काठमाडौं - कास्कीको अन्नपूर्ण गाउँपालिका- ७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ) लाई महोत्सवका रुपमा गरिने भएको छ ।
अन्नपूर्ण गाउँपालिका प्रवर्द्धक रहेको हनि हन्टिङ महोत्सव यही मङ्सिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको लान्द्रुकको महभिरमा एक सय वर्ष अघिदेखी परम्परागत रुपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताउनुभयो ।
लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भीरमा मौरीका घार रहेका छन् । भीरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्य वर्धक समेत मानिन्छ ।
कोटेसाङ भिरमा ६० मौरी घार छन् । भिरमौरीको मह प्रतिलिटर रु तीन हजारमा बिक्री हुने गरेकाले स्थानीयको आम्दानी पनि राम्रो हुने अध्यक्ष गुरुङले बताउनुभयो ।
मह काढेको अवलोकनका लागि आएका विदेशी पर्यटक भिर मह काढेको देखेर खुसी हुने र पर्यटकको बसाइँ समेत लम्बिएको स्थानीको भनाइ छ ।
0 comment