- कथा
– राजन पराजुली
“छोरी ए छोरी”
मंसीरको महिना रिताको घरमा आमाले रितालाई बोलाउदै थिईन । रिता आफ्नो कोठामा किताब फिजार पढेको जस्तै गर्दै थिईनन् । “किन आमा” रिताले चर्को स्वरमा आमालाई सोध्छे । “छिटो कपाल कोरेर नया लुगा लगाएर चिटिक्क परेर बस त” छोरी रिताको नजिक आएर आमाले भन्छिन । “हि किन हो र ! म एतिकै चिटिक्क छु ।” झेउ लागेको जस्तै गरि रिताले आमालाई भनि रहन्छे । “तलाई हेर्न केटा आउदै छ चुपचाप मैले भनेको जस्तै गर त !” यस पटक भने आमा रिसाए झै गरि छोरी रितालाई कराउछिन ।
“ह्या मैले अहीले बिबहा गर्दिन के आमा कत्ती धेरै पढ्नु छ ।” रिताले मुख बिगार्दै आफ्नो गुनासो पोख्छे । “चुप लाग पढेर पो के गर्ने हो र ! मैले पनि पढेको नै हु अहीले तिमीहरुलाई हेरेर बस्नु पर्या छ, तेरो साथी सबैको विवाह भै सक्यो अब समाजले के भन्छ हुर्के बढेकी चेलिलाई घरमा तेसै राख्दा ह ! अनि पल्ला घरे साईली दिदीको छोरीले डिग्री पास गरेकी होईन ? ल हेर त विवाह पछी घरमा लोग्नेलाई भात पकाउने,भाडा मान्झ्नी बाहेक अरू के नै भो गरेकी छ र ! उसले खुरूक्क मैले भनेको मान अहीले तेरो बुबा कराउनु हुन्छ बेकारमा । केटा राम्रो छ,पढेको छ तलाई सुख सँग पाल्छ ।” आमाले रितालाई हेर्दै सम्झाए जस्तै गर्छिन । “मेरो कुरो कस्ले पो सुन्छ र !
म धेरै भए हुम्ला नि तपाईहरूलाई तेही भएर घरबाट खेदाउन लाग्नु भएको ।” रिताले आफ्नो वरपर रहेको किताब पर पर फ्याग्दै आमा सँग झर्किन्छे । “छोरीको जात एक न एक दिन आर्काको घर जानै पर्छ हेर उमेर पनि भाछ केटा पनि राम्रो छ एउटै छोरो रे अरू सन्तान पनि छैनन् तलाई नराम्रो परिवारमा बुबाले कहा पार्नु हुन्छ र ।” फेरि आमाले रिताको कपाल सुम्सुमाउदै सम्झाउनु हुन्छ । “लक्ष्मी ए लक्ष्मी रिता तयार भईन अझै एता आईज त पाहुनाहरू आउनु भाछ पानी,चिया लिएर आईज ।” तल कोठा बाट रिताको बुबाले चिच्याउदै हुनु हुन्थ्यो । रिताले आफ्नो मन बुझाउदै कपाल कोरि च्याट पर्छे । “नमस्कार हजुर सबै आराम हुनु हुन्छ नि ?” रिताको आमाले घरमा आएका पाहुनालाई स्वागत गर्छिन । रिताको भाई सानो नै छ एउटा छोरी अनि एउटा छोरो दुई सन्तान मात्र छन ।
“दिदी दिदी हजुरले मलाई छोडेर जान लाग्नु भा हो ?” भाई कृष्णले रितालाई रुन्चे स्वरमा सोध्छ । “हैन नि वावु त मेरो मृटुमा रहन्छस म जता गए पनि तलाई सँगसँगै लिएर हिड्छु नि ।” रिताले भाईलाई काखमा च्याप्छे। “छोरी तल आईज त” भान्सा बाट आमाले रितालाई बोलाउछिन । रातो कुर्ता सुरुवाल,गुलाबी लिबिस्टीक स्टेट गरेको कपाल साच्चै स्वर्ग बाट भर्खर झरेकी परि जस्तै देखिएकी थिई रिता । राम्रो परिवारमा जन्मिएकी अनि राम्रो संस्कार पाएर हुर्कीएकी थिई रिता त्यसैले पनि होला हतपत उसलाई कसैले आँखा लगाउन सक्दैन थिए कोही केटा सँग ऊ आफै पनि बोल्दैन थिई । रिताले हातमा चिया लिएर केटा भएको कोठा पुग्छे ।
ऊ लाजले हो अथवा डरले अनुहार रातो बनाई रहेकी थिई । उसको अनुहार बाट रगत झर्ला जस्तै भएको थियो । केटाले रिताको अनुहार हेर्दै चियाको गिलास लिन्छ, अनि मुसुक्क हास्छ । रिता भने लाजले भुतुक्क हुन्छे । केटाको बुबा अनि रिताको बुबाले चर्को चर्को स्वरमा गफगाफ गर्छन। “अ नि बाबु हाम्रो छोरी कस्तो लाग्यो त ?” रिताको बुबाले सोध्छन । “सुन्दर छिन मन पर्यो ।” केटा सुवासको कुरो सुनेर सबै जना खुसीले हास्छन । “दाईजो हामिले केही दिन सक्दैनौ नि हेर्नु” रिताकी आमाले सुवासको अनुहार हेर्दै भन्छिन । “तपाई की छोरी नै दाईजो हुन हाम्रो लागि त ” सुवासले मुसुक्क हास्दै भन्छ । “केटा केटीलाई एकछिन एकान्तमा छोड्दिम न त” सुवासको बुबाले भन्छन । रिता र सुवास एकान्त ठाउँमा गएर गफगाफ गर्छन । पहिलो पटक सुवास केटी हेर्न गएको थियो अनि रिता पनि पहिलो चोटी अन्जान केटा सँग बोल्दै थिई दुबै लाजले आफ्नो शिर निहुराउदै थिए ।
“हजुरको नाम ?” सुवासको मसिनो बोलिले रिता झस्किए झै गर्छे । “रिता अनि हजुरको नि !” “मेरो चाई सुवास , अनि ब्बाईफेन छ कि नाई ? बिबहा गर्ने ईच्छा छ कि नाई ! म कस्तो लाग्यो ?” सुवासको लगातारको प्रश्नले रिताको अनुहार रातो हुन्छ । “नाई छैन,आमाबाले भनेपछी गर्नै पर्यो,राम्रो हुनु हुन्छ ।” रिताले मसिनो स्वरमा उत्तर फर्काई दिन्छे । सुवास र रिता घटौ कुरा गरेर सबै भएको ठाउँमा आई पुग्छन । केटा केटी दुबैको मन मिल्छ दुबैका परिवार पनि विवाह गर्न राजी हुन्छन । त्यसै दिन नजिकै रहेका पंनितलाई बोलाएर विवाहको दिन जुराउछन । सुवास खुसी हुदै थियो सायद सुन्दर युवती लाई उसले आफ्नो पत्नी बनाउन लागेको भएर हुनु पर्छ । रिता भने अनुहार कालो बनाएर बसि रहेकि थिई । आफ्नो जन्म घर आमाबा अनि समाज छोडेर नया घरमा जान लागेको भएर हुनुपर्छ । “लौ मंसिर दोस्रो हप्ता १३ गतेलाई विवाहको साईत जुरेको छ है ।” पंनितले चश्मा मिलाउदै सुनाउछन । “आज चार गते अब विवाहको दिन आउन सात आठ दिन बाकि रैछ त्यसै दिनलाई फिक्स गर्ने त होला नि हुनेवाला संम्धि ज्यु हाहाहा ।” मिठो मुस्कान दिदै रिताको बुबाले सुवासको बुबालाई सोध्छन । “हस हुन्छ त्यसै दिन लाई फिक्स गरौ” सुवासको बुबाले पनि उत्तर फर्काउछन ।
रिताको बिहे पुरै रूपले फिक्स भैसकेको थियो । दुबैका परिवार एकदम धेरै खुसी थिए । विवाहको तयारी रिताको घरमा धुमधामले अगाडि बड्छ । आफन्त,ईष्ट मित्र, छर छिमेकी सबैलाई विवाहको निमन्त्रणा रिताको बुबाले पठाउछन । रिताले पनि आफ्नो साथीहरूलाई निम्तो पठाउछे । केटाकेटी दुबैका परिवार मिलेर लुगा,गरगहना सम्पूर्ण चिजबिज बजारमा किनमेल गर्छन । रिताको घरमा पूरै विवाहको चहलपहल चलि रहेको थियो । कोही टेन्ट टाग्दै थिए, कोही गेट बनाउदै थिए, कोही विवाह मण्डप निर्माण गर्दै थिए । रिता आफ्नो कोठामा अनुहार झोक्राएर बसि रहेकी थिई । “ओ ई तैले त भिनाजु पाईस है भिनाजु पाएपछी हामि लाई नबिर्सीनी फेरी !” रिताका साथीहरूले हाँस्दै उसलाई जिस्काउछन । “हि तिमीहरू नजिस्काउन आफुलाई यहा चिन्ता परि रहेको छ ।” रिताले रुन्चे स्वरमा साथीहरूलाई भन्छे । विवाहको अगिल्लो रात रितालाई उसका साथीहरूले हातभर मेहेंदीले सजाई दिन्छन, कपाल च्याट्ट पारि दिन्छन । रिताका आमाबा घरमा आएका पाहुनाहरू सँग गफगाफ गर्न व्यस्त हुन्छन । “छोरी रिता अल्ली चाडो सुत है भोली विवाहको दिन बिहानै उठ्नु पर्छ फेरी ।” रिताकी आमाले तलबाट चिच्याउदै थिईन ।
बिहानै ठूलो स्वरमा पन्चे बाजा बज्न थाल्छ। विवाह मण्डपमा पंनीतले पुजा गर्न थाल्छन। एकापट्टी छर छिमेकीले जन्तीको लागि खाना बनाउदै हुन्छन । रिताको घरमा ठूलो भिडभाड जस्तै हुन्छ । हैल्ला खैल्लाको माहोल चर्को सुनिन्छ । कोही पन्चे बाजामा नाँच्दै हुन्छन । माथि कोठामा रिताका साथीहरूले रितालाई परि जस्तै तयारी गराउदै थिए । “लक्ष्मी ए लक्ष्मी रितालाई छिटो तयार हुन भन है जन्ती हिडि सके रे।” रिताको बुबा चिच्याउदै थिए । उता कोठामा रिता रून पिन्चे भएर बेहुली भन्न तयार भई सकेकी थिई । केहि छिन पछि रिताको घरमा जन्ती आई पुग्छन । रिताका आमाबाले जन्तीलाई स्वागत गर्दै भित्र भित्राउछन । बेहुलाको भेषमा सुवास पनि कुनै सिनेमाको हिरो जस्तै देखिन्थ्यो । रिता र सुबास विवाह मण्डपमा सँगसँगै बस्छन । पर बाट हेर्दा यी दुबै साँच्चै स्वर्ग बाट झरेका ईन्द्र र अप्सरा जस्तै देखिएका थिए । एकापट्टी पन्चेबाजामा जन्ती र बेहुली पक्षका नाच्दै रमाई रहेका थिए । कोही भोज खान व्यस्त थिए । बेहुली र बेहुलाको खुट्टाको जल खाने तथा टिका लगाउन घर परिवार साँथै ईष्ट मित्रहरू भेला भई रहेका थिए ।
रिताको अनुहार रुन्चे जस्तै देखिएको थियो। रिताको आमा पनि उस्तै देखिएकी थिईन । “ल ल बेहुली पक्षका सबै घरभित्र पसौ त बेहुली लाई सिँदुर लगाई दिने बेला भयो।” पंनितले मन्त्र भटभटाउदै भन्दै थिए । “लक्ष्मी ए लक्ष्मी ल ल भित्र हिड छोरीको सिँदुर हाल्ने बेला भएछ ।” रिताको बुबाले रिताकी आमालाई भित्र बोलाउदै थिए । एकाएक त्यहाँ रोएको आवाज आउछ । रिता घ्वाकी घ्वा रून्छे सायद रिता आमाबा बाट अब अरू कसैको भएकी कारण रोई रहेकी थिई । सुबासले रितालाई फकाउछ सम्झाउछ अह तर पनि रिताको आँखामा आँसु रोकिदैन । रिताको आमा पनि धर धर रून्छिन छर छिमेकी ईष्ट मित्रका पनि आँखा रसाउछ ।
पुरूष कहिल्यै रुदैँन भन्थ्ये तर रिताको बुबाको आँखामा पनि आँसु देखिन्छ । एकछिन तेहा रूवाबासी चल्छ । रितालाई सिँदुर हालेर आफ्नो बनाएकोमा सुबास मख थियो । “ल ल छिटो छिटो गरौ त जन्तीलाई बिदाई गर्न अबेर हुन्छ फेरी ।” रिताको बुबाले आँसु पुस्दै भन्छन । विवाह धुमधामले सम्पन्न हुन्छ । विवाह सकिदा झमकै साँझ परेको थियो । अब आमाबुबाले रिताको बिधाई गर्ने बेला भयको थियो । “पाले पुन्य मारे पाप ज्वाई हामिले हाम्रो फूल तपाईलाई जिम्मा लगाई दिएका छौ सँधै माया गर्नु होला है ।” रिताको बुबाले रूनपिन्चे स्वरमा सुबास लाई भन्छन । “रिताको आँखामा कहिल्यै आँसु नदिनु होला है वावु ।” रिताको आमाले रूदै रूदै भन्छिन । छोरी रितालाई बुबाले बोइ बोकेर बिधाई गर्न लाग्छन रिता घ्वाकी घ्वा रोको रोई गर्छे । रिता कार भित्र चड्न पनि मान्दिन एकोहोरो रोएको रोई गरि मात्र रहन्छे। सबैको आँखामा आसु देखिन्छ । वरपर सबै रून्छन। छिमेकी साँथै ईष्ट मित्र सबैले आँखाबाट बरर् आँसु खसाउछन । सुबास अनि सुबासको बुबाले सम्झाई सम्झाई बल्ल बल्ल कारमा राख्छन रितालाई ।
रिता भने रोएर विहोस हुने जस्तै हुन्छे । छोरीको विवाह सम्पन्न भएकोमा भित्रभित्रै पीडा भएपनि बाहिर खुसी देखिदै थिय रिताको आमाबुबा । छोरी रिता लाई बिधाई गरेको दश मिनेट पनि भयको थिएन एकैछिनमा रिताको बुबाको मोबाइलमा फोन आउछ “बेहुला र बेहुली चडेको कार दुर्घटनामा परेको छ बेहुला सुवासको घटना स्थल मै मृत्यु भएको अनि रिता घाईते भई हस्पिटलमा पुगाईएको छ ।” यति भन्दै कसैले फोन काट्छ । रिताको बुबाको हातको मोबाइल भोईमा खस्छ आफु भईमा लड्छन।” लौन के भयो हजुरलाई एक्कासी” रिताको आमा दौडिदै आईपुग्छीन । ईष्ट मित्र छर छिमेकी पनि आउछन । रिताको बुबा बिहोस हुन्छन ।”ए हजुर ए हजुर उठ्नु न उठ्नु” एकोहोरो रूदै रूदै पत्नी लक्ष्मीले चिच्याउदै भन्छिन ।
पानी पट्टी लगाएपछी एकछिनमा होस आउछ रिताको बुबालाई। “लक्ष्मी हाम्रो छोरी घरभित्र पनि भित्रिन नपाउदै बिधुवा भई ऊ चडेको कार दुर्घटना भयो रे ज्वाईको निधन भयो रे छोरी हस्पिटलको बेडमा छे रे ।” रूदै रूदै आफ्नो छातीलाई पिड्दै रिताको बुबाले पत्नी लक्ष्मी लाई भन्छन । पत्नी लक्ष्मी पनि एकैछिनमा भईमा गुल्टिन्छिन विहोस हुन्छिन । डाक्टर बोलाएर होसमा ल्याउछन । आँखाभरी आँसु बनाएर रूदै रूदै छोरि छोरि मात्र भन्छिन लक्ष्मी । राम्रो सँग श्रीमती पनि बन्न नपाउदै विधुवा बन्न पुगेकी रिताको हस्पिटलमा होस आउछ । उनले चारैतिर हेर्छिन अनि सुवास सुवास भन्दै चिच्याउछिन । नर्स र डाक्टरले उनलाई समाल्छन। सासु र ससुराले रितालाई घर लैजान्छन । घरमा पती सुवासको लास आर्यघाट लैजाने तरखरमा थियो । रिता आफ्नो पती सुवासको लास देख्ने वितिकै बौलहा जस्तै हुन्छिन सुवास सुवास भन्दै रोको रोई गर्छिन ।
अघि सम्म रातो चुरा,रातो साडि सिँउदोमा सिँदुर लगाएर परि जस्तै भएकी रिता अहिले यी सबै चिजबिज गाउँलेहरूले उनको शरीर बाट हटाएर सेतो पहिर लगाई दिन्छन । रिता अघि सम्म बेहुली थिईन अहीले विधुवा हुन्छिन । रिताको आँखामा आँसु आउन पनि छोडेको थियो सायद रूदा रूदा आँसु नै सकिएको थियो होला । घाटी पुरै सुकेको थियो आवाज पनि आउदैन थियो । रिता पागल जस्तै भएकी थिईन । गाउँलेहरू सबै मिलेर सुवासको लास जलाउन आर्यघाट लग्छन । रिता भने अझै भईमा पछारिएर रून छोडेकी थिईनन् ।
सुवासको मृत्यु भएको पनि एक महिना भई सकेको थियो । रिताको अनुहार अझै ठिक अबस्थामा थिएन । उनी माथि ठूलो घाउँ लागेको छ जुन कहिल्यै उपचार पनि हुदैन । “ओई पोई टोकुवा मेरो एक्लो छोरो लाई खाईस है अलक्षणी” रिताको सासुले रितालाई हेर्दै कराउछिन । रिता आँखाबाट आँसू खसाएर रून्छिन । “छोरो त खाईस अब हामिलाई पनि त खाने होलानि है बोक्सी ।” सासुले अझ चर्को चर्को स्वरमा कराउछिन । रिता भने आँखाबाट आँसु खसाउदै बसि मात्र रहन्छिन ।सासुले सँधै किच किच मात्र गर्छिन रितालाई । रिता सासुबाट घृणाको पात्र हुन पुग्छिन । ससुराभने चुपचाप मात्र रहन्छन ।
बिहानै बोक्सी दिउसो बोक्सी रात परेपछि बोक्सी हरेक क्षण सासुले रितालाई बोक्सी भन्दै बोलाउछिन कहिले गाली गर्छिन त कहिले पिट्न समेत तम्सिन्छिन । रिता सासुको व्यवहार बाट साह्रै पीडीत हुन्छिन र माईत जान्छिन । रिताको आमाबुबा छोरी घरमा एक्कासी आएको देख्दा आचार्य हुन्छन । “छोरी के भयो किन खबर नै नगरिकन आयौ” रिताको बुबाले सोध्छन । “म त्यो घरमा बस्न सक्दिन मलाई बोक्सी पोई टोकुवा भन्दै घृणा गर्छन हरेक पल रोएर बाँच्नु परेको छ” भन्दै आमालाई अगालेर रून्छिन । सबै जना रून्छन सबैको आँखामा आँसू भरिन्छ । “ल ल छोरि भित्र जाऊ अहिले ।” रिताको बुबाले भन्छन । “आमा मैले अहीले बिहे गर्दिन पढ्छु भनेको थिए नि तपाईको कारण आज मैले सेतो लुगा पैरिनु परेको छ ।” रिताले रूदै आमालाई भन्छिन । रिताकी आमाले रूदै छोरीलाई अगालोमा राख्छिन । आमा छोरी निकै बेर रून्छन ।
एकदिन विहान रिता समान लिन पसल जान भन्दै घरबाट बाहिर निस्किन लाउदै थिईन । बाहिर बाटोमा के पुगेकी थिईन “ल थुक्क आजको साईत नै बिग्रियो बिहान बिहानै पोई टोकुवाको अनुहार देखियो छि” एउटी चिट्ट परेकी महिलाले भन्छिन । रिताको आँखाबाट आँसू बरर् खस्छ । चुपचाप पसल जान्छिन बाटोघाटोमा महिलाहरू जम्मा हुदै रितालाई एकोहोरो हेर्छन गाईगुई हल्ला गर्छन “यो त पोई टोकुवा हो घरमा सासुले बौसी भनेर गालि गरेकी थिईन रे त्यसैले माईत आएकी हो रे लौ आफ्नो आफ्नो बच्चा लाई सुरक्षित राखौ है फेरि पोई टोकुवा बोक्सीले खाईदेली ।” समाजमा महिलाहरूको यस्तो कुरा सुनेर रिता चर्को चर्को रूदै घर पुग्छिन । घरमा सासुको किच किच सहन नसकेर माईत आएकी रिता यहाँ पनि गाउँलेको छि छि बाट बँच्न नसक्ने हुन्छिन । “एउटी नारी माथि आर्की नारीले नै अपहेला किन गर्छन होला ।”
भन्दै रिता कोठामा रून्छे । रितालाई घर अनि माईत दुबै ठाउँमा उस्तै पीडा सहनु पर्छ । माईतमा समान लिन जादा होस या पानी लिन पधेरा जादा होस सबैले बोक्सी आई पोई टोकुवा आई भन्दै कर्के आँखा लगाएर हेर्ने गर्थे । रिताको आधा ज्यान त रूदा रूदै सुकी सकेको थियो । घर छोडेर माईत आएकी रिता अब माईत पनि बस्न नसक्ने भएकी थिई । एकदिन रिता सबै आफ्नो समान पोको पारेर राजधानी जान तयार हुन्छे । “म कसैको बोझ भएर अनि कसैको घृणा सहेर बाँच्न सक्दिन अब म आफ्नो लागि आफै बाँच्छु विधुवा नारीले पनि केही गर्न सक्छे भन्ने उदाहरण बन्नेछु ।” आमाबुबा लाई यही भन्दै त्यहा बाट आँखाबाट आँसु बगाउदै निस्किन्छे । रिताको आमाबुबाले रूदै रूदै “नजाऊ छोरी” भन्दै बाटो छेक्दै थिए तर रिता भने माईत घर समाज छोडेर राजधानी छिर्छे ।
राजधानी छिर्ने धेरैको सपना एउटै हुन्छ कि ठूलो मान्छे बन्ने रोजगार गर्ने भविष्य बनाउने त्यस्तै सपना बोकेर एक विधुवा नारी रिता पनि राजधानी छिरेकी थिई । पतीको नामको राम्रो सँग सिँदुर पनि लगाउन नपाउदै रिताको सिँउदो रितो भएको थियो । घरपरिवार अनि माईती समाजले एउटी विधुवा नारी माथि गरेको अपहेलना सहन नसकेर रिता आफ्नो भविष्य बनाउन राजधानी पहिलो पटक छिरेकी थिई । राजधानी बिहानै आई पुग्छे रिता । सबैभन्दा गाह्रो काम भनेको राजधानीमा कोठा खोज्नु थियो रितालाई उसमाथी ऊ एउटी विधुवा नारी थिई । घरबाट गोजीमा केहि रकम बोकेर राजधानी छिरेकी रिता कोठा खोज्न निकै भौतारिन्छे । केहि ठाउँमा कोठा पाउछे तर विधुवा भएको कारण घरबेटीले दिन खोज्दैनन् अनि केहि ठाउँमा एक्लो भएको कारण पनि कोठा दिदैनन् । दिउसो भर राजधानीको हरेक घर घरमा कोठा खोज्न धाउदै गर्दा निकै थाक्छे रिता ।
रिता एउटा चौतारामा थकाई मार्न बस्छे । त्यही एउटी महिला सँग रिताको परिचय हुन्छ । रिताको दुःख सुनेर उक्त महिलाले बरर् आँसु खसाउछिन। उही महिलाबाट चिन जान गरेको एउटा घरमा रिताले कोठा पाउछिन । दिउसो भरको थकाईले रिता निकै थाकेकी थिई भने आर्को तर्फ कोठा पाएर खुसी पनि भयकी थिई । बिहान सबेरै उठेर रिता कामको खोजीमा दौडिन्छे । जता जता काम खोज्न जान्छे उतै सुरूमा नै अनुभव र सटिफिकेट माग्थे । राजधानीको हरेक गल्ली गल्ली काम खोज्दै हिड्ने रिताको हरेक दिनको कार्य जस्तै भएको थियो ।
एउटी नारी उस माथि विधुवा समाजमा त छि छि र दुर दुर खेपेकी रिता अन्जान सहरमा झन कसले बाकी राख्थ्यो र ! कयौ कम्पनी मालिकहरूले रितालाई एक रात सँगै सुते काम दिने समेत भन्न भ्याएका थिए । रिता आँखाभर आँसु बनाएर कोठा फर्किन्थी । “गाउँ पापी भनेको त झन त्यो भन्दा धेरै पापी सहर रहेछ ।” रिता यही भन्दै कोठामा रून्छे । रिता राजधानी आएको पनि दुई महिना हुन्छ । तर आज सम्म रिताले कतै काम पाएकी थिईन । आफूले घरबाट ल्याएको पैसा सकेर पनि आफ्नो शरीरमा भयको गरगहना सबै बेचि सकेकी थिई रिताले । राजधानीमा यो दुई महिनामा अब उसले नचिनेको कुनै ठाउँ बाकी नै थिएन । काम खोज्दा खोज्दै पुरै राजधानी डुलेर सक्काई सकेकी थिई तर कतै काम पाएकी थिईन । रिता काम खोज्दा खोज्दा हैरान हुन्छे । एक ठाउँमा कम्पनी मालिकले काम दिने भनेर रितालाई आफ्नो क्याविनमा बोलाउछन ।
बिस्तारै बिस्तारै मालिकले रिताको हात समाउन खोज्छन पाखुरा समाउन खोज्छन अनि औलाले अनुहारमा छुन खोज्छन । रिताले उसको हर्कत बुज्झे । हाकिमको गालामा एक झापड़ हान्देर “तैँले एक्लो नारी,विधुवा नारी भनेर हेप्न खोजेको साले कुकुर ।” भन्दै उसलाई थर्काउछे । “झन जागिर दिन लाछु उल्टै मलाई थर्काउछे कहा कहा बाट आउछन जागिर खोज्न पनि काम नपाकाहरू।” हाकिमले पनि रितालाई गालि गर्छ । “चाईदैन तँ जस्तोको जागिर” एति भन्दै रिता त्यहा बाट कोठा जान्छे । कोठा पुगेर रिता धर धर रून्छे ।
त्यो रात रिता खाना पनि नखाई त्यसै सुत्छे । एक दिन रिताको परिचय आफु बसेको घर सँगसँगै जोडिएको आर्को घरमा बस्ने एउटी महिला सँग हुन्छ । दुबै बिस्तारै नजिक हुदै हुदै जान्छन । रिताले मन भित्रका सबै गुनासो ती महिला लाई सुनाउछिन । ती महिलाको आँखा पुरै रसाउछ रिताको गुनासो सुनेपछी । दुबै रून्छन । एकछिन पछी ती महिलाले “एउटा होटल चिनेको छु पख तिमीलाई तेही होटलमा भाडा माझ्ने काम लगाई दिन सक्छु” भन्छिन । “हस हुन्छ यहीँ भाडा माझ्ने काम पाएँ पनि गर्छु” रिताले भन्छे । रिताले लामो साँस तान्छे किनकी लामो समय पछि भाडा माझ्ने काम भए पनि पाएकी थिई राजधानीमा । रिता बिहान चाडो उठ्थि अनि खाना खाईओरी होटलमा भाडा माझ्न जान्थी । हरेक दिन उसको यही काम चलि रहेको थियो । होटलमा भाडा माझ्दा माझ्दा रिताको हात भर पूरै घाँउ नै घाउँ भएको थियो तर पनि रिताले काम गर्न छोडिन । होटलमा भाडा माझ्ने र बेलुका केहि समय आफ्नो कोठा नजिक रहेको कपडा सिलाई बुनाईमा काम सिक्न सुरू गर्छे । दिउसो भर होटलमा अरूले खाएका जुठो भाडा माझ्ने र बेलुका केहि समय कपडा सिलाउने ठाउँमा काम सिक्ने गर्न थाल्छे । होटलमा भाडा माझेर आएको केहि रकम बैंकमा सुरक्षित राख्दै जान्छे ।
रिताले होटलमा भाडा माझ्ने काम गर्न थालेको पनि एक वर्ष हुन्छ । उता सिलाई बुनाईको काम पनि रिताले राम्रो सँग सिकि सकेकी हुन्छे । अब रिताले सानो आफ्नै सिलाई बुनाईको टेलर खोल्ने सोच बनाउछे । जो आफु जस्तै विधुवा नारि छन जो समाजमा घृणा सहेर बस्न बाध्य छन ति सबैलाई रिताले आफ्नो टेलरमा सिलाई बुनाईको काम सिकाउने निधि गर्छे । रिताले भाडा माझ्ने काम छाडि दिन्छे । रिताले यो एक वर्षमा निकै ठूलो संघर्ष गरेकी थिई । उसलाई खाना खाने एक मिनेट समय निकाल्न पनि धौ धौ पर्ने गरेको थियो । रिताले राजधानीमा नै एउटा सिलाई बुनाईको टेलर खोल्छे । त्यहा विधुवा नारीहरू लाई मात्र काममा राख्छे । आफुले सिकेका सिप उक्त टेलरमा आउने दुःखी विधुवा नारीहरूलाई सिकाउछे । विस्तारै विस्तारै रिताको टेलर व्यबसायिक रूपमा अगाडि बड्दै जान्छ । तिस पैतिस जना लाई रिताले आफ्नो टेलरमा रोजगार दिएकी थिई । उक्त टेलरमा उत्पादन भएका रेडिमेड लुगाहरू राजधानी सँगसँगै अन्य जिल्लाहरूमा पनि विक्री वितरण हुन थाल्छ । हिजो तिस पैतिस जनालाई रोजगार दिएकी रिताले उक्त टेलर अझ ठूलो बनाउदै डेड सय लाई रोजगार दिन मिल्ने बनाउछे । समाजमा विधुवा भएर दुःख पाएका नारीहरू लाई सहयोग गर्ने सँस्था पनि स्थापना गर्छे रिताले । विस्तारै विस्तारै रिताको संघर्षले नाम कमाउन थाल्छ । रिताको टेलरमा राजधानी साथै अन्य जिल्लाहरूबाट रेडीमेड लुगाको माग झन झन बड्दै जान्छ । “हिजोको जीवन र आजको जीवन कति छिटो परिवर्तन भई सकेछ ।” रिताले लामो साँस तान्दै सोँच्छे । रिताको संघर्ष र मेहनतको चर्चा राजधानीका पत्रपत्रिका अनि रेडियोमा गुन्जीन थाल्छ ।
रिताको माईती गाउँमा हिजो रितालाई बोक्सी पोई टोकुवा भनेर छि छि गर्नेहरूले आज रिताको चर्चा पत्रपत्रिका अनि रेडियोमा सुनेर आफ्नो गाउँको नाम राखि भन्न भ्याउछन । रिताको आमा बुबा लाई छरछिमेकीले हिजो आज ईज्जत दिएर बोल्न थाल्छन । एक दिन रिता भगवानको पुजा गर्न भन्दै मन्दिर पुग्छे । रिताको आँखा एक्कासी त्यहा माग्न बसेका एक बुढाबुढी थिम पुग्छ । उँ ठूलो भिर बाट खसे झै हुन्छे । त्यहा माग्न बस्ने उसको सासु ससुरा थिए । आँखामा आँसु बगाउदै ती भएको ठाउँमा पुग्छे । “आमा बा हजुरहरू यहाँ कसरी ?” आँखाबाट आँसु खसाउदै सोध्छे । “बुहारि तिमि ! हामि लाई तिम्रो पाप लाग्यो देवी जस्ती बुहारि लाई तिम्रो सासुले बोक्सी पोई टोकुवा जस्तो शब्द प्रयोग गरेर गाली गरेको दुषपरिणाम अहिले हामिले भोग्नु परेको छ । तिमिले छाडेर गएपछि बैंकबाट लिएको रिण तिर्न नसकेपछी बैंकले घर आफ्नो कब्जामा लियो त्यसपछि केहि महिना त गाउँमा मागेर बाँच्यौ तर सँधै कसले सहयोग गर्थ्यो र ! पछी राजधानीमा तिमिलाई खोज्दै आएका थियौ कतै भेट्न सकेनौ । तिम्रो सासुले मैले ठूलो पाप गरेकी छु बुहारि सँग माफ माग्ने स्थितिमा पनि छैन म कसरी बुहारि सँग माफ मागौ ! भनेर भनि तेसपछी यही मन्दिरमा मागेर बस्छौ ।” ससुराले आँखा बाट एकोहोरो आँसु खसाउदै सुनाउछन । रिता पनि धुर धुरति रून्छे । रिताको साँसुले रिताको अनुहार हेर्न नै सक्दिनन् । उनी रोई मात्र रहन्छिन । एक्कासी रिताको दुबै खुट्टा छुन पुग्छिन । “बुहारि मलाई माफ गरिदेऊ ।”
रिताको खुट्टा छुदै यही भन्दै रून्छिन । “के गर्नु भयको आमा !” रिताले सासुको हात आफ्नो खुट्टाबाट हटाउदै भन्छिन । “आमाबा हिड्नु म तपाईको छोरो भएर तपाईहरू लाई सुख सँग राख्छु , सुवासको कमी हजुरलाई हुन दिन्न आखिर म हजुरहरूको बुहारि त हु नि ।” रिताले आँसु पुस्दै भन्छे । “हामिले तिमीलाई घरबाट निस्किन बाध्य बनाएर ठूलो पाप गरेका छौ तेसको परिणाम अहिले भोक्दै छौ अब कसरी तिमि सँग जानु हामि।” सासुससुरा दुबैले रून्दै भन्छन । “पुरानो कुरा छोड्दिनु त्यसको लागि हजुरहरूले माफ पनि माग्नु भयो नि मैले माफ दिए अब हिड्नु मसँग मैले पाल्ने छु हजुर दुबै लाई ।” रिताले सम्झाउछे । सासुससुरा रूदै रूदै त्यहा बाट उठ्छन अनि रिताको पछि पछि हिड्छन । रिताले आफ्नो सासुससुरालाई घरमा ल्याउछे । हिजो बोक्सी पोई टोकुवा भनेर घृणा गरेकी रिताको सासुले आज रितालाई छोरी छोरी भन्दै चौबीसै घण्टा मायाले बोलाई रहन्छिन ।
ससुराले पनि रिताको हर कुराहरूमा सकेको सहयोग गरि रहन्छन । रिताले भित्तामा फूलको हार चडाएर राखेको आफ्नो पती सुबासको फोटो हेर्दै आँखा बाट बरर् आँसु खसाउछे। हिजो विधुवा भएर घृणा गरेको समाजले आज उही विधुवाले पाएको सफलतापछी गरेको सम्मान देख्दा रिताले आँसु पुस्दै सुबासको फोटो लाई आफ्नो काखमा च्यापेर विगतलाई सम्झिदै एकछिन टोलाउछे‘ ।।


0 comment