काठमाडौं - पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाईको माग गर्दै प्रदर्शनको एउटा टोली राजधानी इस्लामावाद प्रवेश गरेको छ ।
अधिकारीहरूले रेड जोनको रूपमा घोषणा गरेको शहरको एक भागमा प्रवेश गर्ने क्रममा सशस्त्र बलले अश्रुग्यास प्रहार गरिरहेको समाचार छ । प्रदर्शनकारीहरू डी चोकबाट करिब ६ किलोमिटर टाढा फैजल एभिन्यूमा पुगेको पीटीआईका एक नेताले बताएका छन् ।
डी चोक इस्लामाबादको सरकारी भवन,सर्वोच्च अदालत र संसद नजिकैको एक प्रमुख बिन्दु हो।
गृहमन्त्री मोहसिन नकवीले डी चोकसम्म पुग्ने प्रदर्शनकारीलाई दण्डित गरिने चेतावनी दिँदै आएका छन् । संसद भवन र अन्य महत्त्वपूर्ण सरकारी भवनहरूलाई रेड जोन घोषणा गरिएको छ ।
खानले आफ्ना समर्थकहरूलाई अन्तिम विरोध प्रदर्शनको आह्वान गरेपछि यो प्रदर्शन गरिएको हो । सरकारले उनीहरूको मागहरू सम्बोधन नगरेसम्म राजधानीमा रहन पनि खानले आह्वान गरेका छन्।
खान भ्रष्टाचारको अभियोगमा तीन वर्षको जेल सजाय काटिरहेका छन् । इस्लामाबादमा लकडाउन गरिएको छ । राजमार्गहरू अवरुद्ध गरेका छन् र केही क्षेत्रहरूमा मोबाइल र इन्टरनेट सेवाहरू निलम्बन गरेका गरिएको छ ।
आइतबारदेखि सुरु भएको प्रदर्शनमा प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।खानकी पत्नी बुशरा बीबी पनि र्यालीको नेतृत्व गर्ने मध्येकी एक हुन् ।
0 comment