काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसा रहित समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै  ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको अवसरमा हरेक सङ्घसंस्था, समाजका सबै ठाउँबाट लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ भनी सङ्कल्प गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अभियानको सफलताका निम्ति शुभकामना व्यक्त गर्दै समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरू गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ ।