा आई गुम्बा स्थापना गरी बस्दै आएका छन् । 

यहाँ प्रसिद्ध साङ्गछोयालिङ गुम्बा समेत रहेको छ । हरेक वर्ष असारमा ठुलो मेला लाग्ने यस ठाउँमा आउने पाहुनाहरूलाई स्थानीय डुम्जी नाच देखाउँदै स्वागत गरिन्छ । वेदिङ गाउँका बासिन्दाले अहिले पनि आफ्नो गाउँको लागि नियम कानून आफैँ बनाउने गरेका छन् । वेदिङमा काटमार वर्जित छ । साथै, जाँड रक्सी खाएर होहल्ला गर्न पनि पाइँदैन । यहाँ गाउँलेहरू आफैँले बनाएको नियम काइदाको छ । पर्यटकहरूलाई यस क्षेत्रमा पाइने अर्गानिक खानेकुराहरूले लोभ्याउँछ । त्यसो त खाना चाहनेका लागि मेनु अनुसारको खानेकुराको व्यवस्था पनि छ ।

वेदिङ पुगेपछि फरक संसारमा आइपुगेको महसुस् हुन्छ । खुला मौसममा हाँसिरहेका हिमालहरूसँग रम्न पाइन्छ । नजिकैबाट लोभलाग्दो हिमश्रृङ्खला देख्न सकिन्छ । चारैतिरबाट हिमालले घेरिएको, बारीहरू ढुङ्गाको गाह्रोले बेरिएको यस ठाउँमा पहिलो पटक पुग्ने पर्यटकले नयाँ अनुभूति र आनन्द पाउँछ । आलु यस गाउँको मुख्य बाली हो । यहाँका सम्म परेका फाँटमा आलुबाहेक अरू खेती हुँदैन । 

आकर्षक रूपमा ढुङ्गाले सजिएका घरहरूले मनै लोभ्याउँछ । शिवजी गुफा, छेदुङ भिरमा झुण्डिएको भाकल गरेको कुरा पुर्याउने ढुङ्गाले पर्यटकलाई आकर्षण गरेकै छ । पुराना गुम्बाहरू प्रशस्तै भेटिने यस ठाउँमा पथप्रदर्शक पनि प्रशस्तै भेटिन्छन् । लामाहरूले कोरेका बुद्धका तस्विरहरूले कुनै भिर, पाखा, ढुङ्गा खालि छैनन् । शेर्पा, तामाङको लुङ्ताले सजिएका चिटिक्क घरहरू, पर्यटकहरू ओहोर दोहोर गरिरहने बाटाहरू, माने र चौताराले गाउँको बसाइ रमाइलो बनाइदिन्छ ।

असोज कात्तिक र चैत वैशाखमा रोल्वालिङ वेदिङ गाउँमा स्वदेशी तथा विदेशी पर्यटकहरू च्छो रोल्पा हिमताल, छेदुङ भिरको दर्शन र दुधकुण्डसम्मको पदयात्राका लागि आउने हुनाले होटेल पाउन मुश्किल हुन्छ । पर्यटकको घुइँचो लाग्ने सिजनमा त बास बस्ने ठाउँ समेत पुग्दैन । 

च्छो रोल्पा हिमताल यहाँको धेरै पर्यटकहरूलाई आकर्षित गर्ने गन्तव्य हो । वेदिङ ना गाउँ हुँदै च्छो रोल्पा पुग्न त्यति सजिलो छैन तर, अगाडिबाट हिमालले हात समाएर तानेपछि उक्लिन त्यति गाह्रो पनि हुँदैन । 

सेताम्मे हिमाल र ठाउँठाउँमा देखिने चौरी गाईको नचाइले भोक, तिर्खा भुलाउने काम गर्छ । चिसो सिरेटोले थकाइको औषधीको काम गर्छ । तालमा पुगेपछि मान्छेलाई आँखै चिम्लन पनि लोभ लाग्छ । ४५ सय मिटर उचाइमा रहेको च्छोरोल्पाको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन । त्यसको अनुभव गर्नलाई उसैको काखमा पुग्नुपर्छ ।

च्छो रोल्पाबाट करिब तीन घण्टा सिधै उकालो हिँडेर पनि दूधकुण्ड पुगिन्छ । ५५ सय मिटर उचाइमा रहेको दूधकुण्ड चारैतिरबाट हिमालले घेरिएको छ । यहाँबाट चाँदीझैँ टल्किरहेका हिमशृंखला देख्न सकिन्छ । नामजस्तै सेताम्मे यो कुण्डमा महादेवको मन्दिर छ । जहाँ हरेक वर्ष  जनैपूर्णिमामा मेला लाग्छ । पछिल्लो समयमा दुधकुण्ड पुग्नेहरूको पनि संख्या बढ्दै गएको छ ।

वेदिङबाट हिम श्रृङ्खलाहरुको दृश्यावलोकन गर्दै एउटा पदमार्गबाट ना गाउँ  हुँदै च्छो रोल्पा र दुधकुण्डको यात्रामा निस्किन सकिन्छ भने अर्को वेदिङबाट ना गाउँ, च्छो रोल्पा हुँदै टासीलाप्चा पास पार गरेर नाम्चे बजार जाने पुरानो पदमार्ग भेटिन्छ । यसलाई सगरमाथा जाने सजिलो र छोटो मार्गको रूपमा पनि लिइन्छ । यही बाटो प्रयोग गरी चारपाँच दिन लगाएर विदेशी पर्यटकहरू सगरमाथा बेस क्याम्प जाने गर्छन् । यिनै पदमार्ग भएर वर्षौं वर्षसम्म ओहोरदोहोर गर्दा  फिन्जोका पनि थुप्रै संघर्षका कथाले जिन्दगीका पाना भरिदिएका छन् । 

साहसी हिमआरोहीहरुको गाउँ भनेर चिनिने वेदिङवासीको मुख्य पेसा भनेकै पर्वतारोहण हो । फिन्जो पनि १२ वर्षको कलिलो उमेरमा ५० केजीको भारी बोकेर विदेशी पर्यटकको पोर्टर बनेका थिए । शुरुमा भारी बोक्ने र पैसा कमाउनु पर्ने बाध्यताले यस क्षेत्रमा लागेका उनले पर्वतारोहणको यात्रा भने सन् १९८५बाट शुरु गरेका थिए । 

रोल्वालिङबाट ७ हजार मिटरको उचाइमा रहेको टासीलाप्चा पास गर्दै, हिमाल र हिउँसँग लुकामारी खेल्दै थामे हुँदै सगरमाथा बेस क्याम्पसम्म विदेशी पर्वतारोहीको भरिया र कुल्ली बनेकै अनुभवले फिन्जोलाई हिमाल आरोहण गर्ने प्रेरणा मिलेको थियो ।  उनले सन् १९९१ मा पहिलोपटक सगरमाथा आरोहण सम्पन्न गरेका थिए । त्यसपछि  उनले सन् १९८५ देखि २००४ सम्म अवधिमा ५ पटकसम्म सगरमाथा आरोहणको सफल यात्रा गरेर विश्व कीर्तिमानी कायम गरे । उनले आरोहणका क्रममा नेपालको झण्डालाई सगरमाथाको शिखरमा  राखेर नेपाल र नेपालीको नाम संसारमा चिनाएका छन् । यस कार्यले उनलाई हौसला मात्रै थपेन संसारभरि चिनिने अवसर पनि मिल्यो । उनको यो यात्रा यतिमा मात्रै रोकिएन । उनी ८ हजार मिटर उचाइका अरु हिमालहरु पनि आरोहण गर्न सफल भए ।  

प्रायः वर्षेनी ३ सिजनमा हिमाल चढ्नेहरुको घुँइचो लाग्ने हुँदा विभिन्न देशका पर्वतारोहीहरु सँगसँगै हिमाल आरोहण गर्नु, ट्रेकिङ गाइड गर्नु, हिमाल चड्नु, र हिउँको चिसोसँगै खेल्नु उनको दैनिकी जस्तै थियो । पर्वतारोहणका कठिन यात्राका दिनहरुमा उनले थुप्रै तीतामीठा अनुभव मात्र बटुलेनन् नेपाल र नेपालीलाई संसारभर चिनाउन सफल भए । 

अहिले  पनि उनी ट्रेकिङ् गाइड र समाज सेवामा त्यतिकै सक्रिय छन् । गरिबी र अभावबाट बच्नका लागि विदेशी पर्यटकको भारी बोकेर पैसा कमाउनुपर्ने बाध्यताले थालिएको पोर्टर कामले फिन्जोलाई एउटा सफल पर्वतारोही, टुरिष्ट गाइड र समाजसेवीका रुपमा चिनाएको छ ।
फिन्जो समाज सेवामा पनि  निकै सक्रिय छन् । उनको आफ्नै पहलमा वेदिङमा थुप्रै विकास निर्माणका काम भएका छन् । उनकै सक्रियतामा माथिल्लो तामाकोसीबाट वेदिङसम्म १६ किमि राष्ट्रिय बिद्युत् प्रशारण लाइन पुर्याइएको छ । वेदिङ खोलामा तटबन्धनका लागि तार जालीले बाँध्ने काम भएको छ । थोमालुङ खोलाको झोलुङ्गे पुल निर्माणको काम पनि उनको योगदान रहेको छ । यही आव.का लागि वेदिङ झरनाको पहिरो रोकथामका लागि तीन सय पचास मिटर तटबन्धन निमार्णका लागि प्रदेश सरकारसँग तारजालीको माग गरिएको छ  ।    

उनकै पहलमा वेदिङमा टेलिफोनको टावर स्थापना गरिएको छ । टावर स्थापना भएपछि सिमी गाउँबाट माथि मोबाइलको नेटवर्कको सहारा यहीँ टावर मात्रै छ । यहाँसम्म टुजी नेट पनि चल्ने गरेकोले सामाजिक सञ्जालमा वेदिङवासी जोडिन पाएका छन् । उनकै सक्रियतामा अहिले वेदिङबाट च्छो रोल्पा, ना गाउँ र दुधकुण्ड आसपासको हिमाली बस्तीका लागि लक्षित गरी टुजी जीएस एम मोबाइल टेलिफोनको टावर निर्माण भइरहेको छ ।  

गौरीशंकर गापा वडा नम्बर ९ स्थित ना गाउँमा मोबाइल टावर ढुवानी खर्चका लागि  नेपाल दरसञ्चार प्राधिकरण ग्रामीण दुरसञ्चार विकास शाखाबाट रकम माग भई काम अगाडि बढाइएको छ । उनकै पहलमा स्वास्थ्य चौकी स्थापना भएको छ । आधारभूत तहको विद्यालय समेत स्थापना गरेका छन् ।

अहिले उनको सक्रियतामा माथिल्लो तामाकोशीदेखि वेदिङसम्म मोटर बाटो पुर्याउन पहल गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले निम्त्याएको महाँविपत्तिमा एम आई १७ हेलिकोप्टरको प्रयोग गरी डब्लुएफपीको खाद्य कार्यक्रमअन्र्तगत राहतस्वरुप खाद्यान्न वेदिङवासीलाई बाँड्ने काममा होस् या साँगाछोयालिङ गुम्बा निर्माणका लागि २१ टिप हेलिकोप्टरबाट ढुवानी गरी गुम्बा निर्माणको काम उनकै पहलमा सम्भव भएका छन् । साथै उक्त गुम्बाको भान्साघरको छाना र माने हाङको छानालाई १५० थान जस्तापाता उपलब्ध गराई छानो छाउने काम गरेका छन् । 

अहिले वेदिङ गाउँबाट ना गाउँ, च्छो रोल्पा हिमतालसम्म बिद्युत् प्रसारणका लागि राष्ट्रिय प्रसारण लाइनको तार, खम्बा र जडान कार्य अगाडि बढिरहेको छ । यद्यपि थुप्रै जटिलता र विकटताले भरिएको वेदिङमा अहिलेसम्म यातायातको सुविधा भने पुगेको छैन । 

पर्वतारोही फिन्जोको विवाह खुम्बु पासाङ ल्हामु शेर्पा गाउँ ७ कि मिङ्मा ल्हामु शेर्पासँग भयो । फिन्जो प्रायः हिमाल चढ्नेमै व्यस्त हुने हुनाले घर व्यवहार मिङ्मा ल्हामु शेर्पाले चलाउने गर्थिन् । दिङ्बुचे गेष्ट हाउसमा आएका पाहुनालाई अतिथि सत्कार गर्नु, बास बसाउनु, खानेपिउने कुराको बन्दोबस्त गर्नु उनको मुख्य काम थियो । 

हँसिलो स्वभावकी तर कम बोल्न मन पराउने  मिङ्मा साच्चिकै मिहिनेती र जाँगरिली छिन् । सगरमाथा राष्ट्रिय निकुञ्जको लुबुचे एभरेस्ट बेस क्याम्प नजिकै होटल र लज सञ्चालन गरेको अनुभवले फिन्जो र मिङ्मालाई दिङ्बुचेमा रहेको गेष्ट हाउस सञ्चालनमा ठुलो मद्दत पुगेको छ । मिङ्मा र फिन्जोका सोनाम टासी, टासी दार्जे, र ग्रिमन दोर्जे गरी तीन छोरा छन् । अहिले उनी सपरिवार सगरमाथा बेस क्याम्प नजिकै दिङ्बुचेस्थित आफ्नै गेष्ट हाउसमा बस्दै आएका छन् ।

व्यक्तिगत जीवनभन्दा सामाजिक जीवनमा बढी रमाउन चाहने फिन्जो आफ्नो गाउँ आफैं बनाउनुपर्छ ,गाउँको विकास नभई जनताको जीवनस्तर उठाउन सकिँदैन । सबै काममा फाइदा मात्रै हेरेर हुँदैन, समाज सेवा पनि गर्नुपर्छ भन्ने उनका विचारले जो कोहीको मन छुन्छ । मैले मेरो गाउँको विकासका लागि पहल नगरे कसले गर्दिन्छ ? म अगाडि नसरे गाउँमा न बिजुली पुग्थ्यो । न टेलिफोनको टावर ठडिन्थ्यो । न त स्वास्थ्य चौकी बन्थ्यो । न स्कुल नै स्थापना हुन्थ्यो । अनि मैले मेरो गाउँको लागि पहल नगरे बाहिरका मान्छेले गर्ने कुरा हुन्छ र ? उनका यस्तैयस्तै समाजसेवी काम र विचारले जो कोहीलाई पनि ‘सगरमाथाको हिमआरोहीको गाउँ’ अर्थात् वेदिङ घुम्ने प्रेरणा मिल्छ । 

आफ्नो जीवनकालमा निकै संघर्ष गर्दै यहाँसम्म आइपुगेका फिन्जोलाई उनले गरेको योगदानको कदरस्वरुप विभिन्न समयमा विभिन्न संघसंस्था र नेपाल सरकारले समेत सम्मान एवं विभूषित गरेको छ । अन्तर्राष्ट्रिय रुपमा समेत पर्वतारोहीका रुपमा चिनिने फिन्जो शेर्पा गोरखा दक्षिण बाहु तेस्रो २०५९,राष्ट्रिय सेवा सम्मान २०७४, माउन्ट एभरेस्ट सेवा पदक पर्यटन मन्त्रालय, नेपाल माउन्टेनरिङ एसोसिएसन सेवा पदक, माउन्ट एभरेस्ट सेवा पदक, भूगुम्बा सेवा पदक, लगायत थुप्रै सम्मान तथा पदकहरुले सम्मानित समेत भइसकेका छन् ।  

सानैदेखि बुवा समाजसेवी ङाङ्दे लामाको समाज सेवाबाट प्रभावित भएका फिन्जो धार्मिक स्वभावका देखिन्छन् । उनी बुद्ध धर्म र दर्शनका अनुयायी पनि हुन् ।  ङाङ्दे लामाकै प्रेरणाले गर्दा बाँचुन्जेलसम्म समाज सेवा गर्ने उनको सोचाइ रहेको छ । उमेरले ६६ वसन्त पार गरिसकेका पर्वतारोही, ट्रेकिङ् व्यावसायी एवं समाजसेवी फिन्जो शेर्पाले जीवनमा केही राम्रा काम गरुँ भन्ने भावना राखेका छन् । 

अहिले पनि उनी निष्ठापूर्वक समाजसेवामा सक्रिय छन् । समाज सेवाकै क्रममा संघीय राजधानी काठमाडौं र वेदिङ ओहोरदोहोर गरिरहन्छन् । सहरमा बस्दा फिन्जोको दैनिकी गाउँका विकासे योजनाका फाइल लिएर सिंहदरबारभित्रका मन्त्रालय र सरकारी कार्यालयका फाँट र शाखाहरुमा बित्ने गरेको हुन्छ भने गाउँमा बस्दा टे«किङ गाइड र स्थानीय विकास निर्माणका काममा सक्रिय भएर दिन बित्ने गर्छ । 

संघीय राजधानी काठमाडौंबाट नजिकैको अर्गानिक पर्यटकीय स्थलका रुपमा चिनिने रोल्वालिङ वेदिङ गाउँ, च्छो रोल्पा हिमताल र दुधकुण्ड क्षेत्रलाई उत्कृष्ट पदयात्राका रुपमा अझै व्यापक प्रचारप्रसार गर्न सके पर्यटन पवद्र्धनमा छिटो विकास हुने उनको विश्वास छ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान पुगे हुन्थ्यो भन्ने उनको चाहना छ । फिन्जोले बाँकी जीवनमा गरेका पर्यटन प्रवद्र्धनका काम र समाजसेवी पाइलाहरुले सगरमाथाको शिखर चुमून्  शुभकामना ।