काठमाडौं - पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । 

भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिनुभयो । 

यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ मा नै हवाई सम्झौता भएको थियो ।

भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा समेत दिनुभयो । 

प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को अन्तर- संसदीयसभा उत्कृष्ट मञ्च भएको बताउनुभयो । उहाँले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने  बताउनुभयो । 

भेटलाई दुई देश बीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सेनसँग भेट गर्नुभएको छ । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिका बीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । 

यस्तै दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे समेत छलफल भएको सभामुखको घिमिरेको सचिवालयले जनाएको छ । 

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औँ पूर्ण सत्रलाई सम्बोधन गर्नुभयो।