महिलामाथि उदाङ्गो रूपले घटि रहेका घटनाहरू दैनिक अखबारमा पढ्न पाइन्छ । घरमा, स्कूलमा, जङ्गलमा, मेला(पातमा अनि सैनिक सुरक्षाको घेरामा जताततै महिलाहरूलाई आफ्नो अस्मिता जोगाउन धौ-धौ परिरहेकै छ । कति त आफ्नो अस्मिता गुमाएर कुण्ठित हुँदा पनि नबोल्ने ढुङ्गाझैँ जडवत् भई बसेका छन् । पुरुष मानसिकता र पितृसत्तात्मक संरचनाका कारण महिला वर्ग सदाकाल प्रताडित भई नै रहनुपर्ने स्थिति छ ।
पुरुष पक्षबाट भएका गलत क्रियाकलापलाई समाजले ठूलो मुद्दा बनाउने गर्दैन । घरमा आफन्तबाट, बालिका छँदा हाडनाता पर्नेबाट, स्कुलजाने बालिका पढाउने गुरुहरूबाटै बलात्कृत हुन्छन् । हाम्रो समाज र अमानवीय चरित्रको पोल खोल्ने प्रयास ‘मिडियाले गरे पनि सुषुप्त अवस्थामा जीवित अमानवीयतालाई समाजले कडाइका साथ नदुत्कारेसम्म न्याय पक्ष लाचार बनिरहने कुरा सर्वसत्य छ ।
आपराधिक मनोवृत्तिबाट ग्रसित व्यक्तिहरू अपराध कर्म गर्न उत्साहित बनी नै रहन्छन् । महिलामाथि हुने विभिन्न किसिमका जघन्य अपराध रोक्न सरकारले कानुनको तर्जुमा गर्न सकेको छैन । भएका कानुन पनि व्यवहारमा कमै प्रयोग गरेका छन् । समाजमा महिलामाथि हुने दुव्र्यवहार हाम्रो समाजको हेर्ने दृष्टिकोणकै उपज हो । समाजमा जब व्यक्तिगत वा निजी सम्पत्तिको प्रचलन आयो, महिला माथिको निजीकरण पनि सुरु भयो, ‘जसको ली उसको भैंसी’ जस्ता टुक्काको प्रयोग हुन थाल्यो। पाषण युगको यो भनाई अहिले पनि उस्तै छ ।
शारीरिक बलको आडमा महिला र सम्पत्तिका लागि संसारमा जुन निन्दनीय युद्धहरू भए, यसको अवशेष अझै पुरुष मानसिकतामा विद्यमान छ । त्यसमा नारीको कुनै दोष छैन । केही इतिहासकारहरूले क्लियो पेटूाको नाकको सम्बन्धमा गरेको कटाक्ष पनि यहाँ सम्झन लायक छ । उनीहरूका अनुसार क्लियो पेट्राका नाक केही मात्रामा बाङ्गो हुन्थ्यो भने मानव इतिहासको मोड अर्कै हुन सक्थ्यो । यस्ता कुरूप संस्कारहरूको उपज हो पुरुष मानसिकता । अपराध हुनु र त्यसको निराकरणका लागि केही गर्न नसक्नुुमा, निर्माणका थलोका जग हालेर बस्नेले लाज मान्नुपर्छ । यस्ता अपराधहरू निराकरणका लागि दुई किसिमका बाटाहरू देखिन्छन् । प्रथमतः सुरक्षाको पहुँच सरकारले बलियो र प्रभावकारी बनाउनुपर्छ ।
अर्को आपराधिक क्रियाकलापमा लाग्नेहरू स्वयंलाई आत्मानुशासन र मानवतावादी दीक्षाद्वारा परिष्कृत पार्नु पर्छ । ग्रामीण भेगमा जहाँ शिक्षाको पहुँ्च पुग्न सकेको छैन । अशिक्षा, चेतनाको अभाव बुद्धि र विवेकको गरिबीले गर्दा राक्षसी उन्मादले मात्र वर्चस्व कायम गर्ने अवस्था छ । गाउँमा त झन् सुरक्षाकर्मी लगायत सबै क्षेत्रका लोग्ने मान्छेहरूले महिलालाई कष्टकर जिन्दगी बाँच्न बाध्य पारीरहेको अवस्था छ । ‘जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता रम्छ’ भन्ने हाम्रो शाश्वत मान्यतालाई चुनौती दिने यस्ता घटनाहरूप्रति राज्य र समाज दुवैको ध्यानाकर्षण हुनुपर्छ । अन्यथा समाज फेरि पोषण युगमा फर्कने छ र जङ्गली युगमा धकेलिने छ ।
वास्तविक जीवनमा दैनिक सुन्नुपर्ने, भोग्नुपर्ने घटना दुर्घटनाले साहित्य, सङ्गीत र दोहोरीमा पनि प्रभाव पार्छ । गीतमा प्रयोग हुने ससुरालीमा जाँदा सबै साली पछि लागे, श्रीमती ल्याउँदा जेठी, माहिली, साहिँली, कान्छी भनेर वस्तु र सामान उठाए जस्तै उठाएर ल्याउन मिल्ने, भोग्न मिल्ने, आदि सस्ता शब्दको प्रयोग गरेको पाइन्छ, अनि यस्ता गीतहरू सुनेर पछि लाग्ने आफ्नै आमा, दिदी, बहिनीलाई तल्लोस्तरको बनाइदिने र व्यापक रूपमा महिला समूदायलाई होच्याउने गीत रचना गर्ने र सङ्गीत भरेर बजाउने जुन प्रचलन छ त्यो बन्द हुनुपर्छ । यसका साथै, धार्मिक रूपमा विवाहमा गरिने कन्यादान शब्दको प्रचलन भेदभाव पूर्ण रुपमा बन्द हुनुपर्छ । गलत कामहरु सच्याउँदै लानुपर्छ । धर्मशास्त्रको गलत व्याख्या भएको छ भने त त्यसलाई समय सापेक्ष सुधार गर्दै लानु विद्वत् समाजको दायित्व पनि त हो ।
सामाजिक र साहित्यिक पक्ष बिग्रेको सुधार्न आर्थिक पक्षलाई पनि ध्यान दिनुपर्छ । पैतृक सम्पत्तीमा बराबरीको हैसियत प्रदान गर्नका लागि कानूनमै सुधार गरेर सही अर्थमा लागु गर्न आवश्यक छ भन्ने कुरा स्वीकार गरिसकिएको छ । साहित्य समाजको दर्पण हो भने त्यसमा सही ऐनाको चयन गर्नुपर्छ, ताकि सही तस्बिर प्रतिबिम्बित हुन सकोस् । त्यस्तै कानूनले पनि सही मानेमा समानताको हदमा रहेर न्याय प्रदान गरोस् । धर्म पनि त्यस्तो होस्, जो सूर्यको प्रकाशले गरीब, धनी, सानो-ठूलो, वर्ण, जाती वा लिङ्गको आधारमा फरक नगरी समान प्रकाश प्रदान गर्दछ । त्यस्तै राजनीतिमा पनि त्यो कुहिएको अरस्तुको परिभाषा लागु नगरियोस् ।
जो उसले भनेको थियो कि ‘राजनीति पुरुषको भागको चामल हो’, जसको भनाइले आफ्नै सन्तति ठगिन्छ, आजको समाज अपाङ्ग बन्न जान्छ । सबल र शोषणरहित आदर्श समाजको परिकल्पना आजको दर्पण हो ।


0 comment