काठमाडौं - देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा भएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा. अभियान गौतमले जिल्लाका दुई वर्षमुनिका शतप्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताउनुभयो ।
नेपालमा पहिलोपटक अछाम र पाल्पा पूर्ण खोप जिल्ला घोषित भएका थिए ।
जन्मेदेखि बालबालिकालाई १५ महिनासम्म विभिन्न खोपका १८ मात्रा दिने गरिन्छ ती खोप सबै बालबालिकाले पाएपछि सबै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो । सरकारले जन्मिनेबित्तिकै क्षयरोग विरुद्धको बिसिजी खोप लगाउने गर्दछ ।
यस्तै, छ हप्ता र १० हप्तामा दुईपटक रोटा भाइरस, पोलियो भाइरस, निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस- बी इन्फ्लुएन्जा- बी लगायतका रोगविरुद्ध क्रमशः रोटा, पोलियो, पिसिभि, डिपिटी र हेप बी- हिब खोप लगाउने गरिन्छ ।
चौध हप्तामा पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस- बी इन्फ्एन्जा- बी विरुद्धका खोप क्रमशः पोलियो विरुद्धको खोप, एचआइपिभी, डिपिटी र हेप बी- हिब खोप लगाउने गरिन्छ ।
नौ महिनामा पोलियो, दादुरा र रुबेला तथा निमोनिया विरुद्धको खोप क्रमशः एफआइपिभी, दादुरा तथा रुबेला विरुद्धको खोप र पिसिसी खोप तथा १२ महिनामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप तथा १५ महिनामा दादुरा र रुबेला तथा टाइफाइड विरुद्धको खोप दिने गरिन्छ ।
खोप शाखा प्रमुख गौतमले शिशुलाई जन्मेदेखि १५ महिनासम्म दिइन नसकेको खोप १६ महिनादेखि २३ महिनाभित्र दिइने बताउनुभयो ।
सबै जिल्ला पूर्ण खोप घोषित गरे पनि जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अझै पनि १२ देखि २३ महिनासम्ममा चार प्रतिशत बालबालिकाले कुनै खोप नपाएको उल्लेख गरिएको छ ।
उहाँले १६ देखि २३ महिनासम्म पनि खोप नलगाएका बालबालिकालाई पाँच वर्षसम्म पनि खोप लगाइने बताउनुभयो ।
0 comment