
गोविन्द विक,
ब्राहमणवादले सिर्जेको दलनयुक्त व्यवहारलाई सामाजिक अभ्यासमा निरन्तरता दिने पुस्ताको जमात सामाजिक सञ्जालका भित्ताहरुमा किन केन्द्रित छ ? सामाजिक सञ्जालले मान्छेलाई अत्याधिक व्यस्त बनाएको छ । २०७८ को डाटा अनुसार मोवाइल फोन प्रयोगकर्ताको संख्या ७३.२ प्रतिशत देखिएको छ । सामाजिक सञ्जालमा व्यस्त हुनेहरुको तातीले दलित समुदायमाथी जातिय विभेदजन्य पोष्टहरु पोष्टयाउने आतुरताले अंकुराउदै गरेको सामाजिक रुपान्तरणको अभियानलाई अध्यारोतिर हुर्रयाउदैछ भन्ने कुराको मेसो पाउन कठिन हुदैछ । सामाजिक सञ्जालमा रमाइरहेको युवा पुस्ताले जातिय विभेदजस्ता सामाजिक कुसंस्कारहरुको भन्डाफोर गरेर सामाजिक रुपान्तरण गर्ने अभियानको सारथी बन्नुपर्ने हो तर त्यसो हुन नसक्नु दुखद पक्ष हो । गैर दलित समुदायबाट दलित कुटिने देखि दलितका घर भत्काउनेसम्मका जातिय विभेदका जघन्य अपराधहरु सामाजिक अभ्यास बनिरहेका छन ।
व्यक्तीको मनोविज्ञानबाट निर्देशित व्यवहारको निरन्तरताले दलितमाथिको विभेद जीवित थियो र छ । दलित समुदायमाथि हुने गरेका जातिय छुवाछुतका श्रृङखलाहरुले जात व्यवस्थाको जरालाई समाजले स्वीकार गरिरहेको कटु यार्थाथ हो । सामाजिक सञ्जालका भित्तादेखि सामाजिक व्यवहारका दृष्यहरु प्रकटित हुनु छुवाछुतजन्य व्यवहारहरुको परकाष्ठ नै हो । पुरातनवादी सोचको हुलले सामाजिक सञ्जालमा एकजना दलितको ज्यान नलिएसम्म यिनीहरु सुध्रने छैनन भन्दै जातिय विभेद गरियो । सामाजिक सञ्जालबाट दलित समुदायमाथि हुने गरेका विभेदजन्य व्यवहारहरुको श्रृङखला यत्र तत्र सर्वत्र भइरहेका छन ।
सामाजिक सञ्जालमा कमेन्ट गर्न न कसैलाई सोध्नुु पर्छ न कसैको अनुमति आवश्यक हुन्छ । विशेषगरी दलित समुदायलाई होच्याएर गरिएका पोष्टहरु सामाजिक सञ्जालमा बग्रेल्ति छन् । सामाजिक सञ्जालको माध्यमबाट गरिने गालीमा राज्यको कुनै अंकुश छैन । सामाजिक सञ्जालको सदुपयोग भन्दा पनि दुरुपयोग गर्नेहरुको हुन निकै ठूलो भिड समाजमा छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुको हुलबाट नै दलित समुदायमाथि अमानवीय व्यवहारहरु प्रदर्शित भइरहेका छन् । सामाजिक सञ्जालको दुरुपयोगमा राज्यको नियमन निष्क्रिय रहिरहने हो भने समाजलाई यस प्रवृत्तिले भडखालोतिर लैजाने जोखिम त्यत्तिकै छ । जातिय विभेदको मनोकल्पित भ्रमहरु समाजमा फैलाउनेहरुको जमातले समाजलाई नै अक्रान्त बनाइरहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अनुसार दलित समुदायमाथि भएका मानव अधिकार उल्लघंनका घटना मध्ये ३१ प्रतिशत जातिय विभेदसँग सम्बन्धित घटना थिए । जातिय विभेदको घटनालाई सिडिओदेखि जनप्रतिनिधिहरुमार्फत नै मिलापत्र गरिने गरेका घटना समाजमा थुप्रै थिए र छन पनि । कुनै न कुनै माध्यमबाट दलितमाथि हिंसा हुने क्रम जारी नै छ । दलित समुदायमाथि निरन्तर रुपमा हिंसाजन्य क्रियाकलापहरु हुनुमा राज्यको कम्जोरी उत्तिकै जिम्मेवार रहेको कुरामा कुनै दुबिधा नै छैन । दलित समुदायमाथि हुने गरेका हिंसाजन्य अपमानलाई निरन्तर रुपमा राज्यसंयन्त्रले अनदेखा गरिरहेको थुप्रै नजिरहरु समाजमा जिबितै थिए र छन् पनि । जातिय विभेद सामाजिक अपराध हो भन्ने थाहा छ तर पनि विभेद गरिन्छ । सुतेको मान्छेलाई ब्यूझाउन सजिलो हुन्छ तर सुतेको नाटक गर्नेलाई ब्यूझाउन निकै कठिन हुन्छ । दलितमाथि हुने जातिय हिंसाको कुरा पनि यही भएको छ । जानेबुझेकाहरुबाट नै दलितहरु विभेदमा परिरहेको पारिएका छन ।
नीति, ऐन संविधानले निषेध गरेको दलित जातीमाथि हुने जातिय विभेदका घटनाहरु निरन्तर रुपमा बढिरहनु सामाजिक लज्जाको विषय बनिरहेकोप्रति कुनै दुबिधा नै छैन । दलित समुदायमाथिको छुवाछुतजन्य सामाजिक व्यवहारहरुले आपसी सदभावलाई नै धमिलो बनाइरहेको छ । सदिऔदेखि जातिय विभेदको सिकार बने बनाइएका दलित समुदायको आत्मासम्मानमा पुर्याइएको चोटले सिङ्गो दलित समुदाय आक्रोसित छ ।
सिंगो जात व्यवस्थाले नै समाजको प्रगतिलाई ओझेलमा पारिरहेको कुरामा दुविधा छैन । जात व्यवस्थाभित्रको समाजमा जातिय स्तरीकरणलाई प्रमुखताका साथ अंगाल्ने प्रवृत्ति कुनै नौलो होइन । के पुरातनवादी सामाजिक व्यवस्था वदल्ने अभियानमा दलित समुदायको त्याग र वलिदानलाई समाजले विर्सिन खोजेको हो र ?
दलितको घरमा खाना खादा सामाजिक वहिष्करणमा पर्नुपर्ने त्रास र भययुक्त समाजभित्र समृद्धिको कल्पना कसरी गर्न सकिन्छ ? समाजले जात व्यवस्थाको जरो उखेल्ने हिम्मत किन देखाउदैन ? दलित समुदायलाई यही प्रश्नले पिरोलिरहेको छ । इतिहासलाई सिकाइ बनाएर वर्तमानलाई गतिशिल परिमार्जित परिस्कृत गर्नु मानव धर्मको कतव्र्य हो । तर हामीले दलितमाथिको विभेदलाई इतिहासमा गरिदै आएको निरन्तरता बनायौ चलेको चलन बनायौ पुर्खाले मानेको धर्म बनायौ धर्मले देखाएको चरित्र बनायौ त्यही भएर जात व्यवस्थाभित्रको जातिय विभेद जब्बर बन्दै गयो । हिजो के थियो हैन आज के छ को महत्व हुन्छ । वर्तमानमा आफूलाई परिवर्तन गर्ने यत्नमा मान्छे चुकिरहेको छ । त्यसकारण हिजोको इतिहासमा भए गरेका अभ्यासहरुलाई वर्तमानमा व्यवहार बनाएर अगाडि बढने मार्गमा नै समाजले डोहो¥यायो । हिजोको विभेद आज पनि छ हिजोको अपहेलना आज पनि छ हिजोको कुचलन आज पनि छ हिजोको संक्रिर्ण सोच आज पनि छ हिजोको दमनकारी व्यवहार आज पनि छ हिजोको आदेशात्मक बिचरा आज पनि छ यस अवस्थामा सामाजिक रुपान्तरणको सपना कसरी पूरा होला ? हिजोको कल्याणकारी बिचराले आजको अधिकारमुखी परिवेसमा काम गर्दैन । दलितलाई कठै बरा हैन । अधिकार केन्द्रित व्यवहार समाजले गर्नु पर्दछ । दलितलाई व्यवहार नै तल्लोस्तरको गरियो । दलितप्रति सोच नै तल्लोस्तरको भयो । दलितलाई हेर्ने आँखा नै तल्लो स्तरको देखियो । गल्ति गर्दा दलितको जस्तो भन्ने गरियो ।
आहुतीको भनाइमा जात व्यवस्थामा हुर्किएको मानिसको सोच्ने तरिका नै मुख्य कुरा हो । जात व्यवस्थाले मानिस जन्मको आधारमा श्रेष्ठ वा तुच्छ हुन्छ भनेर सोच्ने केन्द्रिय दृष्टिविन्दु निमार्ण गर्छ । दलित र गैर दलितबीच अन्तरघुलनलाई जात व्यवस्था बोकेको समाजले कहिलै पचाएन र पचाउदैन पनि । दलित र गैर दलितबीचको सामाजिक व्यवहारलाई खण्डीकरण गर्न समाजले सिकायो । यी यसतै सामाजिक व्यवहारहरुले दलित समुदायमाथिको हेला होचोलाई बढवा दिइरहयो । हामी अछुत मान्दैनौ भनियो तर व्यवहारमा देखाइएन । सानो जात र ठूलो हामी जान्दैनौ भनियो तर अभ्यासमा देखाउने हिम्मत गरिएन । बाहिर सँगै खाइन्छ भनियो तर घरमा बुढा बाउ छन के गर्ने ? भनियो । अरुलाई जातिय छुवाछत अपराध हो आजको समाजमा यसतो गर्नु हुदैन भनियो तर आफै चाही परिवर्तन हुन सकिएन । जातिय छुवाछुत कसैले गरेमा कानुनी सजाय हुन्छ भनियो तर जातिय छुवाछुत हुँदा उजुरी नगरी गाउमै मिलाउने काम आफ्नै अगुवाइमा गरियो ।
समाजमा भएका देखिएका यसतै गतिविधिहरुले जात व्यवस्थाको जरामा समाजबाट नै उकेरा हाल्ने काम निरन्तर भइरहेको छ । अरुले के गर्ने हैन आफू चाही के गर्ने किन सोचिन्न ? अरुलाई परिवर्तन गर्ने हैन आफै परिवर्तन हुने कहिले हो ? अरुले विभेद गरेछ हैन आफै गर्दिन किन नभन्ने ? अरुले समाजमा यस्तै गर्छन हैन आफू चाही कसरी फरक गर्ने विचार खै ? अभ्यास अरुले थालेन हैन आफै थाल्ने हिम्मत कहिले देखाउने ? विचरा हैन अधिकार बुझ्ने कहिले हो ? दिने हैन पाउने कुरा किन गरिन्न ? भोली होला हैन आजै हुन्छ किन नभन्ने ? दलितको घरमा भोजन गर्दा स्यावास हैन आफै चाही गर्न कहिले अघि सर्ने ? कसैले छरेको मनोकल्पित भ्रमलाई ए हो र हैन मनोकल्पित भ्रम नछर्न खबरदारी कहिले गर्ने ? सामाजिक सञ्जालमा हुल बाध्ने हैन जातिय विरोधी पोष्ट डिलिट गर्ने अभियान आफैबाट सुरु गर्ने की ?
स्रोतः ग्रेटर नेपाल, राष्ट्रिय मासिक


0 comment