चुरे क्षेत्र हिमालय पर्वत शृङ्खलाको सबभन्दा दक्षिणवाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कमजोर पर्वत श्रृंखला हो । हिमालय उत्पत्तिको क्रममा करोडौ वर्ष पहिले नदीजन्य पदार्थहरू थुप्रिएर यसको निर्माण भएको हो । शिवालिकको नामबाट समेत परिचित यो श्रृंखला पश्चिममा पाकिस्तानको इन्ड्स नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ वटा जिल्लाहरूमा करिव ८०० कि.मी. क्षेत्रमा फैलिएको चुरेले देशको कुल भू–भागको १२.७८ प्रतिशत ओगट्दछ । 

सामान्यतया खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा भूमि, पानी, वनस्पति र जैविक विविधता जस्ता  प्राकृतिक स्रोतहरु एवं वातावरणिय कोणवाट यो क्षेत्र अत्यन्त संवेदनशील मानिने गरिएको हो । 

जैविक विविधताको कोणवाट पनि चुरे उत्तिकै महत्वपूर्ण मानिन्छ । देशका ७ वटा संरक्षित क्षेत्र यही चुरे तराई क्षेत्रमा पर्छ । जीवजन्तु विविधताको हिसाबले नेपालमा पाइने १,९१८ प्रजातिमध्ये १,३०८ चुरे तथा तराई मधेस क्षेत्रमा पाइन्छन् । नेपालमा पाइने सङ्कटोन्मूख ४९३ प्रजातिमध्ये ३१९ चुरे तथा तराई मधेस क्षेत्रमा पाइनुले यो क्षेत्रको महत्व दर्शाउदछ  तराई हाम्रो अन्न भण्डार हो । यो क्षेत्रमा कूल जनसंख्याको ५० प्रतिशत मानिसहरुको बसोबास रहेको छ ।  यसरी यति ठुलो जनसंख्याको आश्रय स्थलको रुपमा रहेको तराई मधेशमा हुने जथाभाबी दोहन वा अव्यवस्थापनले  बाढी र पहिरो दुवै जोखिम उच्च हुन जान्छ । चुरेका कारण प्राप्त प्राकृतिक स्रोतले नै तराई रहन सकेको हो । चुरेको महत्व त्यहाँको उत्पादकत्वमा मात्र नभई विपद्सँग पनि जोडिएको छ ।  

चुरे संरक्षणमा विगत लामो समयदेखि एकाध प्रयासहरु निजी तथा सरकारी निकायहरुवाट हुदै  आएको परिणाम सन्तोषजनक नभएको यर्थाथतालाई मध्यनजर गरी संरक्षणकर्मी एवं वातावरणविदहरुको चर्को आवाजलाई सम्वोधन गदै नेपाल सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यन्वयनको सुरूवात गरी यस क्षेत्रको संरक्षणमा ठोस प्रयास आरम्भ गरेको थियो । त्यस्तै २०७१ साउन ४ गतेदेखि चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवाजस्ता सामग्री उत्खनन गर्न बन्द गरिएको छ । यसै गरी चुरे संरक्षणको दीर्घकालीन गुरूयोजना स्वीकृत भई सो अनुरूप कार्यक्रम कार्यान्वयन भइरहेको छ । 

चुरे संरक्षणको दीर्घकालीन गुरूयोजनाले भौगर्भिक, भौगोलिक अवस्था र परिस्थितिकीय प्रणाली अनुकूल चुरे पहाड र भावर क्षेत्रका प्राकृतिक स्रोतहरू को दिगो व्यवस्थापन सुनिश्चित गरी त्यहाँ बसोबास गर्ने व्यक्ति तथा समुदायको जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण मा जोड दिएको छ । चुरे पहाड, दुन र तराई मधेशमा जल–उत्पन्न प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणको साथै वातावरणीय सेवा प्रवाहको निरन्तरता दिईै राष्ट्रिय वनमा पहुँच नरहेका खासगरी तराई मधेशका वासिन्दाहरुलाई लाई काठ, दाउरा र अन्य इन्धन स्रोतको उपयोगमा पहुँच वृद्धि गर्ने गुरु योजनाको लक्ष छ ।

यो लक्ष पुरा गर्नका लागि त्यस क्षेत्रमा प्राकृतिक स्रोत क्षय÷ह्रास न्यूनीकरण गर्ने,जलवायु परिवर्तन तथा जल उत्पादन प्रकोप जोखिम प्रभाव न्यूनीकरण गर्ने एकीकृत नदी प्रणाली स्रोत व्यवस्थापन पूर्वधार तयार गर्ने, उपल्लो जलाधार क्षेत्रका भू–स्खलनग्रस्त क्षेत्र स्थिरिकरण गर्ने, नदी कटान तथा डुुवानबाट हुने क्षति न्यूनीकरण गर्ने,वन क्षेत्र बाहिर वन विस्तार गर्ने, नवीकरणीय उर्जा प्रविधि विस्तार लगायतका कार्यक्रमहरु सञ्चालनमा आएका छन् यद्यपी परिणाम आशातित छैन । चुरे संरक्षणमा प्राप्त उपलव्धिहरुलाई कसरी अझ परिणाममूखी वनाउन सकिन्छ त्यसतर्फ सरोकारवाला निकायहरु वीच समन्वय कायम गरी थप शसक्त परिणाम तर्फ क्रियाशिल रहनु पर्नेमा विवादास्पद कुराहरु स्वयं सरकारी पक्षवाट आउनु दुःखद हो ।

चुरे क्षेत्र हुदै वग्ने नदीनालाहरुका विभिन्न स्थानवाट सावधानीपूर्वक नदीजन्य सामाग्रीहरुको वैज्ञानिक उत्खनन जरुरी रहेको कतिपय संरक्षणकर्मीहरु वताउदछन् । चुरे संवेदनशील क्षेत्र भएको कुरामा कसैको दुईमत नरहेको भएतापनि यसको संरक्षणका लागि वढी प्रभावित निश्चित नदीवाट व्यवस्थित एवं वैज्ञानिक रुपमा नदीजन्य सामाग्रीहरुको उत्खनन्को आवश्यकता रहेको उनीहरुले औल्याउदै आएका छन् । चुरेको माथिल्लो जलाधार क्षेत्रवाट वगेर आएको थेगरका कारण चुरेक्षेत्रवाट वहने अधिकांश नदीको सतह माथि उठेको र त्यसले वगर निर्माणमा वढोत्तरी ल्याएकाले नदी व्यवस्थापनका लागि यसो गर्नु जरुरी रहेको उनीहरुको तर्क छ । विज्ञहरुका अनुसार चुरे क्षेत्रका नदीहरुमा नदीजन्य सामाग्रीहरु उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा प्रत्येक उत्खनन गर्ने स्थलको लम्बाइ, औसत गहिराइ, चौडाइ, अनि उत्खनन गरिने परिमाण एकीन गरेर मात्र गरेर मात्र गर्नुपर्ने हुन्छ । नदीको पुल भएको स्थानको हकमा भने त्यसको पाँच सय मिटर वरपर भने त्यस्तो प्रकारको उत्खनन गर्न नहुने उनीहरुको मत रहदै आएको छ । 

उनीहरुको यो तर्कसँग सहमत हुदै चुरे व्यवस्थापनको दीर्घकालीन गुरुयोजनामा समेत व्यवस्थित र वैज्ञानिक ढङ्गले निश्चित ठाउँबाट निश्चित परिमाणमा नदीजन्य सामग्री उत्खनन गर्न सकिने उल्लेख छ । माथिल्लो तटीय जलाधार क्षेत्रबाट बगेर आएको थेगर थिग्रेर नदी सतहमाथि उठेको स्थलबाट व्यवस्थित रुपमा उत्खनन गर्नाले निर्माण सामग्रीको रूपमा ती वस्तु प्रयोग गर्न सकिने जसले नदी बगर फैलावट नियन्त्रण गर्न सकिने गुरुयोजनाले प्रष्ट भनेको छ । यसरी उत्खनन गरिने वस्तुको परिमाण वार्षिक रूपमा थिग्रने थेगरको परिमाणभन्दा बढी हुन भने नहुने गुरुयोजनामा उल्लेख छ । 

चुरे क्षेत्रको अवैध प्राकृतिक दोहनलाई रोकी यसको दीगो संरक्षणका लागि स्थानिय निकायहरुलाई थप क्रियाशिल वनाउदै निर्मित नियम÷ कानुन र योजनाहरुको शसक्त कार्यान्वयन नै चुरे समस्याको दीगो सामधान हो । यसका लागि सरोकारवाला निकायहरु वीच समन्वय कायम गरी जनचेतना अभिवृद्धि गर्नु जरुरी हुन्छ । यस्का साथै स्थानिय निकायले कुनैपनि  भौतिक संरचना निर्माण गर्दा वा प्राकृतिक स्रोतको उत्खनन् गर्दा अनिवार्य रुपमा वातावरणीय अध्ययन गरेर मात्र गर्नपाउने  र अवैध उत्खनन्लाई कडा दण्डनिय वनाउन सकियो भने मात्र पनि त्यसले चुरे संरक्षणमा अनुकुल प्रभाव पार्न सक्छ । 

स्थानिय सरकारको रुपमा रहेका स्थानिय निकायहरुले चुरे क्षेत्रमा वातावरणीय अध्ययन वेगर यत्रतत्र निर्माण गरिरहेका सडक लगायतका भौतिक संरचनाहरुकासाथै त्यस्ता निकायहरुको  प्रत्यक्ष परोक्ष संलग्नतामा भएको अन्धधुन्द प्राकृतिक स्रोतहरुको अवैध दोहन लगायतका कारणले चुरे क्षेत्रमा हाल दश हजारभन्दा धेरै स्थानहरु पहिरोको उच्च जोखिममा परेको अध्ययनहरुले देखाएका छन् । चुरे यस्तो कमजोर भूवनौट रहेको क्षेत्र हो जहाँ कुनै पहाडमा अलिकति मात्र खोस्रिने हो भने त्यसले दशकौँसम्म त्यहाँको जमिन अस्थिर वनाउने भएकाले यस क्षेत्रमा कुनै पनि गतिविधीहरु गर्नु पूर्व विशेष सावधानी र सर्तकता अपनाउनु पर्ने हुन्छ । 

प्राकृतिक वनौटका कारण एकातर्फ हाम्रो अवस्था यस्तो छ भने अर्को तर्फ हामी विकास र समृद्धिको यात्रामा छौ । यस्तो परिस्थितिमा प्राकृतिक सन्तुलन कायम राख्दै संवृद्धिको यात्रालाई निरन्तरता दिन सडक, रेल, जलविद्युत परियोजना जस्ता विकासका पूर्वाधारहरु निर्माणका लागि आवश्यक निर्माण सामाग्रीहरुको जोहो गर्नु पर्ने अवस्था छ । त्यस्ता निर्माण सामाग्रीहरु कमजोर भूगोल भएका क्षेत्रवाट हैन सुदृढ खानी क्षेत्रवाट विस्तृत रुपमा वातावरणीय अध्ययन गरी यथोचित रुपमा तिनीहरुको उत्खनन गर्नु जरुरी छ । त्यसो गर्न सकियो भने मात्र संबृद्धि र वातावरण वीच सन्तुलन कायम भई चुरेक्षेत्रको दीगो विकासको लक्ष पुरा हुन सक्छ । नत्र विकासका नाममा गरिने प्राकृतिक स्रोतजन्य समाग्रीहरुको अन्धधुन्ध उत्खनन जन्य गतिविधिहरुले विकास हैन विनासतर्फ डोहोर्‍याउने निश्चित छ ।