
गोपीकृष्ण प्रसाईं,
सृजनाभित्र रचना राम्रा
नजरका जुहार !
इश्वरको हांसो पाएको फूल छोएर नमार !!–देवकोटा
मासु संगमा गांसिएको
हृदय संगमा टांसिएको
जीव मासी नमासिएको ।
शाश्वत ध्वनी छाती मनी,
प्रती श्वास गनी
बोल्छ बोल्छ सत्य बोल्छ
अन्नमय कोशको कुकु
दाल, भात डुकु, दाल भात डुकु !– देवकोटा
नेपाली साहित्यका सर्बश्रेष्ठ, सर्बस्वीकार्य सर्वाधिक लोक प्रिय युग पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औ जन्म जयन्तीको पावन अवसरमा महान आत्मालाई नमन गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु! देवकोटा यो सहश्राब्दीकै महान सर्जक, युगद्रष्टा अनि समाज परिवर्तनका शिखर व्यक्तित्व हुन् ! राहुल सांकृत्यायनका अनुसार देवकोटा एक्लै हिन्दी साहित्यका तीन नक्षत्र पन्त, प्रसाद्, निरालाका सिंगो स्वरुप हुन्, अर्थात यी तीन जनाको साहित्यिक चेतना पुन्जबाट प्रवाहित हुने शक्ति देवकोटा एक्लैमा थियो! अझ अगाडि बढेर महापन्डित राहुल सांकृत्यायन देवकोटालाई बुद्धपछिको महान् अवतार भनेर घोषणा गर्छन! विश्व प्रसिध्द अंग्रेजी कवि डोम मोरे देवकोटालाई उच्च सम्मान गर्थे, देवकोटाको महा प्रस्थान हुने समयमा एउटा संयोग भनौ डोम मोरे नेपाल आएका थिए!
महाकविले मोरेको मुखारविन्द बाट केही सुन्दर कविता सुनेर आनन्द लिएका थिए! महाकवि मानवतावादी थिए, गरीब, असाहय, दीन,दुःखीहरूको मनभित्र डुबेर आफु रोईरहेका हुन्थे, आफ्नो पारिश्रमिकको केहि हिस्सा यिनले दीन दुखीलाईं बांडेर सिध्याए! महाकवि धेरै भाषाका ज्ञाता थिए! पूर्वीय र पाश्चात्य साहित्यलाई अतिनै राम्रो संग बुझेका देवकोटा जस्ता महान अध्येता अनि चिन्तकको कारण नेपाली साहित्यले विश्व साहित्यमा प्रवेश पाएको हो! मानव सभ्यताको सुरु देखिनै यो दुनियांमा धेरै दार्शनिक चिन्तक र सर्जकहरू उदाए! इतिहासको बिभिन्न कालखन्ड र भूगोलमा जन्मेका केहि कविहरू विश्व कविका रुपमा प्रख्यात छन, विश्व कवि हुनलाई केहि मूल्य मान्यता र नियमहरू छन । सानो देशमा जन्मिए पनि सिंगो ब्रह्मान्ड मथिंगलमा घुमाएर हिड्न सक्ने देवकोटा विश्व कविमा हुनु पर्ने सम्पूर्ण गुणले भरिएका आधुनिक युगका विश्व कवि हुन ।
उनका सम्पूर्ण रचनाहरूको उद्गम अनि अब्बल भिजनले पनि सो कुरालाई पुष्टि गर्दछ ! कवि शिरोमणि लेखनाथ पौडेल भन्छन् – देवकोटा जस्तो व्यक्ति नेपाली साहित्यमा जन्मन ४–५ सय बर्ष लाग्ला ! विख्यात नाटककार बालकृष्ण समले देवकोटा साकुन्तल, मुनामदन र पागल रचना मार्फत तीन पल्ट जन्मिएको अभिमत दिएका छन ! आफ्नो युगमानै देवकोटा विश्वव्यापी भैसकेका थिए ! निरन्तर भाषण गरेर कहिल्यै नथाक्ने यिनले तासकान्द सम्मेलनमा पनि आफ्नो विराट छविलाई राम्रै संग उजागर गरेका थिए! त्यस समयका विख्यात कोषकार पुष्कर शमसेरको निर्देशन अनुसार निश्चित समय सीमा भित्र महाकाव्य तयार गरेर देखाई उनलाई राम्रै संग रुवाएका थिए!
देवकोटालाई मानसिक आघातको सिकार भएको बेला उपचारको लागि रांची लगिएको थियो, त्यहाँ उनलाई उपचार गर्ने डा. बर्कले हिलले भनेका थिएकि देवकोटा जस्ता मान्छे नेपालमा जन्मिनु भुगोलको गल्ति हो, देवकोटा सानो देशको ठुला व्याक्ति थिए । विश्व प्रसिद्ध अंग्रेजी कवि डोम मोरेले आफुले भेटेको दुई महापुरुषहरुमा पन्डित जवाहरलाल नेहरु र महाकवि देवकोटाको नाम लिएका छन् ।
देवकोटाले अत्यन्तै उच्च कोटीका, फरक धारका ६ वटा महाकाव्य लेखेका कै रातमा खण्डकाव्य लेख्न सक्ने देवकोटा जस्ता प्रतिभा संसारमा बिरलै पाइन्छन् ! देवकोटा आशुकवि थिए, उनले महात्मा गांधी र माओको बारेमा पनि कविता लेखे ! देवकोटाजस्ता भाषा, साहित्यका प्रेमीको अथक प्रयासको कारण नेपाली भाषाले राष्ट्र भाषाको मान्यता पायो ! त्रिभुवन विश्व विध्यालयका परिकल्पनाकार महाकवि शिक्षाको विकासमा अहोरात्र खटेर लाग्थे! देवकोटा सबै विधामा सफल साहित्यकार हुन् ! काव्यको अलवा निबन्ध विधालाई उचाइमा पुर्याउने यिनै हुन् । कथा, उपन्यास नाटक अनि बाल साहित्य र गीत एवम समालोचना विधामा उनको विशिष्ट योगदान छ ! देवकोटा बिनाको नेपाली साहित्यको चर्चा गाह्रो हुन्छ्, अपुरो हुन्छ, अधुरो हुन्छ, असन्तुलित हुन्छ ! नेपाली राजनीतिमा समेत उपल्लो कोटीको हैसियत बनाएका देवकोटा डा.के.आई सिंहको मन्त्रीमन्डलमा शिक्षा मन्त्री पनि भएका थिए, तर उनको स्थान राजनीति भन्दा धेरै माथि छ,किन कि नेपाली भाषा साहित्यको विश्वमा प्रतिनिधि को हो भनेर देखाउनु पर्दा यिनलाई अघि नसारी धरै छैन, यिनी हिजो, आज र भोली सदैव नेपालका प्रतिनिधि कवि/साहित्यकार हुन, उनी नेपाली धरतीमा जन्मेका विश्व कवि हुन् ! नेपाली माटोको सुगन्ध पस्केर उनले प्रकृतिको गीत गाएका छन्, गाउं बेसीका सुस्केरा उजागर गरेका छन! मुना मदन, लुनी, मेहेन्दो जस्ता काव्य देवकोटाले त्यसै लेखेका हैनन ! हाम्रो प्राचीन इतिहासमा रमाउने देवकोटाले शाकुन्तल, सीता हरण, रावण जटायु युध्द, जस्ता काव्य पनि लेखे !
महाकवि देवकोटाले पागल कविता मार्फत रुढीग्रस्त मानसिकता र ढोंगी समाज अनि तात्कालिन सामाजिक संरचनाहरूमाथि तिब्र आक्रोश पोख्दै मर्मभेदी शब्दहरुको अस्त्र यसरी प्रहार गरेका छन् जस्तो–
तिमी गुलाफलाई गुलाफ सिवाय केही देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउंछु
तिमी बलिया गद्य हौ
म तरल पद्य हुं
तिमी जम्दछौ म पग्लन्छु
तिमी संग्लन्छौ म धमिलो बन्छु
ठीक त्यसको उल्टो
तिम्रो संसार ठोस छ
मेरो बरफ...
तिमी पहाडलाई लाटा ठान्छौ
म भन्छु वाचाल
जरुर साथी म पागल
मेरो एक नसा अलि ढिलो छ
यस्तै छ मेरो हाल ।
महाकवि देवकोटा आदिकविलाई उच्च सम्मान गर्थे यसैले त उनले आदिकविको रचनाहरुमाथि आफ्नो अभिमत यसरी राखेका छन् –
कवि बोलोस त जसरी चराहरु बोल्छ्न न कि वस्तादहरु कसरत गर्छन् । हृदयले हृदयलाई बोलाओस कवितामा न कि आडम्बरलाई । देवकोटा संसारका हरेक बिषय बस्तुहरु माथि गहिरो अध्ययन अनि अभिरुची राख्थे, उनलाई पाश्चात्य र पूर्वीय चिन्तन अनि मानव सभ्यता विकासक्रमको प्राय सबै ज्ञान थियो, आफ्ना शिष्यहरुलाई पढाउंदा उनले हरेक कुराको व्याख्या गरि गरि बुझाउंथे । उनी १४ भाषा बुझ्थे र नौ भाषामा कविता लेखेका छन्, उनले दुइटा कुराहरु जीवनमा कहिल्यै छोडेनन् एउटा कविता र अर्का चुरोट, देवकोटालाई आर्थिक अभाव थिएन, काठमाडौंको रैथाने, प्रसस्तै जग्गा जमीन पनि भएको मान्छे, मनग्ये पैसा कमाउने एउटा प्रोफेसर कसरी आर्थिक संकटमा पर्यो होला ? त्यसमाथि पनि त्यस बेला नेपालमा अंग्रेजीको ज्ञान भएका सबैभन्दा अग्ला व्याक्ति महाकवि देवकोटानै थिए ।
महाकविको अंग्रेजी पकड कति राम्रो थियो भन्ने कुरा वरिष्ठ साहित्यकार रत्न शम्सेर थापाको लेखको यी अंशहरूबाट प्रष्ट हुन्छ– एकपल्ट तात्कालिन अधिराजकुमार बसुन्धराले आफ्ना बेलायती विद्वान मित्र नेपाल आएको बेला भलाकुसारी गर्न महाकवि देवकोटालाई बोलाएछन् । अधिराजकुमार बसुन्धरा देवकोटाको उम्दा छवि संग राम्रो परिचित थिए, त्यही भएर विद्वान संग विविध बिषयमा छलफल गर्न महाकविलाई डाके होलान् । बसुन्धराको उपस्थितिमा ती बेलायती विद्वान र देवकोटाले घन्टौ कुरा गरे । कुरा गरिसके पछि ती बेलायतीले बसुन्धरा संग सोधेछन् यो मान्छेले कहाँ पढेको हो? जवाफमा बसुन्धराले भने पहिले काठमाडौं र पछि पटनामा । बेलायतिले भने मैले यतिका मानिस संग संगत गरें तर यो मान्छेले जस्तो मीठो, राम्रो अंग्रेजी बोलेको अहिले सम्म सुनेको थिइन् । त्यस्तो थियो देवकोटाको अंग्रेजीमा दख्खल । बिए पास गरेर एकैचोटि प्रोफेसर हुने सायद नेपालमा महाकविनै पहिलो व्याक्ति थिए ।
महाकवि देवकोटा गरीब, दुखीका आंसुहरूमा आफ्नो लय मिलाउंथे, आफू उनीहरुको पिडाले द्रवीभूत भएर संवेदनाका भावहरु प्रकट गर्थे, उनले पहाडी पुकारमा आफुलाई यसरी प्रस्तुत गरेका छन् –
अन्न र बस्त्र घर लिइ छाड्छौं
इन्साफको नाउ“मा
ज्यानै पो जाओस प्राणै पो जाओस
प्रवाह गर्दैनौ
मानिसलाई चाहिने हक नलिई छोड्दैनौ ।
मर्न त एकदिन अवश्यै पर्छ पशुझै नजिउं
मानिस हुं भने मानिसझै जिउं
मानिसको हक लिउं ।
साहित्यकार÷सामालोचक मोहन विक्रम सिंहको लेखमा उल्लेख भए अनुसार तात्कालिन सोभियतसंघ गएको बेला “मस्कोमा“ शीर्षक को कविता देवकोटाले यसरी लेखेका थिए–
यो स्पुतनिकहरुको देश हो
हजारौं नया“ शान्तिपूर्ण विचारहरुको देश हो
यहा“ विश्व विनासको लागि हैन
सृजनाको लागि अणुको मुटु उघारिएको छ।क्रान्तिकारी विचार धाराका देवकोटालाई कतिले कम्युनिष्ट भने, कतिले यथास्थितिवादी भने, कतिले प्रजातान्त्रिक भने, कतिले आस्तिक भने कतिले नास्तिक भने तर उनी यी घेरा भन्दा माथि थिए, उ त यो शताब्दीका महान कविहरुमध्येका एक, चिन्तक, विचारक, महामानव र साहित्यका विश्वकोश थिए, उनी एक देवदूत र विश्व कवि थिए, उनलाई नेपालले चिन्न अझै केही समय पर्खिनु पर्छ । राहुल सांकृत्यायनले त्यसै उनलाई बुद्ध पछिको महान अवतार भनेका होइनन होला, किनकि त्यस बेला राहुल सांकृत्यायन भारतमा मात्र नभएर संसारभरि कहलिएका प्रकान्ड विद्वान, इतिहासकार अनि अन्वेषक थिए।मानवतावादी देवकोटाले मान्छेका मूल्य, मान्यता उ भित्रको इश्वरीय तत्व अनि इश्वरको दर्शन बारेमा आफ्ना अन्तरात्माका आवाजहरुलाई यसरी प्रकट गरेका छन् –
फर्क फर्क हे जाउ समाउ
मानिसहरुको पाउ
मल्हम लगाउ आर्तहरुको
चह्र्याइरहेको घाउ
मानिसभै ईश्वरको त्यो दिब्य मुहार हंसाउ महाकविले महात्मा गान्धी र माओको बारेमा पनि कविता लेखेका थिए, उनले इतिहासका अनेकौं पक्षहरु खोतलेर ईतिहास पुरुषको बारेमा कविता लेखे जस्तो पृथ्वीराज चौहान, महाराणा प्रताप। एकपल्ट भवानी भिक्षुले उनलाई सोधेका थिए तपाईंलाई केको व्याथा छ, ? देवकोटाले भने– कहिलेकाही मेरो मनमा बज्रको प्रवेश हुन्छ, सारा संसारलाई च्यातेर चकनाचुर पारिदिने मेरो प्रबल इच्छा हुन्छ...तर संसार म भन्दा धेरै दृढ र चाम्रिएको छ के गर्नु ? १९९७ सालमा राणाहरुले गरेको दमनको विरुद्धमा उनको मन अनि हृदयबाट निक्लेको उग्र आक्रोश थियो त्यो ।
देवकोटा कुशल अनुवादक थिए उनले विलियम सेक्सपियरको नाटक म्याक्बेथलाई नेपालीमा अनुवाद गरे, साहित्यकार होमर श्रेष्ठ लेख्छन् –सेक्सपियरकालिन अंग्रेजी अहिलेको जस्तो सहज थिएन, बडो क्लिष्ट, त्यस बेलाको बस्तुस्थितिसंग पकड भएको त्यो परिवेशमा भिजेको हुन्थ्यो तर हाम्रा महाकविले अनुवाद गर्दा त्यो सम्पूर्ण भावलाई दुरुस्त उतारेर नेपालीमा अनुवाद गरे । त्यसको अर्थ हाम्रा महाकवि त्यहांको परम्परा, रितिथिती, र रहनसहनलाई पनि राम्रो अध्ययन गरेर मात्र अनुवाद गर्थे।
त्यस्तै भारतीय बिख्यात साहित्यकार डा. शिव मंगल सिंह सुमनले महाकवि देवकोटाको बारेमा गरेको टिप्पणी अत्यन्तै सारपूर्ण लाग्छ, डा. सुमन लेख्छन् –नेपाली साहित्यमा देवकोटाको अभिर्भाव एउटा घटना थियोे भने उहाँको महाप्रलय एउटा इतिहास बन्यो । निसन्देह विश्व कविहरुको पंक्तिमा उहाँको पनि आसन छ । यत्रो अभावको क्षतिपूर्ति कहिल्यै पनि हुन सक्दैन । यस्तो युगन्तकारी प्रतिभा पाउन राष्ट्रले फेरि उत्सर्गशील तपस्यारत हुनु पर्छ।यिनै एउटा कविलाई पाएर नेपाली साहित्य सधैंको लागि विश्व साहित्यको समकक्षी भएर गौरवान्वित भएको छ । त्यस्तै वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रीत महाकवि देवकोटालाई आधुनिक विचारका बेदव्यास भनेर आफ्नो अभिमत राख्छ्न। देवकोटाको कृतिहरुमाथि विध्यावारिधी गर्ने डा. कुमार बहादुर जोशी भन्छन्– देवकोटा महाकविमा पनि सर्वश्रेष्ठ महाकवि हुन् । उनी संसार भरिका महाकवि बीचपनि श्रेष्ठ हुन् ।
महाकवि देवकोटा नेपाली वाङ्मयलाई विश्व सामु चिनाउने प्रतिनिधि सर्जक हुन, विश्वका कुनैपनि महाकवि र विख्यात श्रष्टाहरुका कुनैपनि रचना भन्दा उनका रचनाहरु कम छैनन् । पश्चिमका सेक्सपियर, वर्ड्स्वर्थ, शेली, जोन मिल्टन, पुस्किन, दांते हुन् कि पूर्वका कालिदास, भारवी, रबिन्द्रनाथ टैगोर कोही संग तुलना गरे पनि हाम्रा महाकवि कम देखिंदैनन् ।। उनको कल्पना शक्ति यति प्रबल थियो कि उनी आकाश धर्तीको कुना कुना बाट सुन्दर बस्तुहरु,भावहरु, स्वादहरु आफ्ना रचनाहरुमा अवतरण गराउंथे। उनलाई नेपाली शब्दकोषका शब्दहरु सृजना गर्ने क्रममा अपुग हुन्थ्यो, आफ्ना रचनाहरुमा नयाँ नयाँ शब्दहरु थपेर रचनालाई थप आकर्षक बनाउंथे, व्याकरणका नियम र बन्धनले देवकोटालाई बांध्न गाह्र्रो हुन्थ्यो, भाषालाई अझ उम्दा, परिस्कृत र व्यापक बनाउनु पर्छ भन्ने उनको मान्यता थियो।
देवकोटालाई आफ्नो राष्ट्र, राष्ट्रियता प्रति अत्यन्तै माया थियो । भाषाको विकासले हामीमा आत्मा सम्मान र गौरव बढाउंछ भन्ने उनको मान्यता थियो, त्यसैले यो पूर्वीय सभ्यताको जगमा उभिएको नेपाली परम्परा अनि यहाँका सम्पदाहरु, प्राकृतिक सुन्दरताको बयान गरेर संसारभरि पुर्याउनु पर्छ भन्ने देवकोटाको मान्यता थियो,देवकोटा अफ्नो राष्ट्रलाई संसारकै स्वर्ग सम्झिन्थे र अफ्नो निबन्ध के नेपाल सानो छ ? मा यसो भन्छन् –यहाँ वाग्नर कोदालो खन्दा हुन्, सेक्सपियर हलो जोत्दा हुन्, टिनिसियर र टर्नर भेडा चराउंदा हुन्,सोक्रेटिज गुफामा घोत्लिरहेका होलान् । म कहाँ टर्नर सान्डोले दाउराको भारी बोकेर ल्याउंछन् । मेरो वनमा हेलेन केलरहरु गीत गाउंदछन्, यहाँ कति सावित्रीहरु छन् जसको कथा संसारले सुनेकै छैन,यहाँ कति साहित्य छ जो लेखिएको छैन, न लेखिनेछ यस्ता थिए देवकोटाका आफ्ना राष्ट्र प्रतिका सुन्दरअनि महान अभिव्यक्तिहरु !
स्वछन्दतावादलाई अंगीकार गर्ने देवकोटाले नेपाली साहित्यलाई चलायमान बनाए, गतिशील बनाए । पाश्चात्य साहित्यलाई नेपालमा भित्र्याए अनि नेपाली साहित्यको अन्तराष्ट्रियकरण गरे, देवकोटाको प्रवेश भए पछि नेपाली साहित्य फुल्न पायो, फस्टाउन पायो । जिन्दगीभर साहित्यकै खातिर आफुलाई समिधाको रुपमा अर्पण गरेर नेपाली वाङ्मयको श्रीबृध्दीमा लागेका महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने नेपाल एकेडेमीको निर्णय एकदमै स्वागतयोग्य र स्तुत्य छ, सोही अनुसार अहिले काम पनि भैराखेको छ।तर हाम्रा महाकविको सम्मानमा हामीले कतै अरु केही कन्जुस्याइँ गरिराखेका त छैनौं ?
आजको गहन सवाल हामी सामु उभिएको छ । जो व्याक्तिले नेपाली साहित्यको भन्डारमा ६ दर्जन भन्दा विश्वस्तरीय पुस्तकहरु दिएको छ, जसका धेरै रचनाहरुले पूर्वीय अनि पाश्चात्य साहित्यको रसास्वेदन गराएका छ्न,जसका रचनाहरुमा सबै जाति र बर्गको समान अस्तित्वलाई अंगीकार गरिएको छ, जसका रचनाहरुले शास्त्रीय मूल्य मान्यताको अलवा आधुनिक विश्व परिवेशलाई अंगीकार गरेका छन्, जो संसारमा नेपाली भाषा साहित्यको एउटै मात्र साझा प्रतिनिधि हो, जसका रचनाहरुमा सरलता, बौद्धिकता, घनीभुत भएर आएको छ, जस्ले विश्व साहित्यलाई सम्पूर्ण रुपमा बुझेको छ,जस्ले नेपाली भाषालाई स्कुल, कलेजको पाठ्यक्रममा अनिवार्य गरायो, जस्ले विश्वमा नेपाली भाषाको गरिमा अनि अस्तित्वलाई उभ्यायो त्यस्ता विराट पुरुषलाई सम्मान गर्ने बेला आएको छ । जो सिद्धान्त, वाद भन्दा माथि छ, जो राष्ट्रलाई मुटुमा बोकेर हिँड्छ, जसको जीवन नेपाली भाषा, साहित्यको ओज र आयतन वढाउनमै व्यतित भयो। जो व्याक्ति नेपालका सम्पूर्ण वर्गले स्वीकारेको साझा व्याक्ति हो, जो विश्व कवि हो,संसार भरिका नेपालीहरुको साझा तिर्थ हो अब उसलाई सम्मान गर्ने बेला आएको छ, मैले यी भूमिका बांध्नुको अर्थ के हो भने देवकोटालाई अब राष्ट्रिय बिभुति घोषण गर्न सरकारले ढिलो गर्नु हुन्न, घोषणा जति छिटो गर्न सक्यो उति सरकारको इज्जत बढ्छ, राष्ट्रको गौरव बढ्छ, सम्पूर्ण स्वाभिमानी नेपालीहरुको शीर गर्वले झन उचो भएर जानेछ, राष्ट्रिय बिभूतिका लागि महाकवि शत प्रतिशत योग्य नाम हो,जसलाई सबै नेपालीले अन्तर हृदयबाट स्विकार गरि सकेका छन् । महाकवि हाम्रा स्वाभिमान र पहिचान हुन् । नेपाली वाङ्मयका अमर साधक, उज्ज्वल नक्षेत्रको अब कदर गर्ने वेला आएको छ, म नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु ।
नेपाली धरतीमा जन्मेर नेपाली साहित्य लाई संसारमा चिनाउने लक्ष्मी प्रासाद देवकोटाको ११३औ जन्म जयन्तीको पावन अवसरमा यो सानो लेख पस्केर महान आत्मालाई पुनः भावपूर्ण श्रध्दान्जली अर्पण गर्दछु ।


0 comment