अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एक कार्गो विमान धावनमार्ग (रनवे) बाट बाहिर निस्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
स्थानीय समय अनुसार आइतबार दिउँसो करिब २ बजे अमेजन एयरको बोइङ ७६७-३०० कार्गो विमान अवतरण (ल्यान्डिङ) गर्ने क्रममा अनियन्त्रित भई रनवेबाट बाहिर गएको थियो। करिब २०९ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा रहेको विमानले रनवे बाहिर रहेका केही सवारी साधनहरूलाई ठक्कर दिएलगत्तै आगलागी भएको थियो। याे विमानले प्युर्टो रिकोको लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियाे ।
घटनाको खबर पाउनेबित्तिकै करिब २०० जना दमकलकर्मी तथा उद्धारकर्ताहरू घटनास्थलमा खटिएका थिए। स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई स्थानीय ट्रमा सेन्टरमा भर्ना गरिएको छ भने बाँकी दुई जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।
उक्त कार्गो विमान नर्थ क्यारोलाइनास्थित '२१ एयर' नामक चार्टर कम्पनीले अमेजनका लागि सञ्चालन गर्दै आएको थियो। घटनापछि संघीय उड्डयन प्राधिकरणले विमानस्थलका सबै उडानहरू रोक्न आदेश दिएको छ। 'लेबर डे' विकेन्डका कारण अत्यधिक यात्रुको चाप रहेका बेला उडानहरू रद्द र ढिलाइ हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्।
दुर्घटनाको यकिन कारण अझै खुल्न सकेको छैन। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको सूक्ष्म छानबिन सुरु गरिसकेको छ र सोमबार पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने जनाएको छ।


0 comment