समाजमा असमानता विद्यमान छ । त्यसमा पनि महिला शोषित उत्पीडित बनेका छन् । अन्याय, अत्याचारको विगविगी छ । त्यसको विरुद्ध महिलाहरु जागृत हुनु पर्ने अपरिहार्यता छ । महिला नै महिला मुक्ति आन्दोलनमा अग्रसर हुनु पर्छ । यस दृष्ट्रिले हेर्दा महिलाहरु कसरी मातृ सत्तात्मक समाजबाट पितृ सत्तात्मक समाजमा रुपान्तरित भए हेर्नु पर्ने हुन्छ ।
महिला आज दास भए वा सो सरह रहे । पुरुषले श्रम विभाजनको कारण स्त्रीलाई आफ्नो सम्पत्तिको रुपमा लिए । यो युगमा परिवारको अन्त्य सँगै मातृ अधिकारको अन्त्य हुन पुग्यो । अनि पुरुषको महिला प्रति एक निष्ट अधिकार कायम भयो । समय क्रममा नारीहरु घरको अत्यधिक परिश्रमबाट मृत्यु हुन गयो र यस्तै सस्तोमा श्रम बेच्न बाध्य हुनुपुग्यो । शरीरको शोषण पनि भयो र नारीहरु पुरुषका “भोग्या” हुन पुगे । पुँजीबादी व्यवस्था आएपछि महिला कठपुतली बन्न पुगे । समाजले बेश्याबृत्तिसम्म बनायो ।
पश्चिममा जागरण सँगै महिलाको शोषणको विरोध हुन थाल्यो । महिला क्रान्तिमा समेत होमिन थाले । स्वतन्त्रताको विगुल फुक्न थाले र मुक्तिको मार्गमा अघि बढे । अब पुरुष महिलामा बराबर अधिकारको प्रश्न उठ्न पुग्यो । स्वतन्त्रताको लागि दासत्वका विरुद्धमा विद्रोहको झण्डा बोक्न पुगे । महिला औपचारिक समानताका कुरा कतिपय देश समाजमा गरियो तर सच्चा समानता मिलेन । महिलालाई राजनैतिक शिक्षाको पहल नै महत्वपुणर् कुरा हो भन्ने अहिले झन् स्वीकार्य बनेको छ ।
महिलाको पुरुषसँगको सम्बन्धमा बन्नै पर्ने कुरा हो - विवाहको भविष्य । यो बन्धनको रुपमा मात्र नहोस् । यसमा मुक्त प्रेम सम्बन्ध र आवश्यकता अनुसार छोडमत्रको व्यवस्था हुनु आवश्यक छ । सन्तान जन्माउने वा नजन्माउने कुरा पनि महिला अधिकार भित्र पर्छ ।
महिला विश्व निर्माता हुन् । उनीहर खुल्ल आकाश हुन् । उनीहरु समाजका चुनौती र अवसर दुवै हुन् । यसका लागि प्रविधि मैत्री रुपमा महिला अग्रसर हुनैपर्छ ।
बास्तवमा आज महिलाका लागि भार भनेको बच्चा जन्माउने र हुर्काउने कार्य एक हो । प्रकृतिको बरदान भनिने यसले उनीहरुको उन्नतिमा ठूलो चुनौती खडा गरेको छ । महिलालाई आर्थिक निर्माता हुन नपाउनु, नसक्नु, अझ गहिरो जटिल समस्या हो । पुरुषको परम्परागत थिचोमिचो विरुद्ध महिला स्वयं उठ्नु पर्छ, हिड्नु पर्छ । महिलालाई कथित यौन नैतिकता, प्रश्न उठाएर आफु चाहि कलांकित भएर समाजमा शिर ठाडो पार्ने पुरुषको हैकम विरुद्ध महिलाले सशक्त विरोध गर्नै पर्छ, स्वाधीनताको स्वतन्त्रताका लागि । यो काम पुरुषसँग कुनै पनि दोष नराखी साहकार्यमा पुरुषसँगै हातेमाले गर्दै अगाडि बढ्नु पर्छ ।

परीक्षा कोइराला,

0 comment