काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा गरिने आक्रमण रोक्ने अवधि थप बढाएका छन्। उनले तेहरानसँग वार्ता जारी र धेरै राम्रो भइरहेको समेत बताएका छन्।

उनले सोमबार प्रारम्भिक रूपमा पाँच दिनको विराम घोषणा गरेका थिए। तर ट्रुथ सोसियल साईटमा गरिएको पोस्टमा उनले भनेका छन्: इरानी सरकारको अनुरोधअनुसार म ऊर्जा प्लान्टहरूमा हुने आक्रमण रोक्ने अवधि १० दिन थप्दै सोमबार अप्रिल ६ बेलुका ८ बजेसम्म पुर्‍याइरहेको छु।”

यसबीच इरान र लेबनानमा आक्रमणहरू जारी छन् जहाँ इजरायलले बेरुत र तेहरानमा हवाई आक्रमण गरिरहेको छ।

बिहीबार बढेको तेलको मूल्य यो घोषणापछि केही घटेको छ।

यसअघि मन्त्रिपरिषद् बैठकमा ट्रम्पले भनेका थिए कि यदि इरानले शान्ति योजना स्वीकार नगरे अमेरिका उसका लागि सबैभन्दा डर लाग्दो सपना हुनेछ।

उही बैठकमा विशेष दूत स्टिभ विटकफले अमेरिकाले इरानलाई १५ बुँदे शान्ति प्रस्ताव पठाइसकेको पुष्टि गरेका थिए।

यसअघि एक इरानी अधिकारीले सरकारी मिडियामार्फत प्रतिक्रिया दिँदै तेहरानलाई होर्मुज जलडमरूमध्य नियन्त्रण गर्ने प्राकृतिक र कानुनी अधिकार भएको बताएका थिए।