परीक्षा कोइराला,


आदिम कालमा मातृयुग थियो जहाँ महिलाहरुले नै उत्पादनको कार्य खेतीपाती गर्दथे भने पुरुष जंगलमा मनोरञ्जन, शिक्षा का लागि घुम्दथे । जब उत्पादनको मुख्य कार्य पुरुषहरुको हातमा आयो तब महिला पटाडि परिन् । उनी घरेलु काम गर्ने फाल्तु मानिस बनिन् । पुरुषहरु बाबुको गोत्रमा सधै रहे भने महिलाहरु विवाह पछि अर्को गोत्रमा जाने गराइयो । पुरुष चाहि पैट्टर सम्पत्तिको उत्तराधिकारी बन्यो । मातृ अधिकारको उन्मूलन नै नारी जातिका लागि ऐतिहासिक पराजय थियो । अब घरभित्र पनि पुरुषले अधिपत्य जमायो । त्यसपछि पुरुषले आफुलाई विभिन्न किसिमको आवरणमा ढाकेर र नरम रुपमा आफुलाई समाजमा पेस ग¥यो तापनि नारीले मातृ युगमा जस्तो शक्ति कहिल्यौ प्राप्त गरिनन् ।

युनानीहरुको (ग्रीकहरुको) पौराणिक कथाहरुमा देवीहरुको स्थान सम्मानजनक र स्वतन्त्र थियो, तर वीरकालमा भने पुरुषको प्रधानता र दासीहरुका कारण युनानी नारीहरु अपमानित भएको पाइन्छ । ओडिसी महाकाव्यमा टेले माक्सले आफ्नी आमालाई हप्काएर चुप बनाउँछ । होमरका रचनामा युद्धमा बन्दी युवतीहरुलाई तिनीहरुको विजेताहरुको आनन्दका लागि खटाइन्छ । विजेयी सेनानायकहरु आफ्नो पदको क्रम अनुसार सुन्दर युवतीको छनौट गर्दछन् । इलियट महाकाव्यको मूल विषय एक दासीलाई लिएर एकिलीज र एगामेम्नोनको बीचमा झगडा हुन्छ । 

ईस्खिलसको एगामेम्नोनले कसाण्डालाई आफ्नो घरमा लिएर गएको थियो ती दासीहरुबाट जन्मेका सन्तानलाई आफ्नो बाबुको सम्पत्तिबाट थोरै अंक प्राप्त हुन्थ्यो र उनीहरु स्वतन्त्र नागरिकमा गनिन्थे । 

विवाहित पत्नीले सबै शोषण चुपचाप सहने र निष्ठापुर्वक पतिब्रता धर्म पालन गर्ने आश गरिन्थ्यो । यूनानी पत्नी पतिको लागि यति मात्र महत्व राख्यो कि ऊ उसको बैध उत्तराधिकारीको आमा हो , उसको घरको प्रमुख प्रबन्ध कर्ता हो र ऊ ती दासीहरुको पनि रेखकर्ता हो । एकनिष्ट विवाह सँगसँगै समाजमा दासप्रथा प्रचलित रह्यो र दासीहरु पुरुषमा सम्पत्ति भएकाले यस्ता विवाहमा शुरु देखि नै छाप प¥यो कि पतिब्रत (एकनिष्ठ) केवल नारीका लागि मात्र हो, पुरुषका लागि होइन । आज पनि केही हद सम्म यो छाप कायमै छ । 

राजा अनेक्सांट्रिदासले (ई.पु. ५६० लगभग) एक दोस्रो विवाह गरे किनभने उनकी प्रथम पत्नीबाट सन्तान भएनन् । अर्का राजा एरिस्तोनसले आफ्ना पहिलाका दुई निसन्तान पत्नीहरुको अलावा तेस्रो पत्नी विवाह गरे । त्यस बेला धेरै भाई मिलेर एक सामुहिक पत्नी पनि राख्न सक्थे । प्लुटार्कको कथा जसमा स्पार्टकी एउटी स्त्री आफ्नो पछि लागेको एक प्रेमीलाई आफ्ना पतिसँग कुरा गर्न पठाउँछे र बढी यौन स्वच्छन्दताको संकेत गर्दथे ।