‘मातरः सर्वभूतानां गावः सर्वसुखप्रदाः’ (महाभारत, अनुशासन पर्व, अ. ६९) अर्थात् गाई समस्त प्राणीलाई सुख, शान्ति प्रदान गर्ने आमा समान हुन्। यिनी सबै प्रकारका कल्याण अर्थात् धर्म, अर्थ, काम, मोक्षकी पावन सम्पादिका हुन्। यिनी आफ्ना द्रव्यहरूबाट हवन गरेर चराचर जगत्लाई शुद्ध, निर्मल र स्वस्थ् पार्दै स्वर्गका देवगण एवं पितृलोकका पितृहरूलाई तृप्त गर्ने मोक्षदायिका हुन्।

गाईबाट प्राप्त हुने दूध, दही, घिउ, मोही, अमृतसमान द्रव्य हुन्। गौमूत्र महाऔषधि हो भने गोबर मल होइन, मलशोधक हो। गाईको सिङ र जुरो शक्तिशाली पिरामिड हुन्। यिनै पिरामिडका कारण कामधेनु गाईहरूमा जाडो, गर्मी, वर्षा, सुक्खा आदि विषम स्थितिलाई सहन सक्ने अद्भुत क्षमता हुन्छ। त्यसैले शास्त्रहरूले उद्घोष गरेका छन्— सर्वदेवा स्थिता देहे सर्वदेव मयी गौ।।

वेदले गाईलाई अखिल ब्रह्माण्डको रूप बताएको छ— एतद् वै विश्वरूपं सर्वरूपं गोरुपम्।। महाभारतका अनुसार यज्ञको फलको कारण कामधेनु गाई नै हुन्। किनकि गाईको पञ्चगव्यबिना कुनै पनि यज्ञ पूर्ण हुँदैन। यसैले गाई यज्ञको प्रतिष्ठा हुन्– गावो यज्ञस्य हि फलं गोषु यज्ञाः प्रतिष्ठिताः (महाभारत, अनुशासन पर्व)।

गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गौमूत्र र गोबर महान् द्रव्य हुन्। यी द्रव्यहरूका बारेमा हाम्रा महान् आयुर्वेद ग्रन्थहरूमा विस्तृत रूपमा व्याख्या गरिएको छ। आधुनिक विज्ञानको प्रयोशालामा प्रयोग गरेर हेर्दा व्याख्याअनुसारको तथ्य र सत्य प्राप्त भएका कारण आधुनिक वैज्ञानिकहरूले पनि गाईको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

गाईको दूध अमृत हो। गाईको दूध शत्प्रतिशत सात्विक, पौष्टिक, सुपाच्य, र सम्पूर्ण आहार हो। गाईको दूधमा हजारौं दिव्य रसायन हुन्छन्, जसले मानव शरीरको विकाससँगै मस्तिष्कको विकास गर्छ। यसको प्रभावले मानिसमा मानवता, परोपकारिता, दूरदर्शिता, कठोरश्रम, दृढनिश्चय, साहस, पराक्रम, धैयर्, पुरुषत्वजस्ता गुणहरूको विकास नियमित कामधेनु गाईको दूध पिउनाले हुन्छ।

पशुविज्ञान विशेषज्ञका अनुसार गाईको दूधमा प्रोटिनले मनुष्यको शरीरका कोषिकाहरूमा अर्बुद (क्यान्सर) रोग हुनबाट बचाउँछ। गाईको दूधमा गाईकै घिउ मिलाएर पिउनाले अर्बुदका रोगीलाई अत्यधिक फाइदा हुन्छ। रुसका वैज्ञानिकहरूले कामधेनु गाईको दूधका विषयमा अनुसन्धान गरी आफ्नो रिपोर्टमा निरन्तर यो दूधको सेवनले अणुबमका विकिरणको पनि असर नपर्ने बताएका छन्। गाईको दूधमा सरिब्रोसाइडान नामक तत्व हुन्छ, जसले मस्तिष्कको विकास गरी बुद्धिलाई प्रखर बनाउँछ। भारतीय औषधि विज्ञान परिषद्का अनुसार गाईको दूधमा भिटामिन ‘ए’ १०० इन्टरनेसनल युनिट र भैंसीको दूधमा पनि भिटामिन ‘ए’ १०० इन्टरनेसनल युनिट हुन्छ। दूधलाई पकाएर कुराउनी बनाएपछि गाईको दूधको कुराउनीमा भिटामिनको युनिट बढेर ४०० युनिट पुग्छ भने भैंसीको दूधको कुराउनीमा यसको मात्रा शून्य हुन्छ। अमेरिकाको कृषि विभागद्वारा प्रकाशित ‘गोमाता एक आश्चर्यजनक रसायनशाला हो’ भन्ने पुस्तकमा छ– समस्त दुग्धधारी प्राणीहरूमा गाई यस्तो प्राणी हो, जो रुखा, सुक्खा खाएर पनि दूधमा केरोटिन नामक पदार्थको उत्पादन गर्छ। गाईको शरीरमा सामान्य विषहरूलाई पचाउने अद्भुत क्षमता हुन्छ। अरू कुनै पनि जनावरमा यस्तो गुण पाइँदैन। यसको कारण गाईको जुरो हो। 

विभिन्न अनुसन्धानका अनुसार मानिसको र गाईको दूधबाहेक अरू कुनै पनि प्राणीहरूका दूधमा स्वर्णक्षार अर्थात् केरोटिन पाइँदैन। केरोटिन आँखाको र मस्तिष्कका लागि अत्यन्त महत्वपूर्ण तत्व हो। केवल आमाको दूध र गाईको दूधमात्रै पहेंलो हुन्छ। गाईको जस्तो गुण अरू कुनै पनि जनावरमा पाइँदैन। गाई आयुर्वेद शास्त्र हुन्। हिँडडुल गर्ने चिकित्सालय अनि पर्यावरण संरक्षक पनि। विज्ञान, कृषिको प्रमुख आधार, महालक्ष्मी र हाम्रो जीवनकी सर्वोपरि हुन्। यिनी मानवको सुख, शान्ति एवं समृद्धिकी पावन साधन हुन्। प्रेम, दया, सन्तोष, एवं सहिष्णुताकी दिव्य मूर्ति हुन्।

प्रवरं जीवनीयानां क्षीरमुक्तं रसायनम् (चरकसंहिता २७-२१२) अर्थात् गाईको दूध जीवनीय रसायन हो। 

अर्को आयुर्वेद ग्रन्थ योगरत्नाकरमा गाईको दूधको यस प्रकार वर्णन गरिएको छ—

जीर्णज्वरे मूत्रकृच्छ्रे रक्तपित्ते मदात्यये।
कासे श्वासे प्रशंसन्ति गव्यं क्षीरं भिषग्वराः।।

अर्थात् जीर्ण ज्वरो, पिसाब रोकिए, रक्तपित्त, नसा, दम, खोकी आदि रोगमा गाईको दूध पिउनु उपयुक्त हुन्छ। भावप्रकाश निघण्टु नामक चिकित्सा शास्त्रमा बिहान पिएको गाईको दूध बलवर्द्धक, कफनाशक, जठराग्नी वृद्धि गर्ने, बाल्यावस्थाको शरीरलाई वृद्धि गर्ने, वृद्धावस्थाको शरीरलाई क्षीण हुनबाट बचाउने र शुक्राणुवर्धक हुन्छ।

राति सुत्नुभन्दा अगाडि पिएको दूधले आँखासम्बन्धी अनेकौं रोग ठीक गर्छ र त्रिदोष शमन गर्छ। गाईको दूधले सातै धातुलाई बढाउँछ। गाईको दूध कान्तिकारक, शक्तिदायक, बुद्धि, प्रज्ञा र मेघावर्द्धक आदि अनेकौं गुणले भरिपूर्ण हुन्छ।

आयुर्वेदले गाईको दही र मोहीका गुणको पनि दूधसमान नै व्यापक रूपमा वर्णन गरेको छ। मोहीको वर्णन योगरत्नाकर ग्रन्थमा यसरी गरिएको छ—

न तक्रसेवी व्यथते कदाचिन्न तक्रदग्धाः प्रभवन्ति रोगाः।
यथा सुराणाममृतं प्रधानं तथा नराणां भुवी तक्रमाहुः।।

अर्थात् मोही सेवन गर्ने व्यक्ति कहिल्यै बिरामी हुँदैन। मोहीले निवारण भएका रोगहरू दोहोरिँदैनन्। जसरी स्वर्गका इन्द्रादि देवताहरूका लागि अमृत महत्वपूर्ण छ, त्यसै प्रकार पृथ्वीका मनुष्यहरूका लागि मोही महत्वपूर्ण छ। भोजनको अन्तमा मोही पिएमा डाक्टरको नै आवश्यक नपर्ने आयुर्वेद शास्त्रहरूले यसरी बताएका छन्—

भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्।

गाईको घिउ अमृतसमान र विषनाशक औषधि हो, रसायन हो। बलवर्द्धक, पुष्टिकारक, वातनाशक, अग्निवर्द्धक र वीर्यवर्द्धक महाऔषधि हो। रुसका वैज्ञानिकहरूले कामधेनु गाईको घिउ हवन गरेर अनुसन्धान गर्दा यो तथ्य निकालेका छन् कि जहाँसम्म हवन गरेको धुवाँको प्रभाव पुग्छ, त्यहाँ सबै प्रकारका कीटाणु नष्ट हुन्छन्।

गाईको गोबरका गुइँठा जलाई एक चम्चा घिउमा चार दाना चामल मिलाएर हवन गर्नाले अत्यन्त महत्वपूर्ण ग्याँसहरू इथोलिन अक्साइड, प्रोपोलिन अक्साइड, फर्मल डिहाइड आदि उत्पन्न हुन्छन्। इथोलिन अक्साइड आजभोलि अधिक प्रयोग गरिने जीवाणुरोधक ग्याँस हो। सबै शल्यक्रीया कक्ष (अपे्रसन थिएटर)मा प्रयोग गरिन्छ। जीवन रक्षक औषधिको निर्माणमा यसको प्रयोग गरिन्छ।

प्रोपोलिन अक्साइड ग्याँस वर्षाको आधार हो। यसले बादलहरूलाई एक ठाउँमा तानेर वर्षा गराउँछ। आजभोलि कृत्रिम वर्षा गराउन वैज्ञानिकहरूले यो ग्याँसको प्रयोग गर्छन्। हाम्रा महावैज्ञानिक ऋषिमुनिहरूले वेद, उपनिषदादी ग्रन्थहरूमा यज्ञ अर्थात् हवनको ठूलो महिमा बताएका छन्। हावा, पानी, ध्वनि, भूमि, सूर्यकिरण, अणुविकिरण तथा वायुमण्डलको प्रदूषणलाई रोक्न सक्ने अग्निहोत्रको महत्वपूर्ण भूमिकाले वैज्ञानिकहरूलाई स्तब्ध पारिदिएको छ।

आज वैज्ञानिकहरूले भन्न थालेका छन् कि ‘प्रदूषणलाई हटाउने उपाय मिल्यो’। युरोपका घर, पसल र सवारीसाधनमा यस प्रकारका स्टिकरहरू पनि देख्न थालिएको छ— ‘अग्निहोत्र गरेर वायुमण्डललाई स्वस्थ राख’। जीवाणु शास्त्रीहरूले अनुसन्धान एक समयको अग्निहोत्रले ९० प्रतिशत हानिकारक कीटाणुहरू नष्ट हुने प्रमाण भेटेका छन्।

गाईको घिउ जलाउनाले उत्पन्न हुने महत्वपूर्ण ग्याँसले प्रकृतिचक्र सन्तुलित गर्ने काम गर्छ। जुन स्थानमा गाईको घिउबाट अग्निहोत्र हुन्छ, त्यहाँको वातावरणमा रोगजनक कीटाणुहरू नष्ट हुन्छन्। मनुष्य, पशुपक्षी, वनस्पति आदि सजीव सृष्टिका लागि शुद्ध एवं पुष्टिकारक वातावरण निर्माण गर्न गाईको घिउ एक प्रमुख द्रव्य हो। 

यज्ञमीमांसामा भनिएको छ — ‘आज्यहोमेषु सर्वेषु गव्यमेव भवेद् घृतम्।’

अर्थात्, सबै यज्ञ र हवनहरू गाईको घिउबाटै गर्नुपर्छ। अन्य कुनै पनि प्राणीको घिउलाई अग्निहोत्रमा प्रयोग गर्नु हुँदैन, दीप प्रज्ज्वलित गर्न हुँदैन। आज कुनै वैज्ञानिकले यस्तो यन्त्र बनाएका छन्, जसले कुनै बटन दबाएपछि पूरै वातावरण शुद्ध, निर्मल र स्वस्थ बनाउँछ।

हाम्रा महान् ऋषिमुनिहरूले हजारौं वर्ष पहिले नै अनुसन्धान गरेर हाम्रा अगाडि अग्निहोत्रविधि राखिदिएका छन्। आज पृथिवी मौसमको अतियोग, हीनयोग र मिथ्यायोगको कालचक्रको भुमरिमा परेको छ। हरित ग्याँसको उत्सर्जन नै यसको कारण हो भनेर वैज्ञानिकहरूले भनेका छन्। हरित ग्याँसको उत्सर्जनलाई कम गर्न अग्निहोत्रभन्दा अर्को कुनै विकल्प छैन।

‘यन्मे रोगश्च शोकश्च पापं मे हर गोमय।’

गाईको गोबरले रोग, शोक र पापहरूलाई निवारण गर्छ। किनभने गोबरमा अष्टलक्ष्मीको बास हुन्छ। गाईको गोबरले प्लेगका कीटाणुहरू पनि मर्छन्। कामधेनु गाईको गोबरले अणुबमका विकिरणको प्रभावलाई पनि नष्ट गर्छ। इटालीका प्रसिद्ध वैज्ञानिक प्रोफेसर जीई विगेडले कामधेनु गाईको गोबर प्रयोग गरेर ताजा गोबरले टीबी तथा मलेरियाका कीटाणुहरू मर्ने सिद्ध गरेका छन्।

गोबरले लिपेको घरमा अणु बमको आणविक विकिरणको प्रभाव पर्दैन। वैदिक सनातन संस्कृतिमा चन्द्रग्रहण र सूर्यग्रहणका समयमा गाईको गोबरले पूरै घरमा घेरा लगाउने चलन आज पनि जीवितै छ। यो विधि अत्यन्त वैज्ञानिक छ। ग्रहणका समयमा वायुमण्डलमा हुने विकिरणको प्रभावबाट बच्न गोबरको प्रयोग गरिन्छ किनकि गोबरले खराब र हानिकारक विकिरणलाई खिचेर राख्छ।

पौराणिक पात्र पुतनाले श्रीकृष्णलाई स्तनपान गराउँदा उसको विषको प्रभावबाट बचाउन गोबरले पूरै शरीरमा लेप गरेर विष निवारण गरेको प्रसंग भागवत महापुराणमा उल्लेख छ। घरबाट मृत शरीर उठाइसकेपछि घर गोबरले लिप्ने चलन आज पनि गाउँघरमा देख्न पाइन्छ। यसको वैज्ञानिकताका बारेमा सबैले मनन् गर्नु आवश्यक छ। 

गौमूत्र महाऔषधि हो। यो क्यान्सरको प्रमुख औषधि हो। आधुनिक विज्ञानको प्रयोगशालामा हेर्दा गौमूत्रमा युरिया, युरिक एसिड, हिप्युरिक एसिड सोडियम क्लोराइड, फास्फोरिक एसिड, सल्फ्युरिक एसिड, ओमेनियाँ क्रियाटिनिन, क्लोरिन, सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र अति महत्वपूर्ण पाँच प्रकारका भिटामिन ए, बी, सी, डी र ई विद्यमान छन्। गौमूत्रमा सबै प्रकारका कीटाणुहरू नष्ट गर्ने शक्ति हुन्छ र हाम्रो शरीरमा आरोग्यदायक तत्वहरूको कमीलाई पूर्ण गर्ने शक्ति हुन्छ।

गौमूत्र विषनाशक हो किनभने समस्त स्थावर विषहरू — रुखबिरुवा, झारपात, फलफूल, चोप आदि जंगम विषहरू — सर्प, बिच्छी, माकुरो, माउसुली आदिको विष, पार्थिव विषहरू गन्धक, हरताल, पारोजस्ता विषहरू र महाविषहरू सुन, चाँदी, तामा, पित्तलजस्ता कठिनभन्दा कठिन धातुहरू, रत्न, उपरत्न नै किन नहुन्, यिनीहरूको विषाक्त दुर्गुणता गौमूत्रमा केही दिनसम्म राख्नाले समाप्त भएर अमृतसमान औषधोपयोगी हुन्छन्, निर्विषीकरण र अमृतीकरण हुन्छ। गौमूत्रमा विषको प्रभावलाई नष्ट गर्ने अद्भुत क्षमता हुन्छ। अतः शरीरमा उत्पन्न विष उत्पादक विकारहरूलाई निष्क्रिय गर्नका लागि गौमूत्र सेवन गर्नुपर्छ।

माथि उल्लेख भएका दूध, दही, घिउ, गोबर र गौमूत्र आफैंमा महाऔषधि हुन् भने यी पाँचै मिलाएर पञ्चगव्य बनाइन्छ। पञ्चगव्यको सेवनले शरीरका विकारहरूलाई नष्ट गरी शरीरलाई स्वस्थ्य बनाउँछ। पञ्चगव्यको सम्बन्धमा आयुर्वेद शास्त्रमा यसरी वर्णन गरिएको छ —

गव्यं पवित्रं च रसायनं च पथ्यं च हृद्यं बलबुद्धिदं स्यात्।
आयुःप्रदं रक्तविकारहारी त्रिदोषहदृ रोगविषापहं च।।
(योगरत्नाकर)

अर्थात्, पञ्चगव्य रसायन हो, परम पवित्र हो। हृदयलाई आनन्द दिने, बल एवं बुद्धि प्रदान गर्ने, आयु बढाउने, रगतका सबै विकार हटाउने, त्रिदोषलाई समन गर्ने, हृदय रोगबाट बचाउने र शरीरको विषको प्रभावलाई कम गर्ने क्षमता यसमा छ। पञ्चगव्यले त हाडसम्मका रोगहरू आगोमा सुकेका दाउरा जलाए झैं जलाएर नष्ट गर्छ भन्ने कुरा शास्त्रहरूले बताएका छन्।

गाई मानव जीवनका लागि अमूल्य रत्न नै हो तर आज यी रत्नहरूको जुन दूरावस्था भएको छ, त्यसको प्रभावका कारण हामी दिनप्रतिदिन रोगी, दुःखी र अशान्त हुँदैछौं। पृथ्वी दिनप्रतिदिन तात्दैछ, मौसम परिवर्तन हुँदै छ। यसको निवारणका लागि वैज्ञानिकहरूमा हरित ग्याँसको कटौतीबाहेक अरू कुनै विकल्प छैन तर यो अन्धाधुन्ध विकासको दौडले हरित ग्याँस कटौतीको सम्भव नै छैन।

यदि पृथ्वीको पर्यावरण बचाउने हो भने हाम्रो वैदिक पद्धतिअनुसारको अग्निहोत्रभन्दा अर्को विकल्प छैन। अग्निहोत्रका लागि कामधेनु वंशका गाईहरूको घिउ नै आवश्यक पर्छ। आजको सहरिया दौड, आधुनिक परिवेष र हाम्रा कामधेनु वंशका गाईको दूधको न्यूनताका कारणले घरघरमा गाई पाल्न त्यति सम्भव देखिएको छैन। त्यसकारण अहिले गौशालाको निर्माण गरी गाईहरूको संरक्षण एवं संवद्र्धन गर्नु परम आवश्यक देखिएको छ। 

गौशालाको निर्माण भएपछि कामधेनु वंशका गिरनारी, साइवालजस्ता दूधारु गाईहरूको आयात गरी हाम्रा गाईहरूमा वर्णशंकर निर्माण गरेर घरघरमा पाल्ने व्यवस्था गर्नुपर्छ। दूधारु गाईहरू भएमा प्रत्येक घरमा यिनीहरूले स्थान पाउने छन्, गाईको आदर र सम्मान हुनेछ। आजभोलि अन्न, सागसब्जी सबै रासायनिक मल एवं विषादीको प्रयोग गरी उत्पादन गरिएका हुन्छन्। तिनीहरूको प्रयोग गर्दा दिनप्रतिदिन मानिस असाध्य रोगको भुमरीमा परी जिउँदो लास भएर बाँचेका छन्।

स्वस्थ जीवनयापनका लागि हामीहरू समय मै सचेत हुनु परम आवश्यक छ। हामीहरूले जैविक मल एवं कीट नियन्त्रक प्रयोग गरेर अन्न, सागसब्जी उत्पादन गर्नु अहिलेको आवश्यकता हो। गौशाला निर्माण गरी जैविक मल, कम्पोस्ट मल, सिंगमल, कीट नियन्त्रक, अमृतपानीजस्ता बहुगुणकारी जैविक मल उत्पादन गरेर स्वस्थ एवं अहिंसा खेती गर्नुपर्छ। गाई यस्तो प्राणी हुन्, जसलाई हामीले पाल्नु पर्दैन। यदि गाईबाट प्राप्त हुने द्रव्यहरूको सदुपयोग गरियो भने गाईले नै हामीलाई पाल्छिन्। त्यसै त शास्त्रले गाईलाई पुजनीय भनेको र हामीले पुजेको होईन होला नि ?

गाईका यीनै गुणले गर्दा हाम्रो शास्त्रहरुले गाईको संरक्षण गर्नुपर्छ भनेका हुन् । तर आज, पहिचानको नाममा अनि जातिय र धार्मिक हिंसा भड्काउन केही पहिचानवादीले नेपालमै सार्वजनीक स्थलमा गाई काटेर भोज गरेर सामाजिक सञ्जालमा भिडियो हालेका छन् । समाजिक सदभाव बिथोल्ने प्रयास गरेका छन् । उसो त नेपालको कानुनले नै कुनै पनि पशुको पोथी जातिलाई मार्नु गैरकानुनी मानेको छ । त्यहाँमाथी राष्ट्रीय जनावर मानिएको गाईको हत्या गर्नु त झन् ठुलो अपराध हुन जान्छ । तर, अराजकता र राजनितिक संरक्षण हावी भएको बेला देशको कानुनले के नै गर्ला र ? 

हाम्रै देशमा पनि पहाडी भेगका मंगोलीयन समुदायका बासिन्दाहरुले गाई गोरु खाएकै छन् । अनि कसैले विरोध गरेका पनि छैनन् । तर उनीहरुले जिउँदो गाई गोरु काट्ने भन्दा पनि भीरबाट लडाएर मार्ने गरेका छन् । त्यसैगरी, हिमाली भेगका बासिन्दाले चौँरी खाएकै छन् । परापूर्व कालदेखी चलीआएको रीती हामिले रोक्न पनि सम्भव छैन ।

विश्वका सबै जसो देशमा गाई काटिन्छन् र खाईन्छन् पनि । यो तथ्य हामी सबैले स्वीकारेकै छौँ । तर तीनैमध्य कतिपय देशले बिस्तारै कृषीजन्य उत्पादन बढाउन भन्दै बिस्तारै गौहत्यालाई निरुत्साहित गर्दै लगेका छन् भने हामी वैदिक सनातन धर्म मान्दै आएका कृषीप्रधान देशका जनताले गौहत्या गर्नु कहाँसम्म उचित होला ?

विश्वमा अरुले भन्दा फरक काम गरेर आफ्नो देशको छुट्टै पहिचान बनाउनुपर्ने अवस्थामा हामी आफैँ अरुको पछ्यौटे हुन खोज्नु आफैँमा पीडादायक छ । त्यसो गर्नुभन्दा बरु हामी गाईहरूको संरक्षण एव संवर्द्धन गर्न गौशाला स्थापना गरौँ। बाटोमा छाडा छाडिएका अनि खानु न पिउनु भएर मरणासन्न अवस्थामा मृत्युसँग जुधिरहेका गाईहरुको उद्धार गरौँ। गौचरनको अभावमा किसानहरूले गाई पाल्न छोडिसकेको स्थितिमा गौचरनको व्यवस्था गरौँ गाई पाल्न प्रेरित गरौँ । गाईको सहायताले वातावरण जोगाऔँ अनि हाम्रो धर्म, संस्कृती अनि पहिचान पनि ।