काठमाडौं - राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्म श्रीलङ्का आर्थिक सङ्कटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन्। 

आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले विभिन्न समूहको चुनौतीका बाबजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए। 

'म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु। जनताले ती निर्णयको महत्व दुई–तीन वर्षमा महसुस गर्नेछन् ,' उनले भने।

विक्रमासिङ्घेले कठिनाइका बाबजुद सरकारले कमजोर वर्गलाई आर्थिक सङ्कटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे। 

राष्ट्रपति विक्रमासिङ्घेले देश अहिले नकारात्मक अर्थतन्त्रबाट सकारात्मक अर्थतन्त्रतर्फ अघि बढिरहेको बताउँदै सन् २०२३ को अन्त्यसम्ममा श्रीलङ्काले आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

उनले संसद्‍मा रहेका सबै दललाई एकताबद्ध भएर देश बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गरे।