
परीक्षा कोइराला,
नोबेल पुरस्कारको स्थापना सन् १९९५ मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । नोबेल फाउन्डेसनद्वारा स्विडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको हो । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । यो चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि दिएने सर्वोच्च पुरस्कार हो ।
सन् १९६८ देखि यो पुरस्कार अर्थशास्त्रमा समेत दिन थालियो । नगद पुरस्कारमा १ करोड २० लाख स्वीडीश क्रोना (९,९०,००० अमेरिकी डलर ), यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरुबीच भाग लगाइन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो ।
सन् १८९६ को डिसेम्बर १० मा नोबेलको निधन भयो । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षय कोष स्थापना गरे । उक्त कोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष विज्ञानतर्फ ,भौतिकशास्त्र, रसायनशास्त्र तथा चिकित्साशास्त्रमा महत्त्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पु¥याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाईयो ।
सन् १९०१ र सन् २०२२ बीचमा नोबेल पुरस्कार र अल्फ्रेड नोबेलको सम्झनामा स्वीडनको केन्द्रीय ब्याङ्कले दिने पुरस्कार गरेर ६१५ पटक कुल ९८९ व्यक्ति र संस्थाहरूलाई प्रदान गरिएको छ।
सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छिन्। उनी इरानको कुख्यात मानिने तेहरानस्थित जेलमा रहेकी छिन् । यो जेल सरकार विरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो। महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानवाधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन्। मानव अधिकारकर्मीको लामो परिचय बनाएकी उनले इरानमा मृत्युदण्ड अन्त्यका लागि पनि अभियान सञ्चालन गरिरकेकी छिन्। इरान विश्वमै सबैभन्दा धेरै मृत्युदण्ड दिइनेमध्येको देश हो।
सन् २०१० यता करिब निरन्तरजसो जेलमै रहे पनि मोहम्मदी जेलभित्रैबाट दुर्व्यवहारहरूको खुलासा गर्न सफल भएकी छिन्। हाल ५१ वर्ष पुगेकी उनले अहिले ३१ वर्षको जेल सजाय भुक्तान गरिरहेकी छिन्। मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ।
गत वर्ष अर्थात् २०२२ मा बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजले शान्ति पुरस्कार पाएका थिए।
२०२१ पत्रकारद्वय मारिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएकाले
२०२० संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई भोकमरी नियन्त्रण गर्न तथा शान्ति स्थापना गर्न सघाएकोमा
२०१९ इथियोपियाका प्रधानमन्त्री एबी अहमद अलीलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्य स्थापना गर्न तथा छिमेकी एरिट्रियासँगको सीमा विवाद समाधान गर्न अग्रसरता लिएको हुनाले
२०१८ डेनिस मूक्वेगे र नादिया मुरादलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसालाई अस्त्रका रूपमा प्रयोग गर्ने क्रम अन्त्य गराउने प्रयासका लागि
२०१७ इन्टर्न्याश्नल क्याम्पेन टु अबोलिश न्यूक्लिअर वीपन्स (आईक्यान) लाई परमाणुअस्त्रको प्रयोगको प्रयोग हुँदा निम्तिन सक्ने विनाशकारी परिणामबारे चेतना फैलाउने काम गरेको तथा त्यस्ता अस्त्रलाई सन्धिमार्फत प्रतिबन्ध लगाउने प्रयास गरेको हुनाले
२०१६ कोलम्बियाका राष्ट्रिपति हुआँ मानुएल सान्टोसलाई ५० वर्षे गृहयुद्ध अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले
२०१५ न्याश्नल डाइलग क्वार्टेटलाई ट्यूनिशियामा २०११ मा भएको क्रान्तिपछि बहुलवादी प्रजातन्त्र स्थापना गराउन महत्त्वपूर्ण योगदान पुर्याएकाले
२०१० भारतका कैलाश सत्यार्थी र पाकिस्तानी किशोरी मलाला युसुफ्जाई बालबालिकाको दमनविरुद्ध तथा शिक्षा पाउने अधिकारका लागि सङ्घर्ष गरेकाले
अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले उनलाई नोबेल पुरस्कार दिइएको थियो।
अन्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्।
युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्।
२ चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्। ती वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन्।
कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ। खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ। परम्परागत खोप प्रविधिमा सङ्कक्रमण गराउने कीटाणुका मृत वा निष्क्रिय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ।तर एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ। कोभिड महामारीका बेला मोडर्ना र फाइजर÷बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो। त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थियो।
पुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए।
- सन् २०२२ – गत वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत स्वीडनका वैज्ञानिक स्वान्टे पाबोले पाएका थिए। पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानवनिकट पूर्वज प्रजाति नीयान्डर्टालको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार दिइएको जनाएको थियो।
- २०२१ – डेभिड जुलिअस र आर्डम पाटपूटिअनलाई शरीरले स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियाबारे अनुसन्धान गरेकाले
- २०२०– ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइसलाई हेपाटाइटिस सी भाइरस पत्ता लगाएकाले
- २०१९ – पिटर र्याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा। कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने पत्ता लगाएकाले
- २०१८ – जेम्स पी एलिसन र तासुकु होन्जोको। शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले
- २०१७ – जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्। शरीरले कसरी सर्कीडीअन रिदम अर्थात् ’जैविक घडी’ कायम राख्छ भन्ने अनुसन्धानका लागि
- २०१६ – योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
- २०१५ – विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि २०१४ः जन ओ’कीफ, मे–ब्रिट मोजर र एड्वार्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
- २०१३ – जेम्स रथ्म्यान, ¥यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
- २०१२ः जन गर्डन र शिन्या यामानाका। कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा
३ यो वर्ष २०२३ मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ’सूक्ष्म कालखण्ड’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले पाएका छन् । ती वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल’हुलिए हुन्।नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो । एक एटोसेकन्ड भनेको एक सेकन्डको १,०००,००,०००,००,०००,००,०००औँ भाग हो ।
गत वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ’क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गर्ने अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले हात पारेका थिए।
- २०२१ – स्युकुरो मानाबे, क्लाउस हासल्मान, जिओर्जिओ पारिसीलाई पृथ्वीको जलवायुजस्ता जटिल प्रणालीहरूबारे मानव जातिको ज्ञान बढाएकोमा
- २०२०ः रोजर पेन्रोज, राइन्हार्ड गेन्जेल र आन्द्रिया गेजलाई ब्ल्याक होलको अनुसन्धानका लागि
- २०१९ः जेम्स पिबल्स, मिशेल मेयर र डिडिएर कोएलोले संयुक्त रुपमा ब्रह्माण्डबारे विभिन्न अभूतपूर्व कुरा पत्ता लगाएकाले
- २०१८ः डोना स्ट्रिकल्यान्ड, आर्थर अश्किन र जेरार मुरूलाई लेजर फिजिक्सका क्षेत्रमा विभिन्न कुरा पत्ता लगाएकाले
- २०१७ः रेनर वाइस, किप थ्रोन र ब्यारी बारिशलाई गुरुत्वका तरङ्गहरू पत्ता लगाएकाले
- २०१६ः डेभिड थोलेस, डन्कन होल्डेन र माइकल कोस्टरलिट्सलाई पदार्थका दुर्लभ चरणबारे गरिएको अनुसन्धानका लागि
- २०१५ः तकाकी काजिता र आर्थर मक्डोनल्डलाई न्यूट्रिनोमा हुने कम्पन कम्पन पत्ता लगाएकाले।
४ यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्याएका तीन वैज्ञानिकले पाउने भएका छन्। उनीहरूले ’क्वान्टम डट’ को खोजी र संश्लेषण गरेका छन्। नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसायन विधामा यो प्रतिष्ठित पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ।
’क्वान्टम डट’ भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्।तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन्। अनि शल्यक्रिया गर्दा तिनको स्पष्ट प्रकाशले ट्यूमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ। सौर्य प्यानलमा पनि तिनको प्रयोग हुन्छ। तीनै वैज्ञानिक संयुक्त राज्य अमेरिकामा कार्यरत छन्। बावेन्डी एमआईटीमा, ब्रुस कोलम्बिया यूनिभर्सिटीमा र एकिमोभ न्यानो क्रिस्टल्स टेक्नोलजी इन्कमा कार्यरत छन्।अलेक्सी रुसी हुन् भने बावेन्डी प्यारिसमा जन्मिएका हुन्। ब्रस अमेरिकी हुन्।
गत वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्प्लेसलाई ’क्लिक केमिस्ट्री’ पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गरिएको थियो।
उनीहरूको खोज क्यान्सरविरुद्ध उपचारविधि निर्माण गर्न उपयोगी बनेको थियो।
त्यसले सोझै ट्यूमर गराउने कोषहरूलाई लक्ष्य बनाउन सघाएको थियो।
- २०२१ः बेन्जामिन लिस्ट र डेभिड म्याक्मिलनलाई एक अर्काको प्रतिबिम्ब हुने अणुहरू निर्माणका लागि
- २०२०ः एमानुएल शार्पन्टिएर र जेनिफर डाउड्नालाई डीएनए सम्पादन गर्ने प्रविधिका लागि
- २०१९ः जोन बी गुडइनफ, एम स्टान्ली ह्विटिङहम र अकिरा योशिनोलाई लिथिअम–आयन ब्याट्रीको विकासका लागि
- २०१८ः अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड र जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरलाई एन्जाइमबारे गरिएका अनुसन्धानका लागि।
- २०१७ः ज्याक डुबोचे, युआकिन फ्रान्क र रिचर्ड हेन्डर्सनलाई जैविक अणुहरूको तस्बिरलाई परिस्कृत बनाएकाले
- २०१६ः जीन–पिएर सोभाज, फ्रेजर स्टोडार्ट र बर्नार्ड फेरिङ्गालाई अणुहरूको आकारमा सूक्ष्म यन्त्र बनाएकाले
- २०१५ः थोमस लिन्डाल, पल मोर्ड्रिरच र अजिज सान्चरलाई डीएनए मर्मतको अन्वेषणका लागि।
५ स्वीडिश अक्याडमीले यो वर्ष साहित्यतर्फ नर्वेका लेखक यून फोसालाई नोबेल पुरस्कार दिने घोषणा गरेको छ। पुरस्कार समितिका अनुसार “व्यक्त गर्न नसकिने कुरालाई उनले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले“ फोसालाई पुरस्कार दिइने भएको हो। उनका ४० वटा नाटक, कैयौँ उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन्।
फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्छन् र उनको शैलीलाई “फोसा मिनिमलिजम“ को सङ्ज्ञा दिइएको छ। उनी सिद्धहस्त कवि, नाटककार र उपन्यासकार हुन्। फोसाले सात वर्षको उमेरमा झन्डै ज्यान गुमाएका थिए। उक्त घटनालाई आफ्नो बाल्यकालको एउटा महत्वपूर्ण अनुभव मान्ने फोसा त्यसले नै आफूमा सिर्जनशील बनाएको बताउँछन्।
फोसाले सात वर्षको उमेरमा झन्डै ज्यान गुमाएका थिए। उक्त घटनालाई आफ्नो बाल्यकालको एउटा महत्त्वपूर्ण अनुभव मान्ने फोसा त्यसले नै आफूमा सिर्जनशील बनाएको बताउँछन्।
सन् २०२२ मा फ्रान्सेली साहित्यकार एनी एर्नोले साहित्यतर्फको नोबेल पुरस्कार पाएकी थिइन्। एर्नोले “विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकाले“ उक्त पुरस्कारबाट सम्मानित गरिएको जनाइएको थियो।
सन् २०२१ः अब्दुलरजाक गुरनाहलाई “उनको औपनिवेशिक असर तथा संस्कृति र महादेशहरूबीचमा शरणार्थीको भाग्यबारे उनको सम्झौताबिनाको र प्रतिबद्ध प्रभावका लागि“
सन् २०२०ः अमेरिकी कवि लुइस ग्लकलाई “सुन्दर काव्यात्मक आवाज“ का लागि
सन् २०१९ः अस्ट्रियाका नाटककार पिटर हान्कलाई सरल भाषामा मानव अनुभूतिको परिधिलाई उजागर गरेकाले
सन् २०१८ः पोल्यान्डका लेखक ओल्गा तोकाचुकलाई जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताका लागि
विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ ठाकुर तथा ह्यारोल्ड पिन्टर र युगीन ओनील लगायतका नाटककारले प्राप्त गरेका छन्।
सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्लान् कि नगर्लान् भन्ने अन्योल देखा परेको थियो। अन्ततः उनले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिएका थिए।
६ यो वर्ष अर्थशास्त्रतर्फ क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उनी हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन्।
गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गरेकी छन्। नोबेल पुरस्कार समितिका अनुसार उनको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ।
गोल्डिन आफूले सधैँ “गुप्तचर“ बन्ने चाहेको र “अन्ततः सफल भएको“ बताएकी छन्। अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन् भने कुनै पुरुष सहकर्मीसँग संयुक्त रूपमा नभई एक्लै पुरस्कार हात पार्ने प्रथम महिला हुन्।
उनी अहिले ७७ वर्षकी भइन्। अहिले पनि उनी श्रमबजारको इतिहास पढाउँछिन्।
सन् १९६९ देखि सन् २०२२ सम्म ५४ वर्षमा ९२ जनालाई एकल वा संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो।
- २०२२ः बेन बेर्नाकेलाई डग्लस डाइअमन्ड र फिलिप डिब्भिगलाई ब्याङ्क तथा वित्तीय सङ्कटबारे गरिएको अनुसन्धानका लागि
- २०२१ः डेभिड कार्डलाई श्रम अर्थशास्त्रको क्षेत्रमा पुर्याएको योगदानका लागि, तथा डी एन्ग्रेस्ट र गुइडो डब्ल्यू इम्बेन्सलाई कारण सम्बन्धहरूको विश्लेषणमा पद्धतिगत योगदानका लागि
- २०२०ः पोल मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचाको विकासका लागि
- २०१९ः अभिजित बनर्जी, एस्टेर डुफ्लो र मिखाइल क्रेमरलाई “विश्वव्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक शैलीका लागि
- २०१८ः विलियम डी नोर्डहाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन बृहत् आर्थिक विश्लेषणमा एकीकृत गर्ने कार्यका लागि, तथा पोल रोमरलाई दीर्घकालीन म्याक्रोइकोनोमिक विश्लेषणको एकीकृत प्राविधिक विकास गर्ने कार्यका लागि
- २०१७ः रिचर्ड थ्यालरलाई व्यवहारवादी अर्थशास्त्रमा उनको योगदानको लागि
- २०१६ः ओलिभर हार्ट र ब्याङ्ट थोलस्ट्रौमलाई करार सिद्धान्तमा उनीहरूले पुर्याएको योगदानका लागि
विश्वमा शान्ति स्थापना अत्यन्त महत्वपूर्ण छ । यस सन्दर्भमा सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो।ृ नोबेल शान्ति पुरस्कार देशहरूबीच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव घटाउन , द्वन्द्व निवारण गर्ने उद्देश्यले शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने व्यक्तिलाई प्रदान गरिन्छ। यो पुरस्कार त्यसैले बढी चर्चित भएको छ ।
- स्रोत ः विभिन्न पत्रपत्रिका , अनलाइनहरु ,नोबेल पुरस्कार समितिबाट


0 comment