जाडो यामको तुलनामा गर्मी याममा पसिना बढी आउँछ । कसैलाई जाडोमा पनि धेरै पसिना आउने समस्या हुनसक्छ । पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । हामी भेटघाटमा कसैलाई सोध्दा के छ खबर भन्छौ ? तर अफ्रिकी मुलुकहरुका युवाहरु भने भेटमा एक अर्कालाई कति पसिना निकालिस् ? भनेर सोध्छन् । गर्मी ठाउँ भएपनि उनीहरु अझ धेरै पसिना निकाल्न कठोर श्रम गर्छन् । सायद यही कारण होला अफ्रिकीहरु अरु भेगका मानिसभन्दा बढी तागतवार समेत हुने गर्छन् । रेस्लिङ, फुटबल, दौड जस्ता खेलकुदका क्षेत्रमा उनीहरु कै वर्चस्व छ । 

पसिना आउनु प्राकृतिक गुण हो । मानिसहरुमा मात्र होइन धेरै जनवारहरु र कतिपय बोट विरुवामा समेत पसिना आउँछ । शरीरको आन्तरिक फोहोर पसिनाका माध्यमबाट बाहिर आउँछ र मनुष्य स्वस्थ हुने गर्छ । तर लगातार शरीर निथु्रक्क भिज्ने गरी पसिना आउनुलाई भने राम्रो मानिँदैन । चिकित्सा विज्ञानले यस्तो हुनुलाई दीर्घ रोगको संकेतका रुपमा लिने गर्छ । शरीरबाट फोहोर पदार्थ पसिनाबाट बाहिर आउने भएका कारण मानिस गम्भीर विरामी हुनबाट बच्ने समेत चिकित्सा विज्ञानको दावी छ । कडा शारीरिक कसरत गरेर मोटा मानिसहरुले पसिना बाहिर निकालेर बोसोको मात्रालाई घटाउने गर्छन् । हाम्रो शरीरमा बिसौं लाख रौं छिद्रहरु हुन्छन् र तिनै छिद्रबाट पसिना बाहिर आउँछ । 

पसिनाको विशेषता हो यो अम्लीय हुन्छ । खासमा यो गन्धरहित हुन्छ । भन्नु होला, त्यसो भए पसिनाले शरीर किन गन्हाउँछ ? 

शरीरबाट निस्केको पसिना कतिपय अवस्थामा उडेर जाँदैन र शरीरमा बसिरहन्छ । अनि त्यसमा शरीरमा भएका व्याकटेरियाहरु टाँसिन्छन् । त्यहाँ रासायनिक प्रतिक्रिया हुन्छ र पसिना दुर्गन्धित हुन जान्छ । पसिनाको दुर्गन्धबाट जोगिन सबैभन्दा उत्तम उपाय फिटकिरीको प्रयोग हो । फिटकिरी बहुउपयोगी पत्थर मानिन्छ । हाम्रा बाउ बाजेको सेभिङ किटमा फिटकिरी अनिवार्य रहेको हुन्थ्यो । उनीहरु सेभिङपछि अनुहारमा त्यसको प्रयोग गर्थे, फिटकिरी एन्टिसेप्टिक पत्थर हो । अहिले यसको उपयोग सौन्दर्यका लागि पनि गर्न थालिएको छ । अनुहारको चाउरीपन र आँखा वरिपरिको ‘डार्क सर्कल’ हटाउनका लागि यो ‘म्याजिक मार्वल’ कारगर हुने प्रयोगले सावित गरिसकेको छ । फिटकरीको चुर्ण पानीमा घोलेर नुहाउन सकिन्छ । नुहाएर चिसै शरीरमा फिटकीरी दल्न पनि सकिन्छ । यसले पसिनाको दुर्गन्धलाई हटाईदिन्छ । यसका अतिरिक्त कागती पानीले नुहाउँदा पनि गन्त्र धेरै मात्रामा कम हुन्छ । दिनहँु सावुनले नुहाउने र पछि शरीरमा पाउडर लगाउनाले पनि समस्या दुर हुन्छ । कतिपयले शरीरिक दुर्गन्ध रोक्न डिओडिरेन्टको पनि प्रयोग गर्छन् । यो सावुनको रुपमा पनि पाइन्छ । तर यसको प्रयोग शरीरका लागि लाभप्रद भने मानिँदैन । डिओडिरेन्टमा एक प्रकारको वासना हुने भएकोले पसिनाको गन्धलाई छोपिदिन्छ । यसको प्रयोग नुहाएर तुरुन्त गर्न सकिन्छ । शरीरको जुन जुन भागमा बढी पसिना आउँछ ती ठाउँमा यसलाई लगाउन सकिन्छ । 

डिओडिरेन्टको अलावा एन्टिपर्सपिरेन्ट पनि बजारमा उपलब्ध छ । यसको प्रयोगले व्याकटेरियालाई रोक्ने मात्र होइन यसले पसिनालाई बाहिरी सतहमा आउनबाट रोक्छ । जुन मानिसमा पसिनाको समस्या छ, तिनका लागि एन्टिपर्सपिरेन्ट वरदान सावित हुनसक्छ । नुहाएर शरीर सुकेपछि यसको प्रयोग गर्नुपर्छ । यसको असर एक दुई दिनसम्म रहनसक्छ । कसैकसैलाई यसले एलर्जी हुने हुँदा थोरै ठाउँमा मात्र लगाएर एलर्जी हुने नहुने परीक्षण गर्न सकिन्छ । यदि असर नदेखिए शरीरका अन्य सबै भागमा प्रयोग गर्न सकिन्छ । 

गर्मीमा पसिनाबाट बच्न कपडामा पनि त्यत्तिकै ध्यान दिन जरुरी हुन्छ । हल्का सुतीका कपडाहरु लगाउँदा पसिना सोस्छ । घाममा अक्सर काला रंगका कपडाहरु लगाउँदा अझ बढी पसिना आउने समस्या हुन्छ । कालो रंंगले सूर्यको किरणलाई परावर्तन गर्न सक्दैन बरु ग्रहण गर्छ । कालो रंगका कपडा लगाउँदा बढी गर्मी अनुभव हुन्छ, पसिना झन् बढी आउँछ । तसर्थ सेतो रंगका सुतीका कपडाहरु लगाउनु बेस मानिन्छ । सेता सुतीका कपडाले पसिना सोस्छ र शरीरमा शितलता प्रदान गर्छ । जाडोमा अत्यधिक बाक्ला कपडा लगाएर श्रम गर्दा पनि पसिना आउँछ । गर्मी मौसमको तुलनामा जाडो याममा अति नै कम पसिना आउँछ । चिसो जति बढ्यो त्यति पसिना निस्कन सक्दैन । जाडोमा पानी कम पिईने भएकाले पनि पसिना नआएको हो । गर्मीमा शरीर ‘डिहाइड्रेट’ हुन्छ र तिर्खा लाग्छ । यस्तो मौसममा पानी बढी पिउनु पर्छ र शरीरलाई ‘हाइड्रेट’ राख्नु पर्छ । अनि पसिना बढी आउँछ । पसिना आउनु सामान्य प्राकृतिक नियम हो  । शरीरमा लगातार खलखली पसिना आइरहने समस्या भए चाहीँ सतर्कता अपनाउँदै चिकित्सकको सल्लाह लिनु उपयुक्त मानिन्छ ।