मन बिनाको धन ठुलो कि धन बिना को मन ? यो गीति पंक्तिले जीवनका अनेक आयामहरू भित्र घुसेर सोच्न बाध्य बनाउँछ । समाजको भीडमा दौडिँदै गर्दा हामीले यो प्रश्न आफूभित्र कति पटक सोधेका छौँ ? सायद धेरै पटक । तर उत्तर सधैं सतहमा आउँदैन, किनभने हामी जीवनका गहिरा सन्दर्भहरू भुल्दै भौतिकता तर्फ रमाउँछौं ।
आजको समाजलाई हेर्दा धनलाई जीवनको सफलताको एकमात्र मापदण्ड मान्ने प्रवृत्ति गहिरिँदै गएको देखिन्छ । धन भएन भने मानिसको अस्तित्व नदेखिने, उसको कला, सिप, भावना र नैतिकताको कुनै मूल्य नहुने जस्तो अनुभूति हुने अवस्था सिर्जना भएको छ । यो अत्यन्तै दुःखद र चिन्ताजनक पक्ष हो ।
हाम्रो समाज विभिन्न वर्गमा विभाजित छ — हुने खाने, हुदा खाने र बीचमा संघर्षरत मध्यम वर्ग । यो मध्यम वर्ग, जो न सम्पूर्ण दुःखबाट मुक्त छ, न सम्पूर्ण सुखको स्वाद चाख्न सकेको छ । यही वर्गको संघर्षबाट समाजका यथार्थ चित्रहरू झल्कन्छन — जहाँ माया, ममता, आत्मियता र सम्बन्धहरू धनको छायामा ओझेल पर्दै गएका छन्। ।
धनीहरूका अगाडि झुक्ने, तिनकै इच्छा अनुसार सम्बन्धहरू बनाउने, र त्यही आधारमा मान सम्मानको मापदण्ड तोक्ने प्रवृत्तिले सामाजिक तानाबाना नै बिगारिरहेको छ । वास्तविकता के हो भने, मनको मिठास, सहानुभूति, सहयोग र आत्मीयता बिना कुनै पनि सम्बन्ध स्थायी र टिकाउ हुन सक्दैन । धनले धेरै कुरा किन्न सक्छ, तर साँचो माया, आत्मीयता र निस्वार्थ साथ कहिल्यै किन्न सक्दैन ।
आजकल सम्बन्धहरू पनि व्यापार जस्ता बनेका छन — जहाँ फाइदा (नोक्सानको हिसाब हुन्छ । कोही आफ्नो उपस्थितिलाई धनको अहंकारले सजाउँछन भने कोही आफूलाई सफलता र बौद्धिकताको बिल्ला टाँसेर अरूलाई सानो ठान्ने गर्छन्। । यस्तो व्यवहारले मानवीय सम्बन्धहरू भाँडिन्छन आत्मीयता हराउँछ, र अन्ततः मानिसहरू भित्रभित्रै एक्लिँदै जान्छन्। ।
जीवनको सार भनेको एकअर्कामा सुमधुर सम्बन्ध बनाउनु हो । साँचो सुख अरूको खुशीमा रमाउन सक्ने क्षमतामा लुकेको हुन्छ । कसैको पीडामा आँसु बाँड्न सक्नु, कसैको सफलतामा हर्षित हुन सक्नु, कसैलाई ढाडस दिन सक्नु  । यिनै हुन जीवनका साँचो उपलब्धीहरू ।
तर अचम्मको कुरा के छ भने, हामी अहिले मानिसको मूल्यांकन उसको सम्पत्ति, पद, र बाह्य चमकको आधारमा गर्छौं । कुनै व्यक्तिको ज्ञान, अनुभव, कला, सिप वा उसको सदासयता भन्दा पनि उसको बैंक ब्यालेन्स र लुगा (गाडी हेरिन्छ । यसले समाजमा झन ठूलो खाडल बनाइरहेको छ । जसले गर्दा गरिब वा मध्यम वर्गका मानिसहरूलाई आफ्नो अस्तित्व प्रमाणित गर्न निरन्तर संघर्ष गर्नुपर्ने हुन्छ ।
मानव जीवन अमूल्य छ । त्यसको मूल्य धनले तोक्न सक्दैन । मृत्यु त निश्चित छ ,चाहे धनी होस वा गरिब । त्यसैले धनले केही समय जीवन लम्ब्याउन सक्छ, तर अमरत्व दिन सक्दैन । यदि धनले मृत्यु जित्न सक्थ्यो भने धनीहरू युगौँ बाँच्ने थिए । तर प्रकृतिको नियम सबैका लागि समान छ — मृत्यु सबैलाई आउँछ ।
त्यसैले जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको मानवता हो । माया, करुणा, सहानुभूति, सहयोग र आत्मसमर्पण । यी नै तत्वहरू हुन् जसले समाजलाई बाँच्न योग्य बनाउँछन्। ।
धन कमाउनु गलत होइन । जीवन जिउनका लागि, सपना पुरा गर्नका लागि, जिम्मेवारी पुरा गर्नका लागि धन आवश्यक छ । तर धनलाई नै सर्वोच्च मानेर आत्मिक मूल्यहरूलाई बिर्सनु भनेको जीवनको मूल मर्मबाट टाढा जानु हो ।
यसकारण, जीवनको अन्त्यमा हामीले जे छोडेर जान्छौं त्यो हाम्रो धन होइन, हाम्रो व्यवहार, हाम्रो माया र अरूका जीवनमा पारेका सकारात्मक प्रभावहरू हुन्। । साँचो अर्थमा त यिनै चिजहरू अमर रहन्छन । हाम्रो अनुपस्थितिमा पनि । त्यसैले मानवता हराउँदै गएको भिडमा मानवताको अस्तित्व जोगाउन सबैले अभ्यास गरौं ।