काठमाडौं - अस्ट्रेलियामा 'वन नेसन' पार्टीले प्रस्ताव गरेको कडा आप्रवासन नीतिको विरोधमा सिड्नी, क्यानबेरा, मेलबर्न लगायतका प्रमुख सहरहरूमा  विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। पोलिन ह्यान्सन नेतृत्वको 'वन नेसन' पार्टीले आगामी तीन वर्षभित्र देशमा अस्थायी आप्रवासीको सङ्ख्या ७ लाख ५० हजारले घटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।

नेसनल युनियन अफ स्टुडेन्ट्स र अन्य विद्यार्थी सङ्गठनहरूको आह्वानमा बिहीबार सिड्नीको मध्य व्यावसायिक क्षेत्र (सीबीडी), क्यानबेराको गारेमा प्लेस तथा मेलबर्न, ब्रिसबेन, एडिलेड, डार्विन र होबार्टमा दिउँसो १ बजेदेखि ३ बजेसम्म विरोध र्‍याली आयोजना गरिएको थियो। मतदानको अधिकार नपुगेका किशोर-किशोरीहरूले समेत आफ्नो भविष्य र सुरक्षाको माग गर्दै प्रदर्शनमा सहभागिता जनाएका छन्।

सिड्नीमा आयोजित प्रदर्शनमा मात्रै एक हजारभन्दा बढी मानिसको सहभागिता रहेको थियो। अगस्ट १३ मा भएको पहिलो चरणको आन्दोलनपछि सेप्टेम्बर १७ मा दोस्रो चरणको प्रदर्शन गरिएको हो। 'वन नेसन'को प्रस्तावित नीतिमा खुद वैदेशिक आगमन (नेट ओभरसिज माइग्रेसन) लाई तीन वर्षसम्म ऋणात्मक राखेर वार्षिक १ लाख ३० हजारमा सीमित गर्ने, वार्षिक विद्यार्थी भिसा २ लाख ९१ हजारबाट घटाएर १ लाख १५ हजारमा झार्ने तथा ग्राजुएट र डिपेन्डेन्ट भिसामा व्यापक कटौती गर्ने उल्लेख छ। अर्थशास्त्री तथा इतिहासकारहरूले यो नीतिले देशको अर्थतन्त्रलाई १८९० को मन्दीको अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन्।

यसैबिच विद्यार्थी प्रदर्शन भइरहँदा अस्ट्रेलियाको एल्बानिज सरकारले पनि नयाँ गृह नीति घोषणा गरेको छ। गृह मन्त्री टोनी बर्कका अनुसार ब्याकप्याकरहरूका लागि दोस्रो वर्ष (४५ हजार कोटा) र तेस्रो वर्ष (५ हजार कोटा) को बसाइ लम्ब्याउन गोलाप्रथा प्रणाली लागू गरिनेछ। साथै, अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्य ल्याउने सुविधा र भिजिटर भिसाबाट अन्य भिसामा परिवर्तन गर्ने प्रक्रियामा थप कडाइ गरिने सरकारले जनाएको छ।