काठमाडौं - भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिमध्ये ६ जनाको शव फेला परेको छ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट-३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो।

उद्धार टोलीले ग्राइन्डर,ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू टनेलबाट बाहिर निकालेको नेपाली सेनाले जनाएको छ।

टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको जनाइएको छ।