काठमाडौं - आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।
पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।
सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशत सम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउने उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने छन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरू परिचालित हुनेछन् ।
उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् ।
यो विद्यालय केन्द्रित खोप अभियान भएको र माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा रहेको पनि डा. गौतमले जानकारी दिनुभयो ।
0 comment