तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बारामा अर्की एक नाबालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराका ७५ वर्षीय हसन जान मियाँ रहेका छन् ।

पक्राउ परेका वृद्धले पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको परिवारको आरोप छ । घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट इनर्वासिराको प्रहरी टोलीले मियाँलाई उनकै घरबाट पक्राउ गरेको हो । मियाँ पक्राउ परेलगत्तै इनर्वासिरा प्रहरी चौकीमा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो । मियाँलाई आफूहरूसमक्ष बुझाउन माग गर्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए ।

स्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले ठूलो सुरक्षा घेराबीच मियाँलाई इलाका प्रहरी कार्यालय सिमरा ल्याएको छ । मियाँलाई चौकीबाट निकाल्ने क्रममा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका थिए । सो क्रममा प्रसौनीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद रानामगर सामान्य घाइते भएका छन् भने प्रहरीको गाडीमा समेत क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन सिमरा, जीतपुर, प्रसौनी, कलैयालगायतका स्थानबाट प्रहरी परिचालन गरिएको थियो ।