काठमाडौं - नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मुलुकमा देखिएका गम्भीर समस्यामा लागि राजनीतिक पहलकदमी चाल्न रास्वपा सभापति रवि लामिछानेलाई सुझाव दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा नेता थापाले मुलुकमा देखिएका गम्भीर समस्या तथा जनसरोकारका विषय समाधानका लागि विभिन्न विकल्प प्रस्तुत गर्दै सत्तारूढ दलका सभापतिले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतमा जिम्मेवारी लिनुपर्ने र प्रधानमन्त्रीसहित सिङ्गो सरकारको पुनर्गठनका लागि अविलम्ब राजनीतिक पहलकदमी चाल्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री तत्काल राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पुनस्र्थापनाको मार्गमा फर्किनुपर्ने र जनता र संसद्प्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने विकल्प समेत प्रस्तुत गरे । नागरिकहरूले भोग्नुपरेको हत्या, आत्महत्या, आत्मदाह, झुट्टा मुद्दा, गैरकानुनी गिरफ्तारी तथा राज्य आतंकको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने र सरकार सङ्ख्या र राज्यशक्तिको दम्भमा नभई संविधान, ऐन र कानुनको परिधिभित्र रहेर चल्नुपर्ने उनले बताए ।

त्यस्तै उनले जनचाहनाको सम्बोधन गर्न सभामुखले संसद्मा अविलम्ब स्पष्ट रुलिङ गर्नुपर्ने र सभामुख कुनै अमूक दल वा पक्षको नभई निष्पक्ष निर्देशक तथा संसद्को अभिभावक बन्नुपर्ने बताए। आफूले अघि सारेका विकल्प कार्यान्वयन नभए मुलुकमा चौतर्फी आन्दोलन उठ्ने समेत उनले बताए ।