काठमाडौं - पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरूले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् । 

क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरुको संस्था ‘नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर नर्स एशोसिएसन अफ नेपाल’को आयोजनामा भएको कार्यशालामा उनीहरूले बृहत छलफल गरेका हुन् ।
 
सोसाइटीको छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन र एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरूले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । 

सोसाइटीका अध्यक्ष प्राडा शितल अधिकारीका अनुसार कार्यशालामा नेपाल सहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरूको सहभागिता रहेको थियो ।
 
कार्यशालामा ६५० प्रतिनिधि रहेको जनाउँदै अधिकारीले आयोजक सहित यो सङ्ख्या ७५० हाराहारी पुगेको बताउनुभयो । उनीहरूले शुक्रबार र शनिबार सौराहामा रहेर छलफल गरेका हुन्।
 
सोसाइटीका कार्यशाला संयोजन गर्नुभएका डा हेमराज पनेरुले दुई दिनमा ६० चिकित्सकको र ४० नर्सहरुका कार्यपत्र प्रस्तुत गरी ती कार्यपत्रमाथि छलफल गरिएको बताउनुभयो ।

पनेरुले छलफलका मा सरकारका तर्फबाट गर्नुपर्ने नीतिका बारेमा समेत सुझाव दिनसक्ने गरी निष्कर्ष तयार पारेको बताउनुभयो ।