काठमाडौं - टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्पमा परी ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ।

दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू-भाग गाजियान्टापमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो।  भूकम्पको गहिराइ १७.९ किलोमिटर रहेको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ। 

टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएको जनाएका छन्। सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो, लटाकाइ, हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ।

भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ। टर्कीमा २ हजार जना र सिरियामा ६३९ जनाभन्दा बढी घाइते भएका छन्।

यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो।

भूकम्पमा ज्‍यान गुमाएकाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका  छन्।

प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन्