
प्रभातराज पाण्डे,
चन्द्रमान–अनुसार आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलिचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपुर्णिमा देखि आश्विन औँसी (जमरे औँसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्णपक्ष पितृहरुलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन् । एक पक्षमा १५ दिन हुन्छ तर यतिवेला गरिने श्राद्धलाई किन सोह्रश्राद्ध भनिएको भन्ने जिज्ञासा उठ्न सक्छ । खासगरि आश्विन कृष्ण प्रतिपदा तिथि देखि औँसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो । कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ । पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरुलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन् । केहि मानिस, जसलाई आफ्ना परिजनहरुको मृत्युतिथि थाहा हुदैन, तिनको समस्यालाई ध्यानमा राखि पितृपक्षका त्यस्ता केहि विशेष तिथिहरु निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरुको आत्मालाई शान्ति प्राप्त हुन्छ । यी प्रमुख तिथिहरु यसप्रकार छन् –
प्रमुख तिथिहरुः
- आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध ः यस तिथिमा ति परिजनहरुको श्राद्ध गर्नु महत्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ । यसलाई कुमार पञ्चमी पनि भन्दछन् ।
- आश्विन कृष्णपक्ष नवमी श्राद्ध ः यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ । त्यसैले यसलाई मातृनवमी भन्दछन् । यस तिथिमा श्राद्ध गर्नाले कुलका सवै दिवङ्गत महिलाहरुको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।
- आश्विन कृष्णपक्ष एकादशी एवं द्धादशी श्राद्ध ः यस तिथिका दिन परिवारका ति व्यक्तिहरुको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ ।
- आश्विन कृष्णपक्ष चतुर्दशी श्राद्ध ः यो तिथि ति परिजनहरुको श्राद्धका लागि उपयूक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै– दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्धारा मृत्यु आदि ।
- आश्विन कृष्णपक्ष अमावस्य ः कुनै कारणले पितृपक्षका सवै तिथिमा पितृहरुको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनेपनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सवै पितृहरुको श्राद्ध गर्न सकिन्छ । यस दिन श्राद्ध गर्नाले कुलका सवै पितृहरुको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ ।
- आश्विन कृष्णपक्ष शुक्ल प्रतिपदा ः यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहाछैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख–समृद्धिको प्राप्ति पनि हुन्छ ।
पितृ पक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरि पितृपक्ष भरिनै सात्विक भोजन गर्ने गर्दछन् । यसैगरि यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ । पितृपक्षमा प्रतिपदादेखि औँसीभित्र आफ्ना पितृकुलका तिन पुस्ताभित्रकै पुण्यतिथिमा महालय श्राद्ध गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रिय वचन पाईन्छ । एकोद्दिष्ट श्राद्धमा निश्चित तिथिमै श्राद्ध गर्नुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको, शास्त्र, अस्त्रद्धारा मरेको, झुन्डिएर, डुवेर मरेको व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ । पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरुको भनाई छ ।


0 comment