नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् । सीमा सम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिइ प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने उनको भनाइ छ ।

 त्यस्तै सभापति थापाले जेन्जी आन्दोलसम्बन्धी मानवअधिकार आयोगको प्रतिवदेन कार्यान्वयन गर्न माग गर्दै दोषी देखिएकाहरुलाई निष्पक्ष ढंगले कारबाही गर्नुपर्नेमा जोड दिए । संसदमा संख्याको दम्भ देखिएको भन्दै उनले जनमतलाई अवसरको रुपमा लिएर काम गर्न रास्वपालाई सुझाव दिए । सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान आफू गम्भीर रुपमा लागेको उल्लेख गरे । उनले निर्वाचनले कांग्रेस ल्याएको नभइ कांग्रेसका कारण निर्वाचन भएको इतिहास रहेको भन्दै निर्वाचनको परिणामलाई स्वभाविक रुपमा लिन आग्रह गरे ।

त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सीमाका बारेमा प्रधानमन्त्रीले सदनमा राखेको अभिव्यक्तिप्रति विमति रहेको बताए । सांसदलाई भ्रष्टाचार लगाएत गम्भीर फौजदारी कसुरमा उन्मुक्ति दिने व्यवस्थाप्रति उनले आपत्ति जनाए । उनले कांग्रेस बलियो बन्न नसकेकाले मुलुकको राष्ट्रियमाथि गम्भीर प्रश्न उठ्न थालेको धारणा राखे ।

उपभापति शर्माले पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको बताउँदै सबैले सबैलाई विश्वास गर्ने बातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए ।