काठमाडौं - बंगलादेशमा बिहीबार सम्पन्न ऐतिहासिक निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले संसद्को दुईतिहाइभन्दा बढी सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। यस जितसँगै करिब दुई दशकपछि बीएनपी पुनः बंगलादेशको सत्तामा फर्किएको छ।

बंगलादेशमा जेन–जी आन्दोलनपछि भएको निर्वाचनमा संसद्को प्रत्यक्ष निर्वाचन हुने ३०० सिटमध्ये २ सय ०९ स्थानमा बीएनपीले जित हात पारेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। ३ सय ५० सदस्यीय ‘जातीया सङ्सद’मा बहुमतका लागि आवश्यक पर्ने १ सय ५१ सिट हो। यसमध्ये संसद्मा ५० सिट महिलाका लागि आरक्षित छन्। जुन विजयी दलहरूबीच समानुपातिक रूपमा बाँडिन्छ। निर्वाचन आयोगका अनुसार मतदानमा ५९.४४ प्रतिशत मत खसेको थियो। बंगलादेशमा १२ करोड ७० लाखभन्दा बढी योग्य मतदातामध्ये करिब आधा महिला छन् भने ५० लाख मतदाताले पहिलोपटक मतदान गरेका छन्। 

बीएनपीले स्पष्ट बहुमत हासिल गरेसँगै पार्टी अध्यक्ष तारिक रहमानलाई देशको भावी प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। यससँगै लाखौं विद्यार्थीको सपना पूरा गर्नुपर्ने चुनौती पनि उनीसामु छ। उनीहरूले बलियो लोकतन्त्र, भ्रष्टाचारको अन्त्य र अवसरहरूको उपलब्धताको माग गरेका थिए। 

यसैबीच, बीएनपी अध्यक्ष रहमानका प्रेस सचिव सलेह सिब्लीले रहमानले आफ्ना समर्थकहरूलाई शुक्रबारको नियमित जुममा नमाजसँगै विशेष प्रार्थना गर्न आह्वान गरेको र कुनै पनि किसिमका विजय जुलुस नगर्न निर्देशन दिएको जानकारी दिए।