विष्णु भट्टराई,

लिम्पियाधुरा नेपालकै हो भन्ने विभिन्न आधार भेटिएका छन् । पहिलो आधार सन् १८१६ को सुगौली सन्धि नै हो । सो सन्धिमा पश्चिममा काली र पूर्वमा मेचीलाई मुलुकलाई सीमानाका रुपमा उल्लेख गरिएको छ । तर उक्त सन्धिमा पश्चिमको राप्तीदेखी पूर्वको कोसी नदीसम्मका तराईका जिल्ला उल्लेख नभएकाले त्यसको ९ महिनापछि अर्थात डिसेम्बर ८ मा सुगौली सन्धिकै पूरक सन्धि भयो । त्यसमा लिम्यिाधुरा नेपालकै हो भन्ने प्रष्ट छ । नेपालको कोसीदेखी राप्तीसम्मको समतल भूभाग नेपाललाई फिर्ता गर्न चाहेको भन्दै अंग्रेज सरकारले पत्र पठाएको र त्यही आधारमा सुगौली सन्धिको पुरक सन्धि भएको थियो र त्यसमा लिम्पियाधुरा नेपालको नक्सामा रहेको थियो । 

तेस्रो आधार सन् १८६० नोभेम्बर १ मा भएको तत्कालीन श्री ३ जंगबहादुर राणा र अंग्रेज सरकारका तर्फबाट जर्नेल जर्ज र्याम्से बीच भएको सम्झौता हो । जुन सम्झौता अनुसार बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपाललाई फिर्ता गरिएको छ । त्यसबेला तयार भएको नक्सामा पनि लिम्पियाधुरा छुटेको छैन । सन् १८५० मा सर्भे अफ इन्डियाबाट प्रकाशित नक्सामा लिपुलेक भन्ज्याङबाट आउने नदीलाई कालीनदी मानी सोही नदीलाई सीमाना देखाइएको हो । र साथै सन् १८५६ मा प्रकाशित नक्सामा पनि १८५० को नक्सा अनुसार ने सिमाना देखाइएको छ । उक्त दुवै नक्सा अनुसार कालापानी क्षेत्र नेपालको भूभागमा पर्दछ । 

पछि सन् १८७५ मा सर्भे अफ इन्डियाबाट प्रकाशित नक्सामा कालीनदी छाडी कालापानी भन्दा तलको पाखागाउँ खोलाको दक्षिणपट्टिको डाँडा (पानीढलो) सिमाना देखाइएको छ । यस नक्सा अनुसार कालापानी क्षेत्र भारततर्फ जान्छ । सन् १८७९ मा भारत चीन सीमा सम्झौता हुँदा पनि सन् १८५० मा सर्भे अफ इन्डियाको नक्सामा देखाइएको लिपुलेक भन्ज्याङलाई कालीनदीको उद्गम स्थल मानी इन्जक्सन (निषेधाज्ञा) कायम गरिएको छ । सन् १८५० र १८५६ को सर्भे अफ इन्डियाबाट प्रकाशित नक्सामा कालापानी नेपालको भूभागको रुपमा कायम भएपछि त्यसपछि सर्भेअफ इन्डियाबाट प्रकाशित नक्सामा सिमाना फेर्ने कुनै आधार र औचित्य रहदैन । अतः कालापानी नेपालको भूभाग भएको हुँदा एवं हालसम्म नापी विभागबाट प्रकाशित नेपालको सबै नक्सामा लिपुलेख भन्ज्याङबाट आउने काली नदीलाई सिमाना कायम गरिएको र कालापानी नेपालको भूभागको रुममा छ । १८७९ देखि भारतले आफु खुशी नक्सा छापेर कालापानीलाई भारतमा पार्न खोजेको छ । जुन षडयन्त्रपूर्ण र अन्तर्राराष्ट्रिय कानुन विपरित छ । 

सन् १८७५ जनवरी ७ मा डुडुवा क्षेत्रको सिमांकन भयो । जसमा नेपालका तर्फबाट कर्णेल सिद्धिमान साहेब बहादुर राजभण्डारी अंग्रेज सरकरका तर्फबाट कमिस्नर लेफ्टिनेन्ट जर्नेल एन्ट्रिउको संयुक्त आयोगले नक्सांकन गर्‍यो । उक्त नक्सामा पनि पश्चिम नेपालको लिम्पियाधुरा छुटेको छैन । नेपालले १ सय ३२ किसिमका नक्सा फेला पारेको छ । नेपाल स्वयले आफ्नो नक्सा आफै प्रकाशन गर्न थालेको २०३२ साल देखि मात्रै हो । त्यसअघि बेलाबखतमा प्रकाशित कतिपय नक्सामा समेत लिम्पियाधुरा समेटिएको पाइन्छ । १९९५ सालमा तत्कालीन नेपाल सरकारलाई लिम्पियाधुरा क्षेत्रका नागरिकले बाली बुझाएको प्रमाण पनि सरकारसँग छ । त्यतिखेर त्यसक्षेत्रका केही नागरिकले अन्न र केहीले पैसा नेपाल सरकारलाई बुझाइएको रसिदले लिम्पियाधुरा नेपालकै हो भन्ने आधार स्पष्ट पारेको छ । २०१५ सालको आम निर्वाचनको नामावली र २०१८ को जनगणनाको तथ्याँक पनि सरकारसँग छ । सन् १८५७ भारतले नै जारी गरिदिएको नेपालको नक्सामा कुटी, नाभी, छाङरु नेपालतर्फ देखिने गरी कालीनदीलाई सिमाना मानिएको छ । नेपालले लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक नक्सा प्रचलनमा ल्याए पनि भारतसँग उच्चस्तरीय सार्थक सम्वाद हुननक्दा लिम्पियाधुरा, लिपुलेक केवल चुच्चे नक्सामै सिमित रहेको अवस्था छ । नेपालले २०७७ जेष्ठ ७ गते नयाँ नक्सा जारी गरेको हो ।