काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे।
'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू अब धेरै समय टिक्न सक्दैनन्,' ट्रम्पले भने।
डोनाल्ड ट्रम्पको यो अभिव्यक्ति टेक्ससमा आयोजना हुन लागेको रिपब्लिकन पार्टीको पहिलो मिडटर्म कन्भेन्सनअघि आएको हो। यस कार्यक्रममार्फत नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि पार्टी नेताहरूलाई एकजुट बनाउने र चुनावी माहोल तताउने ट्रम्पको लक्ष्य रहेको छ।
उल्लेखनीय छ, इरानविरुद्धको युद्धलाई लिएर ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टी भित्रबाट दबाब बढ्दै गएको छ। यसका साथै, युद्धका बीच गरिएका विभिन्न जनमत सर्भेहरूमा उनको लोकप्रियतामा पनि गिरावट आएको देखिएको छ।


0 comment