काठमाडौं - सरकारले देशभरिका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने निर्णय गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) अभियान सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार १५ दिनसम्म सञ्चालन हुने अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने छ । किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्री पौडेललाई उद्धृत गर्दै डा बुढाथोकीले बताउनुभयो ।

यस्तै, मन्त्रालयले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप समावेश गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । 

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।  ‘एचपिभी’  खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को केही सहयोग र सरकारले पनि खरिदका लागि लगानी गरेको छ । 

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।