आजको आधुनिक युगमा सुचना प्रविधीले मानिसको जीवनमा यती धेरै स्थान ओगटेको छ कि बयान गरेरै सकिन्न । किशोर किशोरी टिकटक, ईन्स्टा लाईभ, फेसबुक रील्स र युट्युब शर्टस्सँगै कैयौं मोबाईल गेम्स्लाई नै आफ्नो वास्तवइक जिन्दगी ठानेर बाँचिरहेका बेला वयस्कहरु पनि आफ्नो दिनको आधा भन्दा बढी समय सामाजिक सञ्जाल मै रमाईरहेका भेटिन्छन् । यतीसम्म कि आजकल कोही दुई जना पुरुष या महिला साथीहरुको अकास्मात भेटिए भने बढीमा पाँचदेखी १० मिनेट कुराकानी हुन्छ, त्यसपची, दुबैजना आ-आफ्नै सामाजिक सञ्जालको दुनियाँमा हराउँछन् । बस् वाईफाई मात्र हुनुपर्छ । 

प्रविधीले यतीसम्म हामिलाई जकडिसक्यो कि अब हामी आफ्ना स-साना बालबालिकालाई टिभी या मोबाईल नदेखाई खाना पनि खुवाउन नसक्ने भईसक्यौँ । एक डेढ वर्षको शिशु बालबालिका टिभी या मोबाईल नहेरी खाना खानै नमान्ने, सुत्नै नमान्ने भईसकेको अवस्था छ । यसरी टिभी या मोबाईल हेरेर छोराछोरीले खाना खाईदिँदा आमाबाबु छोराछोरीले सबै खाना खाए भनेर खुशी हुन्छन् । तर यसरी टिभी या मोबाईल हेर्ने कुलतले बालबालिकाको वौद्धिक बिकासमा नकारात्मक असर पर्छ भन्ने चाहिँ कमैले ख्याल गरेका हुन्छन् । उफ्रने, कुद्ने, चटपटाउने, चकचक गर्ने, दौडनेजस्ता शारिरिक कृयाकलाप गरेर शरीरलाई चुस्त स्फुर्त राख्दै शारिरिक र वौद्धिक रुपमा आफुलाई बिकसित गर्दै लैजानुपर्ने उमेरमा रंगीचंगी टीभी र मोबाइललाई नै संसार मानेर बालबालिका त्यसमै भुलिँदा न त उनीहरु शारिरिक रुपमा राम्रोसँग बिकसित हुन सक्छन् न त मानसिक रुपमा नै ।  सबै कुरा डिजिटल प्रविधीले आँखा अगाडी पस्किदिँदा बालबालिकाको कल्पना गर्न सक्ने क्षमतामा ह्रास आउँछ । यसै कारणले भविष्यमा बालबालिकाको राचनात्मक क्षमताको बिकास हुन दिँदैन ।  

हावा, पानी, धुलो, हिलो, माटो खेलेर हुर्केका बालबालिकाको रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणाली (immunity) बलियो हुन्छ । सनोतिनो रोगले गलाउन सक्दैन । कुनै पनि कुराको एलर्जी हुने सम्भावना कम हुन्छ भने २४ सै घण्टा टिभी र मोबाईलको दुनियाँमा भुलेर घरभित्रै बसिराख्ने बालबालिका रुघा मात्रै लागेपनी अस्पताल नै पुर्‍याउनुपर्ने खालका हुन्छन् ।  

टिभी र मोबाईलको दुनियाँबाट अलि टाढा राखिएका बालबालिका सजिलै अरुसँग घुलमिल हुन्छन् । आफुभन्दा साना, ठुला र आफु सरहकालाई कसरी व्यवहार गर्नुपर्छ भन्ने बुझेका हुन्छन् । सबैसँग आफ्ना कुरा राख्न सक्षम हुन्छन् । खुलेर बोल्न सक्ने हुन्छन् भने घरभित्रै रमाएका बालबालिका अञ्जान व्यक्तिका अगाडी पर्नै डराउँछन् । आफ्नो परिवारबाहेक अरुसँग घुलमिल हुनै सक्दैनन् । सानो उमेरमा सुरक्षाका कारणले कती आमाबाबुलाई यो व्यवहार सही लाग्ला । तर स्कुल पठाउने उमेरमा यो गल्तीले समस्या निम्याउँछ । बालबालिका स्कुल जानै नमान्ने, स्कुल जाने भनेपछी घरदेखी नै रुन सुरु गर्ने अनि स्कुल पुगेपछी पनि आमाबाबु नदेख्दा दिनभरी रोईरहने बालबालिका धेरै देखिन्छन् । टिभी र मोबाईलले बालबालिकाको आँखा सुख्खा बनाउँछ । जसले गर्दा सानै उमेरदेखी चश्मा लगाउनुपर्ने हुन्छ । बालबालिकालाई राती निद्रा नलाग्ने समस्या पनि उत्तिकै भेटिन्छ । 

भारतको बेङलोरस्थित एउटा मानसिक रोग अस्पतालमा अहिले टीभी–मोबाइलको कुलतबाट प्रभावित भएका बालबालिकाका लागि कुलत छुटाउने केन्द्र नै स्थापना भएको छ । अस्पतालका अनुसार हप्तामा सरदर २० जना जती अभिभावक यस्तो समस्यामा परेका बालबालिका लिएर आउँछन् । कुनै बालबालिकामा काउन्सिलिङपछि बिस्तारै सुधार देखिँदै जान्छ भने कुनैलाई चाहिँ अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ । अस्पतालका अनुसार एक पटक त यस्तो बालक भेटियो कि जो आफ्नो आमाबाबुसँग पनि आमने सामने कुरा गर्दैनथ्यो । मोबाईल मै मात्र कुरा गर्नुपर्ने । पछी त्यो बालक डिप्रेशनको शिकार नै भयो । 

यो समस्या वास्तवमै भन्नुपर्दा आमाबाबु कै कारण हुने गर्छ । अलिकती फुर्सद भयो कि आमाबाबु बालबालिकाको अगाडी मोबाईल चलाउने, आफैंले खाना खाँदा टीभी वा मोबाइल हेर्ने गरेपछि बालबालिकाले पनि त्यही सिक्दछन् । बालबालिको समय तालिका अनुसार खाना खुवाउनुको सट्टा आफ्नो समय तालिका अनुसार खाना खुवाउन खोज्दा बालबालिकाले खान नमानेपछी एकछिन पर्खेर वा फकाएर खुवाउनुको सट्टा कार्टून देखाउँदै खाना खुवाउँदा यो समस्याले जरो गाड्ने मौका पाउँछ । अझ आजकलका बालबालिका त टिकटक हेर्ने भईसकेका छन् । 

टिभी या मोबाईल धेरै हेर्ने बालबालिकाले दुई चारवटा बालगीत त मज्जाले गाउलान् तर उनीहरुमा अरु बालबालिकाभन्दा ढिलो बोल्न सुरु गर्ने , सुनेका कुरा मात्र बोल्ने, जिद्दी हुने, अरुसँग घुलमिल हुन नसक्ने, बढी वजन भएको, बाहिर खेल्न नरुचाउने, लेख्न पढनमा ध्यान दिन नसक्ने, निदाउन गाह्रो हुने, कम समय सुत्ने जस्ता समस्या देखिन्छन् ।

मैले बालबालिकालाई टिभी या मोबाईल देखाउँदै नदेखाउनुस् पनि भन्न खोजेको होईन । देखाउनुस् तर दुई वर्ष कटिसकेपछी मात्र । ताकी उनीहरुले बोलिचालिको भाषा सिकिसकुन् । शारिरिक र मानसिक रुपमा पर्याप्त बिकासइत भईसकुन् । त्यसपछी, दैनिक आधादेखी एक घण्टा समय दिनसक्नुहुन्छ टिभी र मोबाईलको लागी । त्यो पनि एकैचोटी होईन । थोरै थोरै गरेर दिनभरिमा । आमा या बाबु बालबालिकाबाट टाढा छन् भने चाहिँ सानै उमेरमा पनि थोरै समय भिडियो च्याटको लागी छुट दिन सकिन्छ ।

समय निकालेर बालबालिकासँग उनीहरु कै खेलौना खेल्ने, खाना खुवाउँदा टीभी वा मोबाइल नदेखाई आफैंले गीत गाउने, कविता–कथा भन्ने, कोठामा भएका विभिन्न सामान वा रंगीचंगी किताब देखाउने बानी गर्नुपर्छ । कुलतमा फसिसकेका बालबालिकालाई त्यसबाट बाहिर निकाल्न सजिलो त पक्कै छैन तर असम्भव पनि छैन । 

टीभी वा मोबाइलबाट बालबालिकाको ध्यान कसरी हटाउने ? 

  • बालबालिकाको अगाडि फोन आएको बेला बोल्न बाहेक अरु बेला मोबाइल प्रयोग नगर्ने । 
  • बालबालिकालाई खाना खुवाउँदा मोबाइल प्रयोग नगर्ने । भिडियो देखाएर खाना खुवाउने बानी छ भने विस्तारै कम गर्दै जाने ।
  • बालबालिकालाई टीभी वा मोबाइलमा गलत वा हिंसात्मक गतिविधि देखाउने कार्यक्रम हेर्न नदिने ।
  • बालबालिकालाई सुताउन मोबाइल नदेखाउने बरु गीत वा कथा सुनाउने ।
  • घरमै बसी मोबाइल टिभी देखाउनुभन्दा बाहिर घुमाउन लाने । बालबालिकालाई अरु मानिस, जनावर, चराचुरुंगीसँग प्रकृतिमा रमाउन, खेल्न मौका दिने ।
  • पठनपाठनका लागि ल्यापटप, मोबाइलभन्दा किताब-कापीको बढी प्रयोग गर्ने ।
  • बालबालिकालाई खेलकुद, संगीत र कला सिक्न गर्ने ।
  • बालबालिका स्कुलबाट आएपछि कुराकानी गरेर केही समय बिताउने । 
  • बालबलिकाले सजिलै लिन सक्ने ठाउँमा मोबाइल नराख्ने ।
  • बालबालिकालाई लेगो मिलाउने, बाजा बजाउने, रंग लगाउने, चित्र कोर्ने, माटोको घर बनाउने जस्ता क्रियाकलापमा बानी पार्ने  ।

बालबालिकालाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाएर हुर्काउने कि अस्वस्थ बनाएर समस्यामा पार्ने आफैँले निर्णय गरौं ।