काठमाडौं - अमेरिकी रक्षा मन्त्रालयका युक्रेन युद्धसम्बन्धी झण्डै १०० अतिगोप्य एवम् संवेदनशील दस्तावेज लिक गरेको अभियोगमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् ।
इन्टरनेटको माध्यमबाट दस्तावेज लिक गरेको आरोपमा मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको हो ।
लिक गरिएको दस्तावेजबाट वासिङ्टनदेखि किभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ। ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उनका सहयोगीबीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट लिक भएका थिए। युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकाको सहयोग, बेलायत र दक्षिण कोरियालगायत युरोपका केही मुलुकको युक्रेन युद्धप्रतिको दृष्टिकोणलगायत गुप्तचर निकायका विश्लेषण ज्याकले लिक गरेको आरोप छ।
अमेरिकी रक्षा मन्त्रालयले जानाजान गोप्य सूचना चुहाइएको बताउँदै अभियुक्तलाई फौजदारी अभियोग लगाइने बताएको छ। सङ्घीय जाँच ब्यूरोका अधिकारीहरूले ज्याकमाथि अनुसन्धान थालिएको बताएका छन् भने महान्याधीवक्ता मेरिक गारल्याण्डले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य एवम् संवेदनशील दस्तावेज लिक गरेको आरोपमा मुद्दा दायर गरिने बताएका छन्। अधिकारीहरूका अनुसार उनलाई आजै अदालतमा उपस्थित गराइने सम्भावना छ।
यसैबीच, आयरलाण्डको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक भएका रक्षा मन्त्रालयका गोप्य दस्ताबेजले गम्भीर परिणाम ननिम्त्याउने बताएका छन्। गोप्य एवम् संवेदनशील सरकारी कागतपत्र सार्वजनिक भएपछि पहिलोपटक प्रतिक्रिया दिँदै उनले लिक भएका दस्तावेजमा समसामयिक विषयमात्र भएकाले त्यसको असर खासै नपार्ने बताए।
दस्तावेजका विषयवस्तुबारे आफूलाई जानकारी भएको बताउँदै उनले तिनमा भयानक परिणाम निम्त्याउने विषयवस्तु नभएको बताए।
0 comment