काठमाडौं - दिल्लीको ऐतिहासिक लाल किल्ला नजिक सोमबार साँझ एक कार विस्फोट हुँदा आठ जनाको मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ।

१७औँ शताब्दीमा निर्माण गरिएको लाल किल्लामा हरेक दिन हजारौँ पर्यटकहरू पुग्ने गर्छन्।  यो स्थान एक व्यस्त व्यापारिक क्षेत्रबाट केही मिटर टाढा मात्र रहेको छ।

दिल्लीका प्रहरी प्रमुखका अनुसार यो घटना स्थानीय समय अनुसार साँझ ६:५२ मा भएको हो । बिस्तारै गुडिरहेको एक सवारी साधन रातो बत्तीमा रोकिएपछि अचानक विस्फोट भएको थियो। भारतका गृहमन्त्री अमित शाहले विस्फोटको कारणबारे सबै सम्भावनाहरूको अध्ययन भइरहेको बताएका छन्।

वरिष्ठ सुरक्षा अधिकारीहरूले आज बिहान बैठक गरेर अनुसन्धानको प्रगति र सुरक्षात्मक कदमबारे छलफल गर्ने जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले विस्फोटमा ज्यान गुमाएका पीडित परिवार प्रति समवेदना व्यक्त गर्दै स्थिति नजिकबाट समीक्षा गरिरहेको बताएका छन्।

विस्फोटपछि दिल्ली र वरपरका क्षेत्रमा  सुरक्षा कडाइ गरिएको छ।

भारतको राजधानीका विभिन्न स्थानहरूमा विशेष गरी यातायात केन्द्रहरू र भीडभाड भएका स्थानहरूमा प्रहरीको उपस्थिती बढाइएको छ।

यससँगै मुंबई रहेको महाराष्ट्र राज्य सहित देशका अन्य प्रदेशहरूमा पनि उच्च सतर्कता हाई अलर्ट जारी गरिएको छ।