काठमाडौं – मुख्य चाडपर्वकै बेला विशेषगरी राजधानी काठमाण्डूसहित सहरी क्षेत्रबाट दशैँतिहार मनाउन जाने मानिसहरू दुर्घटनामा परेका दुःखद खबरहरू बेलबेलामा सुन्न पाईन्छ । मानिसहरूको आवतजावत बढी हुने चाडपर्वका बेलामा यस्ता खाले दुर्घटना बढ्न सक्ने भएकाले वेलैमा सतर्कता अपनाउन अधिकारीहरू र विज्ञहरूको सुझाव रहेको छ । अरू बेला दैनिक औसतमा २०,००० देखी २५,००० जना उपत्यकाबाट बाहिरिने गर्छन तर दशैँ जस्तो चाडपर्वको बेलामा भने ६०,००० भन्दा बढी मानिसहरू दैनिक रूपमा बाहिरिने गर्छन् । दसैँ / तिहारजस्ता ठूला पर्वको मुखमा गम्भीर प्रकृतिका दुर्घटना घट्ने गर्दछन् यस्ता घटनालाई सामान्य भन्न पक्कै सकिँदैन । 

सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले बर्सेनि करोडौँ रुपैयाँ खर्च गरे पनि सवारी साधनको जाँच गर्ने निकायको लापर्बाही र सडकको दूरवस्थाका कारण दुर्घटनामा कमी आउन नसकेको सरोकारवालाहरू बताउँछन । नेपालको सडक सञ्जाल ८० हजार किलोमिटरको हाराहारीमा रहेको छ । १६ वर्षयताको तथ्यांक हेर्दा सडकमा हुने सवारी दुर्घटनाको दिनहुँ सरदर संख्या ७० छ । सोही अवधिमा सडक दुर्घटनाकै कारण दिनहुँ आठभन्दा बढी व्यक्तिको ज्यान जाने गरेको छ ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०७९/८० सम्म २ लाख ६२ हजार ५३ वटा सवारी दुर्घटना हुँदा ३३ हजार १९३ जनाले ज्यान गुमाएका छन् । ती सवारी दुर्घटनामा परी ७१ हजार १०७ जना गम्भीर र १ लाख ७२ हजार १९३ जना सामान्य घाइते भएका छन् । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही, सवारीसाधनको खराबी र संख्या वृद्धि, सडकको अवस्थालगायत कारणले दुर्घटना बर्सेनि बढिरहेको प्रहरी अधिकारीहरू र सरोकारवालाहरू बताउँछन् ।

गत आव २०७९/८० मा मात्र २३ हजार ५९७ वटा सवारी दुर्घटनाहुँदा २ हजार ३६८ जनाले ज्यान गुमाए । तीमध्ये १ हजार ७७३ पुरुष, ३९९ महिला र १९६ जना बालबालिका छन् । ५ हजार ७३८ जना गम्भीर र २४ हजार ४८८ जना सामान्य घाइते भए । त्यसभन्दा अगाडिको आव २०७८÷७९ मा सवारी दुर्घटनामा परी २ हजार ८८३ जनाले ज्यान गुमाएका थिए ।

प्रहरीको तथ्यांकअनुसार सडक दुर्घटनामा सवारीसाधनमध्ये प्रयजसो मोटरसाइकल र जिप तथा कार सबैभन्दा बढी दुर्घटना भएका छन ्। सार्वजनिक सवारीको चापभन्दा बढी यात्रु राख्ने, सवारी जाँच नगराउने, सार्वजनिक यातायात सहज नहुने र पर्याप्त अनुगमन नहुँदा नेपालमा बर्सेनि सडक दुर्घटना बढ्ने गर्दछ । 

त्यसबाहेक क्षमताभन्दा बढी यात्रु बोक्ने, मौसम, यान्त्रिक गडबडी, सडकको अवस्था र चौपायाका कारण समेत दुर्घटना हुने गर्दछ । सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण हरेक ६ महिनामा गर्नुपर्ने कानुनी व्यवस्था भएता पनि कार्यान्वयनमा आउन नसक्दा यो सृजनाको अवस्था खडा भएको हो । तीनैवटा तहका सरकारका निकायले सडक सुरक्षाका लागि अर्बौं रकम छुट्याए पनि दुर्घटनाको दर दिनहुँ बढ्नुले आम जन मानवलाई चिन्ता बढ्नु स्वाभाविक हो । 

हामीकहाँ सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या हरेक वर्ष विभिन्न प्रकोपबाट मृत्यु हुनेकोभन्दा बढी छ । चिकित्सकीय अध्ययनअनुसार मानिसको मृत्यु गराउन भनी सूचिकृत करिब ३ सय कारकहरुमध्ये सडक दुर्घटना समग्र विश्वजनसंख्याको मृत्युको आठौँ कारक हो भने नेपालमा नवौँ । युवा उमेर समूहमा सडक दुर्घटना मृत्युको पहिलो कराक हो । अझ सडक दुर्घटनाका कारणले हुने, मृत्यु, अङ्गभङ्ग भएका व्यक्तिहरु भौतिक क्षतिका साथै, भावनात्मक सामाजिक, आर्थिक समस्या हाम्रो अनुमानभन्दा धेरै परको विषय हो ।

नेपालमा दुर्घटनामा परी मृत्यु हुनेहरुको उमेरलाई विश्लेषण गर्दा औषत बाँच्ने उमेरको ४० वर्ष अघि नै युवाहरुले ज्यान गुमाउनु परेको छ । घरपरिवार, समाज र देशका लागि यो अपूरणीय क्षति हो । यसले देशको विकासमा दूरगामी असर पार्छ । नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीले गर्दा भएको देखिन्छ । मादक पदार्थको सेवन गरी सवारी साधन चलाउँदा गम्भीर प्रकृतिका दुर्घटना भएका छन् । नेपालको सडक दुर्घटना हुने प्रमुख कारणमा सडकको अवस्था हो भने अर्को प्रमुख कारण सवारी साधनको अवस्था र चालकका अवस्था पनि मुख्य कारण हुन् । अन्य कारणमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्न सक्छन् ।

सवारी दुर्घटना कम गर्न कुनै एक पक्ष मात्र लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोगको आवश्यकता पर्दछ । नेपालमा दुर्घटना हुने मुख्य कारण सडक, साधन र चालक हुन् । यी तीन पक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढेको पाइन्छ । यी तीन पक्षमा ध्यान दिई उचित कदम चाल्न सकेको खण्डमा दुर्घटना कम गर्न सकिन्छ । अन्यथा जति नै छानविन समिति बनाए पनि र जति प्रतिवेदन बनाए पनि दुर्घटना कम गर्न सकिँदैन ।

चालकको लापरवाही क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाका मुख्य कारण भएको विज्ञले बताएका छन् । सडक दुर्घटनाका कारण नेपालमा वर्षेनी औषतमा दुई हजारभन्दा बढीले ज्यान गुमाउने भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञहरुको आरोप छ । नक्कली पार्टपुर्जा जस्ता यान्त्रिक गडबडीले पनि पछिल्लो समय धेरै दुर्घटना भएको पाइन्छ ।

सडकको डिजाइन र सडकले थेग्न नसक्ने किसिमका सवारी साधनको सञ्चालनले पनि दुर्घटना बढ्दै गएको हो । चालकले मोवाइल प्रयोग गर्दा पनि दुर्घटनाको जोखिम बढ्छ । साधनको प्राविधिक समस्याका साथै मानवीय त्रुटिका कारण पनि गम्भीर प्रकृतिका दुर्घटना दोहोरिन्छन् । सडक सुरक्षा एउटा सामाजिक क्षेत्र विकास र जनस्वास्थ्यसँग सम्बद्ध मुद्दा हो तर यसले आवश्यक ध्यानाकर्षण पाएको छैन, नेपालमा । धेरै मानिसको मृत्यु भएका घटनाले मात्र प्रायः व्यापक ध्यान पाउने गरेका छन् ।

सडक दुर्घटनाका पीडित उनीहरुका परिवारजन र समाजले भोग्नुपरेको पीडा र आफन्त गुमाउनु परेको मनोवैज्ञानिक असर अझै कहालिलाग्दो छ । यसका अतिरिक्त सडक दुर्घटनाका कारण अकालमै ज्यान गुमाउने परिवारलाई राहत, घाइतेको उपचार, हेरचाह, पुनर्वासमा ठूलो लागत लाग्ने भएकाले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै आर्थिक भार पर्न जान्छ । सडक दुर्घटनालाई प्रमुख मुद्दा बनाइ भविष्यमा यस्ता घटना हुन नदिन अहिले पनि सरकार र सरोकारवाला पक्षको ध्यान पुगेको देखिँदैन ।