परिक्षा कोइराला – आज उच्च रक्ताचाप विश्वका हरेक देशमा ठूलो समस्याको रुपमा देखा परेको छ। आज यो विकसित देशको मात्र समस्या रहेन, हाम्रो जस्तो देशमा पनि सर्वत्र यही समस्या भनिन्छ। यसमा सबै समयमै सतर्क हुनुपर्छ। उच्च रक्तचापलाई “अदृश्य हत्यारा” भनिन्छ। यसको शुरुको चरणमा बिरामीको कुनै लक्षण देखिदैन । यसले गर्दा परीक्षण उपचारमा दिलाई हुन्छ वा उपचार नै गरिदैन र यसले अन्त्यमा जटिलता उत्पन्न गर्छ जस्तो हृदय रोग, मस्तिष्क घात, मृगौला खराबी र यी रोगबाट मृत्यु समेत हुन सक्छ। यसका लागि हरेकले लगातार रुपमा रक्तचाप जचाउनु पर्छ।

मुटुको धडकनले शरीरभरि पम्प गर्छ। धमनीमा रगत पम्प गरिसकेपछि धमनीको भित्तामा पर्ने चापलाई रक्तचाप भनिन्छ। मुटु खुम्चिदा धमनीका भित्ताहरुमा पर्ने चापलाई सिस्टोलिक चाप वा माथिल्लो चाप भनिन्छ। मुटु फुक्दा धमनीका भित्ताहरुमा पर्ने चापलाई डायस्टोलिक चाप वा तल्लो चाप भनिन्छ। सामान्यतया मानिसहरुको रक्तचाप १२०/८० मी मी अफ मर्करीभन्दा कम भएमा राम्रो मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्ति विश्राम गरिरहेको बेला बारम्बार १४० (माथिल्लो चाप ) ओभर ९० (तल्लो चाप) एम एम एच जी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ।

चिकित्सकको भनाइ अनुसार उच्च रक्तचाप भएका विरामीमा लगभग आधाजसोलाई मात्र लक्षण देखा पर्दछन्, तर शुरुका अवस्थामा लक्षण नदेखिन सक्छन् । रोगका लक्षणहरु (टाउको दुख्नु, रिङ्टा लाग्नु, छाती गह्रौ हुनु,सास फेर्ने अफ्ठ्यारो हुनु, मुटु हल्लिएको अनुभव हुनु, नाकबाट रगत बग्नु,आखाले धमिलो देख्ने आदि हुन सक्छन् ।

साधारणतया प्रौढ उमेरमा रक्तचाप बढी हुने भए पनि अहिले कम उमेरमा पनि भइरहेको पाईन्छ। त्यसैले यसप्रति ध्यान दिन , सतर्क हुन जरुरी छ। यस्तै रक्त नालिहरु खुम्चिएमा, मृगौला आदिको समस्या भएमा देखिन सक्छ। यो वंशानुगत पनि हुन सक्छ। त्यस्तै मोटोपन, लामो समय सम्म नून अत्यधिक सेवन, आलस्य वा निष्क्रिय जीवन शैली अत्यधिक मात्रामा चिल्लो खानेकुरा र जंक फुडहरु सेवन जस्ता कारणले पनि रक्तचापको समस्या देखापर्छ।

बुझ्नै पर्ने कुराहरु उच्च रक्तचाप एक मन्द विष हो। यसलाई नियन्त्रण राख्न सकिएन भने यसले शरीरका विभिन्न अंग हरु असर गर्दछ। जस्तै मुटु , नशा , दिमाग, मृगौला, सुन्निने, हृदयघात हुने, रक्त संचालन कम हुने, हातखुट्टा झमझमाउने हुन्छ। यसका साथै रक्तनालिहरु फुट्ने, पक्षघात हुने, धमिलो देख्ने, अन्धो हुने हुन सक्छ। त्यसैले यसतर्फ ध्यान दिनु, सतर्क हुनु अति नै आवश्यक छ।

डाक्टरका अनुसार उच्च रक्तचापको नियन्त्रणका लागि वजन कम गर्ने , नियमित व्यायाम गर्ने, हिड्ने, हरियो सागसब्जी र फलफूल प्रशस्त खाने हो। चिल्लो तारेको खानेकुरा, रातो मासु, जंक फुडको प्रयोग हटाउनु पर्छ। जाड, रक्सी, चुरोट तथा खैनी नखाने। नुनको प्रयोग कम गर्ने , बेकिङ् पाउडर प्रयोग भएका खानेकुराहरु नखाने, र मानसिक रुपमा शान्त र स्फूर्त रहनु पर्छ। मुटुको धड्कनको गति बढाउने व्यायाम गर्नुपर्छ। औषधिहरु भन्दा यी व्यायमहरुले सजिलै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्ने स्विट्जरल्यान्डको बसेल विश्वविधालयका प्रा डा हेनर हन्सेनले बताएका छन्। डाक्टरको सल्लाह अनुसार मुटुको रोगबाट बच्न नियमित रुपमा ब्ल्ड प्रेसर जचाउने, छातीको एक्स (रे गर्ने , मुटुको एक्स रे (ईसीजी ) गर्ने , मुटुको चाल सम्बन्धि अध्ययन गर्ने वा टी एम टी परिक्षण गराउने ( रगतमा सुगर , क्रियाटिनिन, युरिया तथा कोलेस्टेरोल नियमित रुपमा परिक्षण गर्नुपर्छ।

स्मरणीय छ उच्च रक्तचाप मुटु तथा रक्तनली सम्बन्धि दीर्धकालीन रोग हो। मुटु हाम्रो शरीरको महत्वपूर्ण अंग हो। गर्भावस्थादेखि नै अनवरत रुपमा मानवको अस्तित्व रहे सम्म निरन्तर चल्ने मुटुलाई सानो सम्झनु हुन्न।नेपाल हृदय रोग निवारण प्रतिष्ठानले गर्ने उद्देश्य मध्ये जन चेतना जगाउने , रोग लग्न नदिनको लागि नै सक्रिय हुने गरिआएको तथ्य छ। यस मध्ये ब्लड प्रेसर उच्च रक्तचापलाई नियन्त्रणमा प्राथमिकता दिएको छ, जसबाट कसैलाई रोग नै नलागोस् लागेपनि सजिलै नियन्त्रण गर्न सकियोस् ।

लेखिका  : परिक्षा कोइराला