काठमाडौं - फ्रान्समा विद्यालयमा देखिएका समस्या र बढ्दो जीवनयापन खर्चको विरोधमा भएको पछिल्लो प्रदर्शनका क्रममा देशभर हिंसा भड्किएको छ।

फ्रान्सेली सरकारले प्रदर्शनका क्रममा हिंसा बढेको जनाएको छ। अनुमानित ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका बेला कम्तीमा १ हजार २०० जना पक्राउ परेको सरकारी अधिकारीहरूले बताएका छन्।

राजधानी पेरिसमा  दङ्गा नियन्त्रण प्रहरी र प्रदर्शनकारीबीच व्यापक झडप भएको थियो। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। राजधानी पेरिससहित अन्य क्षेत्रमा भवनहरूमा आगजनी गरिएको छ। लिमोज सहरको नगरपालिकाको भवनमा ठूलो आगलागी हुँदा छतको केही भाग भत्किएको थियो। विभिन्न सहरमा लुटपाटका घटना भएका छन्। नगरपालिकाका कार्यालय र व्यावसायिक प्रतिष्ठानहरूमा व्यापक तोडफोड गरिएको खबर पनि आएको छ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा भएको हिंसामा १५० जना प्रहरी घाइते भएको बताएका छन्। पेरिसमा दिउँसो भएको मुख्य र्‍याली भने अधिकांश समय शान्तिपूर्ण देखिएको थियो। युवाहरूको एक समूहले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने बताएको थियो। उनीहरूले भनेका थिए, “हामी केवल परिवर्तन ल्याउने प्रयास गरिरहेका छौँ, तर केही पनि अघि बढिरहेको छैन।” तर दिन ढल्दै जाँदा केही समूहले सडकमा आगो लगाउनुका साथै सवारीसाधन जलाएका थिए। पेरिसको सहरको केन्द्रमा रहेको प्रसिद्ध प्लास द ला रिपुब्लिक क्षेत्रमा समेत सवारीसाधनमा आगजनी गरिएको थियो।

पसलहरूमा लुटपाट गरिएको थियो भने कम्तीमा एउटा रेस्टुरेन्ट आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।  प्रदर्शनकारीका केही समूहबीच कुटाकुट भएको पनि समाचार छ ।