काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साह नेपाली राजनीतिमै अहिले सर्वाधिक चर्चाको शिखरमा छन् । बषौंदेखिको कुरुप काठमाडौंको मुहार सिगार्न होस वा भूमाफियाहरुको चक्रव्युह भेदनगरी सार्वजानिक जमिनको संरक्षण गर्न अथवा राजनीतिक दलहरुले भोट बैंक बनाएर राखेका नदी किनारका कथित सुकुम्बासी नामका हुकुमबासीहरुलाई हटाएर बृक्षरोपण गरी हरियाली प्रवद्र्धन गर्न मेयर सा’वले गरेको ऐतिहासिक सुधार कार्यको काठमाडौंबासीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । सार्वजानिक सरकारी जमिन हडपेर राजनीतिक शक्तिको आडमा ठड्याइएका महलहरुमा डोजर चलाएर साहले मेयरको तर्फबाट निरन्तर खबरदारी गरिरहेकै छन् । शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यावरण, निर्माण र विकासमा मेयर साहले पुनर्जारणको लहर ल्याएका छन् । देशको मुटु राजधानी काठमाडौंको स्वरुपमै परिवर्तन आइरहेको छ । फोहोर र प्रदुषितको काठमाडौं शहरमाथि झुण्डिएको विल्ला विस्तारै हट्दै जाँदै छ । ‘हाम्रो काठमाडौं राम्रो काठमाडौं’ को जनसपना साकार हुने विस्वास बलशाली बनिरहेको छ । काठमाडौं महानगरबासीले स्थानीय निर्वाचनमा दलहरुका घघडान उम्मेद्वारहरुलाई धुलो चटाएर मेयर पदमा युवा इन्जिनियर बालेन साहलाई रोज्नुको कारणको सविस्तार मेयर सा’वका विकासवादी कदमहरुमा भेटिदैछ, अहिले ।
मेयर साहले पहिचान विकास प्रेमी जननेतामा मात्र यतिबेला सिमित छैन । आम मानिसहरुले भन्न थालेका छन् ‘देशभक्त हुनु त बालेन साहजस्तो’ । जब दक्षिणी छिमेकी मुलुक भारतको नयाँ संसद भवनमा अखण्ड भारतको भित्तेचित्र राखियो र त्यसमा नेपालका भूभागहरु लुम्बिनी, कपिलबस्तु र बिराटनगर समेतलाई अखण्ड भारत अन्तर्गत समेटियो । नेपाल सरकारले औपचारिक रुपमा कुनै आपत्ति जनाएन । बंगलादेश, पाकिस्तानले आफ्नो देशलाई अखण्ड भारतभित्र पारिएकोमा औपचारिक रुपमा कुटनीतिक नोट भारत सरकारलाई पठाएर तीब्र रोष प्रकट गरे । तर नेपालको परराष्ट्र मन्त्रालयले न त कुटनीतिक नोट नै भारतलाई पठायो न त यस विषयमा भारतीय राजदुतलाई बोलाएर स्पष्टिकरण नै लियो । कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी लगायतका राष्ट्रिय राजनीतिका शिर्ष पार्टीहरुले अखण्ड भारतको नक्सामा नेपाली भूमि किन समेटियो ? नेपाली स्वतन्त्रता, राष्ट्रिय अखण्डता र सार्वभौमिक्ता माथि किन धावा बोलियो भनेर भारतसँग प्रश्न गर्ने हिम्मत गरेनन् । इतिहासमा कहिल्यै नभएको अखण्ड भारतको कलोकल्पित भित्ते चित्र भारतीय शासक बर्गले सार्वजानिक गर्दा पनि नेपाली नेताहरुको अलिकति पनि चित्त दुखेन । केही समय अघि भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले समेत त्यस विषयलाई आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री मोदीसँग उठाउन चाहेनन् । त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चित्र साँस्कृतिक पहिचान मात्र भएको र यसलाई गम्भिरताका साथ नलिन भनेपछि प्रधानमन्त्री प्रचण्डले अखण्ड भारतको मुरललाई सायद सामान्य रुपमा लिएको हुनुपर्छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (विजेपी) र त्यसलाई मार्ग निर्देशन गर्ने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले भित्तेचित्र बमोजिमको सन् २०५० सम्ममा अखण्ड भारत निर्माण गर्ने अभिष्टता पालेको देखिन्छ । पाकिस्तान र बंगलादेश माथि पनि व्रिटिसहरुले झण्डै दुई शताब्दीसम्म औपनिवेशिक शासन चलाएका थिए । भुटानको राजसंस्थाको स्थापना पनि व्रिटिसहरुले नै गरिदिएका हुन् । तर नेपाललाई भने व्रिटिसहरले आफ्नो कब्जामा लिने अथक प्रयास गरे पनि हाम्रा वीर पुर्खाहरुले त्यसलाई सफल हुन दिएनन् ।
अखण्ड भारतको भित्ते चित्रमा नेपाली भूभागहरुलाई समावेश गरिएपछि त्यसको प्रतिकारमा सर्वप्रथम मेयर बालेन साह नै उत्रिए । ‘टिट फर ट्याट’ स्वरुप मेयर साहले आफ्नो कार्याकक्षमा सन् १८१६ अघिको ग्रेटर नेपालको नक्सा झुन्ड्याईदिए । पूर्वमा टिष्टा र पश्चिममा काँगडा, उत्तरमा हिमालय र दक्षिणमा गंगानदीको मैदानसम्मको मानचित्र काठमाडौं माहानगर कार्यालयमा राखिए पछि त्यसले अन्तराष्ट्रिय पायो । भारतीय संचार माध्यमहरुले आपत्ति जनाउदै मेयर साहको तिखो आलोचना गर्न बाँकी राखेनन् । बिबिसी, सीएन्एन् र अलजजिरा जस्ता अन्तराष्ट्रिय संचार माध्यमहरुले मेयर साहलाई समाचारको हेडलाइन नै बनाएर समाचार संम्प्रेषण गरे मेयर साहले ग्रेटर नेपालको बिषयलाई उठाएपछि जनस्तरबाट उनको समर्थन गर्दै ग्रेटर नेपालको मुद्धा धुंवाधार रुपमा उठ्नथाल्यो । विशाल नेपाल महाअभियानको लहरले मुलुक अहिले गुञ्जमान भैरहेको छ । सुरेन्द्र ढकाल, रामशरण पाण्डे जस्ता ग्रेटर नेपालका अभियन्ताहरुले २०४७ सालदेखि उठाएको ग्रेटर नेपालको मुद्धा अहिले आम नेपालीको साझा राष्ट्रिय मुद्धा बन्न पुगेको छ । मेयर साहकै कारण ग्रेटर नेपालको विषयले अन्तराष्ट्रिय उडान समेत भर्न थालेको छ ।
भारतीय भौगोलिक विस्तारबादी नीतिका प्रखर विरोधी मेयर सहले पछिल्लो पटक चीनले सार्वजानिक गरेको चिनीया राजनीतिक नक्सामा नेपालको लिपुलेक भञ्जाङ्ग क्षेत्र समेतिएको नयाँ चुच्चे नक्सालाई मान्यता नदिई पुरानै चलनचल्तीको नेपालको नक्सालाई राखिएकोमा घोर आपत्ति जनाएका छन् । उनले आफ्नो चीन भ्रमण समेत रद्ध गरेर चिनीया हर्कत प्रतिको असंन्तुष्टिलाई सतहमै देखाईदिएका छन् । मेयर साहबारे चीनले अहिले सम्म आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन । लिपुलेक नाकाबाट चीन र भारतले व्यापार गर्ने सहमती सन् २०१५ मा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएका बेला चिनीया राष्ट्रपति सि जिनपिङ र मोदी बिच लिपुलेक नाकाबाट व्यापार गर्ने सम्झौता भएको थियो । लिपुलेक नेपालको भूभाग भएको र त्यसलाई व्यापारिक प्रयोजनमा ल्याउन नेपालको सहमति आबश्यक हुन्थ्यो । तर दुबै देशले नेपालको बेवास्ता गरे । नेपाल सरकारले लिपुलेक नेपाली भुभाग भएको र त्यसलाई प्रयोगमा ल्याउने चीन र भारत बीचको सम्झौताको बिरोध गर्दै दुबै देशलाई कुटनीतिक नोट पठायो । चीन र भारत दुबैले अहिलेसम्म सो कुटनीतिक नोटको कुनै जवाफ दिएका छैनन् । चीनले लिपुलेकलाई भारतको भूभाग भएको मान्यता दिएर नेपालको सार्वभौमिकताको अनादर गर्दा पनि सरकार भने चुपचाप छ । परराष्ट्र मन्त्रालयले नयाँ चिनीया नक्सा जारी भएको थाहा नपाए जस्तो गरिरहेको छ । यस्तो बेलामा काठमाडौं माहानगर पिता बालेन साहले नयाँ चिनीया नक्सा प्रति घोर अहमति जाहेर गरेर आफ्नो देशभक्तिपुर्ण भावनालाई लोकस्तरसम्म प्रवाह गर्न सफल भएका छन् । उनको राष्ट्रबादी छविको देश र विदेशमा रहेका स्वाभिमानी नेपालीहरुले मुरीमुरी प्रशंसा गरिरहेका छन् र भनिरहेका छन् ‘देशभक्त हुनु त, बालेन साह जस्तो’ । नेपाली राजनीतिक दलका शिर्ष नेताको पगरी गुथेकाहरुले मेयर बालेन साहबाट शिक्षा लिने हो की ?
सभारः ग्रेटर नेपाल राष्ट्रिय मासिकबाट


0 comment