काठमाडौं - इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि लगभग तीन हजार उडानहरू प्रभावित भएका छन्।  विमानस्थल सञ्चालन बन्द हुँदा ३ लाख ५० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन्।

राजधानी जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनक क्राकाटाउ ज्वालामुखी शुक्रबार राति अबेर विस्फोट भएको थियो। यसका कारण लाभाका फोहोराहरू निस्कन थाले र ज्वालामुखीबाट निस्केको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेका छन्।

जकार्ताको सोकार्नो(हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समय अनुसार बिहान ६ बजे पुनः खोल्ने तालिका थियो तर विमानस्थल वरिपरि ज्वालामुखीको खरानी बाँकी रहेको कारणले स्थगित गरिएको थियो।

विमानस्थलले एक विज्ञप्तिमा भनेको छ कि उडानहरू अब सोमबार मध्यरात १२ बजेदेखि पुनः सुरु हुनेछन्। नागरिक र सैन्य उडानहरूको लागि प्रयोग गरिने सानो हलिम पेर्दानाकुसुमा विमानस्थल पनि त्यतिन्जेलसम्म बन्द रहनेछन्।

सोमबार जकार्ताको सोकार्नो(हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान हलमा यात्रुहरूको लामो लाइन लागेको थियो। टिकटको पैसा फिर्ता पाउन र उडान कहिले सुरु हुन्छ भनेर जान्न अलपत्र यात्रुहरू लाइनमा उभिएका थिए।