काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने बताएका छन।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले प्रकरणमा सबै राजनीतिक दलका नेता मुछिएकाले छानबिनका लागि संसदीय विशेष समिति बनाउनुपर्ने बताएका हुन्।
'ज-जसको नाम आएको छ उनीहरूको निष्पक्ष छानबिनका लागि विशेष समिति बनाउनुपर्छ। विश्वासको वातावरण बन्द भएको छ। जुनजुन निकायहरू यसमा लागिपरेका छन्। कसैको पनि विश्वास गर्ने वातावरण छैन। जसजसको नाम आएको छ तिनलाई छानबिनको दायरमा ल्याउन नहुने, सोधपुछ पनि गर्न नहुने गरी किन डराएको हो, 'उनले भने।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले खुट्टा नकमाउने बताएको भएपनि अहिले नाम मुछिएकाहरूसँग सोधपुछ गर्न समेत डराएको आरोप लगाए।
उनले भने,' गृहमन्त्रीले मुटु दरो छ भन्न भएको थियो। प्रधानमन्त्रीले मुटु दरो छ भन्नु भएको छ । उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने ? उहाँहरूको मुटु कति दरो छ भन्ने कुरा हामीले देखेका छौं। यसकारणले हरेक नाम आएका मानिसहरूलाई सोधपुछ हुनुपर्यो। उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्यो । खुट्टा कमाउनु भएन।'
भ्रष्टाचारका विषयलाई लिएर आफूहरूले बारम्बार कुरा उठाइरहेको भन्दै उनले तीन राजनीतिक दलहरुबीच भएको छलफलमा आशंका व्यक्त गरे।
'कुनै राजनीतिक दल बाँकी रहेको छैन। जसलाई आरोप लाग्न बाँकी रहेको छ। त्यतिमात्रै होइन राज्यका निकायहरूको यसरी नाम आइरहेको छ अनुसन्धान गर्ने अधिकारीहरूको नाम आइरहेको छ। यस्तो अवस्थामा यो कुनै अँध्यारो कोठामा कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिउँसो दिनदहाड दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंह दरबारमा लेनदेन भएको विषय आइरहेका छन्। यहाँ मुछिएका मान्छेहरुमा यो राज्यमा कसलाई विश्वस गर्ने। ?
उनले यो प्रकरणमा अडियो दिएकाहरूलाई समेत सोधपुछका लागि नबोलाएको भन्दै आक्रोश व्यक्त गरे। भने,' अडियो आएका छन्। तर उनीहरूलाई सोधपुछका लागि बोलाइएको छैन। यो छानबिनले नेपाली जनताले चाहेको नतिजा दिन सक्दैन। त्यसैले संसदले विशेष समिति बनाउन माग गर्दछु।'
त्यसैगरी, नेपाली कांग्रेसका सांसद् गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्पक्षतवरबाट टुङ्गोमा पुर्यानुपर्ने बताएका छन्।
थापाले भने, ‘राज्यविरुद्धको अपराधमा निष्पक्ष छानविन हुनुपर्छ । चाहे त्यो घरको मान्छे होस् चाहे बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् चाहे त्यो नातेदार होस् । एक जना पनि मान्छे छुट्नु हुँदैन । दूधको दूध पानीको पानी छुट्याउनुपर्छ । नेपाली नागरिकले चाहेको कुरा यही हो ।’
एकपछि अर्को गर्दै सबै तानिंदै जाने अवस्था आउनुले लाज पनि लजाएको बताए । थापाले भने, ‘अनुसन्धान कसरी भइरहेको छ । सबै जनाले हेरिरहेका छन् । चाहे घर होस् चाहे बार्दलीको होस् । नेता होस् कि नाता होस् । सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन । ससरकारले गरेको अनुसन्धान फेयर हुनुपर्छ । नत्र अवश्य प्रश्न उठ्छ ।’
त्यस्तै, नेकपा एमालेका सांसद रघुवीर महासेठले भुटानी शरणार्थी प्रकरणमा तीन पार्टीले बालुवाटारमा बसेर मिलाउने गरी छलफल गरिरहेको भन्ने कुरा निराधार भएको बताए।
उनले भने,'उहाँ तीन पार्टी को हुन् उहाँहरूले बोल्नु त भएन । तर म भन्न चाहन्छु यस्ता साथीहरूलाई तीन पार्टी होइन। रातिको समयमा तपाईहरू पनि आफू बच्न बालुवाटार गएर कसरी म्याउँम्याउँ गर्नु भएको थियो। त्यो पनि हामीले बुझेका छौं।'
नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन पार्टीलाई दोष देखाएर कोही निर्दोष नहुने उनको भनाइ छ। उनले भने,' अरूलाई आलोचना देखाएर आफू स्थापित हुन्छु भन्ने नसोचे हुन्छ।' नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्ना नेताहरूलाई छुटाउन नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेको विषय बाहिरिएको थियो।
0 comment