काठमाडौं - बागमती प्रदेश सरकार गठनका लागि नेकपा एमालेका किरण थापालाई समर्थन गर्ने विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद चर्किएको छ। राप्रपा बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले एमालेका मुख्यमन्त्री उम्मेदवारलाई समर्थन गरेको हस्ताक्षर सार्वजनिक भएपछि पार्टी नेतृत्वले उक्त कदमलाई अनुशासन उल्लंघन भनेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पार्टी निर्णयविपरीत एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसदहरूमाथि अनुशासनको कारबाही हुने बताएका छन्। उनले बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारे।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सरकार गठनमा राप्रपाको समर्थन नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार गत साउन २० गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपा सरकार निर्माणको कुनै पनि गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको थियो।
पार्टीको निर्देशनविपरीत संसदीय दलका नेताले प्रदेश सरकार निर्माणका लागि समर्थन दिएको भन्दै श्रेष्ठले त्यसलाई गम्भीर अनुशासन उल्लंघन भएको बताएका छन्।
यता, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले भने आफूले पार्टीकै हितमा एमालेका मुख्यमन्त्रीका प्रस्तावकलाई समर्थन गरेको दाबी गरेका छन्। एमालेका किरण थापाले एमाले, नेकपा र राप्रपासहितको समर्थन रहेको दाबी गर्दै मुख्यमन्त्रीमा दाबी पेस गरेपछि राप्रपाभित्रको विवाद सतहमा आएको हो।बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन्।


0 comment