काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋण सम्बन्धी सम्झौता नहुने बताउनुभएको छ ।

चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सकिने भन्दै ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा नलाग्न आग्रह समेत गर्नुभयो ।

चीनसँग नेपालको लामो र मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको जानकारी गराउनुभयो ।

भ्रमणमा विश्व शान्ति र नेपालको हितमा बाहेक अरू कुनै काम नगर्ने भन्दै सबैलाई ढुक्क हुन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

उहाँले चीन भ्रमणमा विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट पार्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेन्डाका विषयमा गृहकार्य भइरहेको र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिम रूप दिने बताउनुभयो ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याल लगायत सहभागी हुनुहुन्थ्यो ।