प्रभातराज पाण्डे,

दीपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरिका हिन्दुहरुले दिपावली गर्ने गर्दछन् । दीपावालीमा वा दीपावली अर्थात् “रोशनीको पर्व” शरद ऋतु (उत्तरी गोलाद्र्ध) मा हरेक वर्ष मनाईने एक प्राचिन हिन्दू पर्व हो । दीपावाली भारतको सवैभन्दा ठुलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मीक रुपले अन्धकारमा प्रकाशको विजयको प्रतिक दर्शाउँछ ।

नेपालमा मनाईने दोस्रो ठुलो पर्वको रुपमा तिहारलाई लिने गरिन्छ । जसरी नवरात्री नौ दिनसम्म मनाईन्छ, त्यसैगरि तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ । जसलाई यमपञ्चक भनिन्छ । यस पर्वमा काग, कुकुर र गाई गोरुको पुजा गरेर मानव र प्रकृति विचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । यहि तिहार पर्वको मूल मर्म हो । दिपावलीको रमझम सवैतिर छाएको हुन्छ । सवैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरञ्जन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षभरि आर्थिक अभाव नहोस् भनी माताजीसँग प्राथना गरिन्छ । खुसी खुसी बाँच्न सकौँ भनेर मनाईने यस पर्वले जिवनका अज्ञानरुपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौँ भन्ने सन्देश यस पर्वले दिएको हुन्छ ।

पर्वको अर्को पक्ष हो भाईटीका । दिदीबहिनीलाई टिका लगाईदिने र मिष्ठान्न परिकार खुवाउने, मखमली र सयपत्री फूलको माला लगाईदिने आदि । यस पर्वमा मनोहर व्यवहारले भाईवहिनीको प्रेमको उजागर गरेको छ । यमराजलाई वहिनी यमुनाले बारबार वोलाउँदा पनि व्यस्तताले वहिनीको घरमा नआएको हुँदा यसैदिनको लागि वहिनी यमुनाले घर आउनको लागि वचन दिन्छीन । यमराज पनि यमुनाको घरमा पुग्छन् । वहिनीले दाई यमराजलाई स्नान गर्न लगाएर तेल लगाईदिईन । टिका र माला पनि लगाईदिईन । वहिनीको प्रेमपूर्ण सम्मानले यमराज अतिशय प्रशन्न भएर वरदान माग्नको लागि आग्रह गरे । यमुनाले हरेक वर्ष आफ्नो घरमा आई पुञ्ज स्वीकार गर्न बिन्ति गरिन । यमराजले तथास्तु भनेर विदा भए । हरेक वर्ष वहिनीको घरमा जान थाले । यसै पौराणिक कथाको आधारमा हामी यो पर्वलाई मनाउने गर्दछौँ । यस दिन भाई पूजा गर्नाले यमराजको भय हुदैन भन्ने पौराणिक मान्यता छ ।

शुभदिपावलीको उपलक्ष्यमा सम्पूर्ण पाठकहरुमा हार्दिक मगंलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।