प्रभातराज पाण्डे,

दशैँ वा वडादशैँ (अन्य नामः दसहरा, विजया दशमी, नौरथा, नवरात्री, आयुध–पूजा) नेपालीहरुको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत भनिने दशैँ (नौरथा) हिन्दु धर्मावलम्वीहरुले असोज महिनाको शुक्ल प्रतिपदाका दिन देखि नवमीसम्म (नौरथाभर) शक्तिको आराधना गरी दशैँ दिन आफुभन्दा ठुला मान्यजनहरुको हातबाट टिका–प्रसाद ग्रहण गरेर विशेष रुपमा पूर्णिमासम्म मनाउने गर्छन् । असोज शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रन्येक दिन फरकफरक देवीहरुको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आरधना गरिन्छ । 

विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुुशियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । यसलाई असत्य माथि सत्यको विजयको रुपमा लिईन्छ । यसकारण दशमीलाई विजयादशमी भनिएको हो । आफ्ना नाता कुटुम्व ठुलाबडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आर्शिवाद प्राप्त गर्ने, नयाँ नयाँ कपडाहरु लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–खुवाउने, घरआँगन, बाटोघाटो, गाउँबस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । 

दशैँ का अत्यन्त शुभ तिथि जस्तै चैत शुक्ल एवं कार्तिक शुक्लको प्रतिपदा तिथि हो । यी दिनहरुमा हिन्दुहरु नयाँ कार्य शुरु गरी, शस्त्रको पूजा गर्दछन् । विजयादशमीलाई भगवान रामको विजयको रुपमा वा दुर्गा पूजाको रुपमा शक्ति पूजाको पर्व हो । शस्त्र पूजनको तिथि दशैँ हर्ष एवं उल्लासको पर्व हो । दशैँ हिन्दु संस्कृति, विरताको पूजक अनि शौर्यको पर्व हो । व्यक्ति र समाजको रगतमा विरता प्रकट होस् भन्ने ध्ययले दशैँको उत्सव शुरुभएको हो । दसैँ पर्वले दस प्रकारका पापहरु जस्तै–काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ । 

असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा दशैँ मनाइन्छ । शक्तिवादका अनुयायीहरुका लागि यसले देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ । हिन्दु धर्म शास्त्रमा महिषासुर दानवले देवलोकमा आतंक मच्चएका थिए, तर दुर्गाले राक्षसहरुलाई मारेकी थिईन । दशैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरुविच भएको युद्धको प्रतिक हो । दसौँ दिन त्यो दिन हो जव दुर्गाले अन्ततः उनलाई पराजित गरेकी थिईन । अन्य हिन्दुहरुका लागि यो चाड रावण माथि रामको विजयको प्रतिक हो जुन रामायणमा वर्णन गरिएको छ । 

दशैँ  पर्वमा पशुवलीका कारण प्रायः आलोचना हुने गरेको छ । सामूहिक पशुवली विरुद्ध सरकारी कारवाहीको माग गरिएको छ । ताजा रगत चढाउदा देवि दुर्गा प्रशन्न हुन्छिन् भन्ने विश्वासका साथ विशेष गरी पर्वको आठौँ र नवौँ दिनमा सयौँ पशुपक्षिको विधिपूर्वक वध गरिन्छ । परम्परागत रुपमा वलीको लागि योग्य चरा र जनावरहरुमा खसि, बोका, राँगा, भेडा, कुखुरा र हाँस समावेश छन् । केहि पशु अधिकारकर्मीहरुले चराचुरुङगी र जनावरहरुको विपरीत फर्सि र नरिवलको प्रयोगको लागि आह्वान गरेका छन ।